नेपाल बायुसेवाको नयाँ फड्को

नेपाल बायुसेवाको नयाँ फड्को


नेपाल वायुसेवा निगमलाई नयाँ प्रविधि उपलब्ध गराई काममा छिटो–छरितो र उडानमा सुरक्षाको स्तर बृद्धि गर्नेतर्फ नयाँ पाइला चालिएको निगमले जनाएको छ । यसका लागि एआरएम्एस् २.५ सफ्टवेयर (एभिएसन रिसोर्स म्यानेजमेन्ट सिष्टम) प्रयोगमा ल्याइने छ ।

निगमले नयाँ प्रविधि प्रयोगका लागि भारतीय कम्पनी सेओरी डिजिटल सिष्टमसँग सम्झौता गरेको छ । गत सोमबार (फागुन १३) भएको सम्झौतामा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकार र भारतीय कम्पनीका मुम्वईस्थित कार्यालयका कार्यकारी निर्देशक रोहित झाले हस्ताक्षर गरेका छन् ।

बताइएअनुसार यो सफ्टवेयर प्रणाली प्रयोगमा ल्याएपछि सुरक्षित उडानदेखि, मर्मत संभार, गुणस्तर सुधारमा समेत सकारात्मक परिवर्तन हुनेछ । उडान कर्मचारी को कहाँ छ ? कतिको फुर्सदिलो छ भन्ने कुरा पत्ता लगाउनेदेखि आवश्यक पार्टपूर्जा कति र कहाँ छ, त्यस्ता पार्टपूर्जाको आयु कति छ, कुन बेला कस्तो तालिम कसलाई आवश्यक छ र कहिले गर्न सकिन्छ भन्ने कुरा सफ्टवेयरबाट नै हेर्न सकिन्छ । यी काममा हाल मानवीय शक्ति प्रयोग भैराखेकोमा अब नयाँ प्रविधिले सबै कुरा कम्प्युटरमा देखाउने छ र छिटोछरितो काम हुनेछ ।

नेपाल वायुसेवा निगमसँग यो प्रणाली नहुँदा गन्तव्य विस्तार गर्नदेखि आवश्यक पार्टपूर्जाको व्यवस्थापन गर्न समेत समस्या रहेको थियो । निगम व्यवस्थापन सुधार गर्ने रणनीति अनुसार नयाँ र अत्याधुनिक प्रविधि प्रयोग गर्ने तर्फ सक्रिय रहेको सम्बद्ध पक्षले जनाएको छ ।