एन्फामा थापाको ‘भूत’ अझै सक्रिय

एन्फामा थापाको ‘भूत’ अझै सक्रिय


– श्रीविक्रम भण्डारी

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को निर्वाचनको मिति घोषणासँगै फुटबलको राजनीति गर्माएको छ । आगामी चैत १४ गते हुने एन्फाको निर्वाचनका लागि कर्माछिरिङ शेर्पा र मणि कुँवरले अध्यक्षमा उम्मेदवारी दर्ता गराएपछि फुटबल चर्चा पुनः चुलिएको छ । दुवै उम्मेदवार अहिले आफ्नो रणनीति बनाएर निर्वाचनमा होमिए पनि एन्फाको निर्वाचन तोकिएको समय अर्थात् चैत १४ गते हुने/नहुने अहिलेसम्म टुङ्गो लागेको छैन । चारपटक एन्फाको निर्वाचन सारेर कीर्तिमान कायम गरिसकेका एन्फाका पदाधिकारीहरूले यसपटक पनि निर्वाचन सारे अन्यथा मानिने छैन । फिफा र एएफसीले समेत निर्वाचन नसार्न भनेको बेलामा समेत शक्तिको आडमा विभिन्न बहाना बनाएर निर्वाचन भाँडेका एन्फाका पदाधिकारीहरू अहिले पनि त्यही खेलमा लागेर सत्ता लम्ब्याउने खेलमा लागेको अध्यक्षका उम्मेदवार कर्माछिरिङ शेर्पाले आरोप लगाएका छन् ।

शेर्पाको यो प्रस्टोक्तिसँगै अहिले पनि एन्फामा ‘थापाको भूत’ सक्रिय रहेको प्रस्ट भएको छ । एन्फाको निर्वाचन बिथोल्न र नातावाद गाँज्न पूर्व अध्यक्ष गणेश थापा सक्रिय हुँदै शक्ति केन्द्र धाउन थालेको शेर्पाले खुलासा गरेका छन् । आफ्नो अनुकूल नभए जस्तोसुकै षड्यन्त्र गर्न पनि पछि नहट्ने थापाले यो निर्वाचनमा आफ्नो सालो मणि कुँवरलाई अध्यक्षमा जिताउन साम, दाम, डण्ड, भेदको रणनीति अख्तियार गर्ने शेर्पाले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । उनीहरूले जस्तोसुकै षड्यन्त्र गरे पनि हामी निर्वाचनको पक्षमा छौँ । फुटबलले काँचुली फेर्न पनि निर्वाचनको आवश्यकता छ । त्यसका लागि आफूहरूले ‘परिवर्तन’ नारालाई अगाडि सारेको शेर्पाले बताए । एन्फालाई पुर्खाको बिर्ता सम्झँदै नातावाद लाद्न खोज्नु फुटबलका लागि विडम्बना भएको बताउँदै त्यसलाई असफल तुल्याउन र फुटबललाई नयाँ दिशा देखाउन आफूले अध्यक्षमा उम्मेदवारी दिएको शेर्पाको कथन थियो । स्मरणीय छ, पछिल्लो दुई दशकभन्दा बढी समयदेखि फुटबलमा थापाको गुटले रजाइँ गर्दै आएको छ ।

चैत १४ गते तोकिएको समयमा एन्फाको निर्वाचन भए थापा गुटको ‘पत्तासाप’ हुने देखिएको छ । यसपटक थापा गुटको अस्तित्व समाप्त पार्न अर्थात् जरैदेखि उखेलेर फ्याँक्न जिल्लादेखि केन्द्रसम्मका फुटबलकर्मीहरू एकढिक्का भएका छन् । जुन कुरा शेर्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि उनीहरूको उपस्थितिलाई हेर्दा लालमोहर लगाउन सकिन्थ्यो । त्यहाँ उपस्थित चर्चित फुटबल खेलाडी, प्रशिक्षक, पदाधिकारी र कोचहरूको प्रतिक्रियाले पनि फुटबलमा परिवर्तनको आवश्यकतालाई आत्मसात् गरेको देख्न र सुन्न सकिन्थ्यो । एकजना चर्चित पूर्वफुटबल खेलाडीसँग एन्फाको निर्वाचनसम्बन्धी जिज्ञासा जान्न खोज्दा उनले यस्तो भने, ‘सहने पनि सीमा हुन्छ, कहिलेसम्म सहने, अब अति भो, पानीले नाक छोप्न थालिसक्यो त्यसैले मर्न सकिँदैन, फुटबलको विकास र निकासका लागि एन्फामा परिवर्तन हुन आवश्यक छ ।’ चैत १४ गतेको निर्वाचनले त्यसलाई सार्थक तुल्याउने उनले दाबी गरे ।

कुनै चलखेल नभए आगामी चैत १४ गते एन्फाको निर्वाचन हुने पक्का भएको छ । ७७ प्रतिनिधिले भोट हाल्न पाउने व्यवस्था भएको उक्त निर्वाचनामा ४५ जिल्ला, २८ क्लब र महिला, रेफ्री, कोच र खेलाडीको प्रतिनिधित्व रहनेछ । तर, यतिबेला मकवानपुर, नवलपरासी, भक्तपुर र खेलाडी सङ्घको निर्वाचन हुन सकेको छैन भने निर्वाचन भएका जिल्लाको निर्वाचनमा पनि विवाद उत्पन्न भएको छ । यसरी अहिलेसम्म ७३ जना प्रतिनिधिको भोट मात्रै निश्चित भएको छ ।

कुनै चलखेल नभए आगामी चैत १४ गते एन्फाको निर्वाचन हुने पक्का भएको छ । ७७ प्रतिनिधिले भोट हाल्न पाउने व्यवस्था भएको उक्त निर्वाचनामा ४५ जिल्ला, २८ क्लब र महिला, रेफ्री, कोच र खेलाडीको प्रतिनिधित्व रहनेछ । तर, यतिबेला मकवानपुर, नवलपरासी, भक्तपुर र खेलाडी सङ्घको निर्वाचन हुन सकेको छैन भने निर्वाचन भएका जिल्लाको निर्वाचनमा पनि विवाद उत्पन्न भएको छ । यसरी अहिलेसम्म ७३ जना प्रतिनिधिको भोट मात्रै निश्चित भएको छ । एक अध्यक्षसहित चारजना उपाध्यक्ष र १२ जना सदस्यको निर्वाचन हुनेछ । जसमा एकजना महिला सदस्य अनिवार्य हुनेछ । त्यस्तै, महासचिव र कोषाध्यक्षलाई एन्फाको निर्वाचित कमिटीले चयन गर्ने एन्फाको विधानमा उल्लेख गरिएको छ । महासचिव र कोषाध्यक्ष पदमा निकै विवाद आएपछि एन्फाले विधान संशोधन गर्दै यस्तो व्यवस्था गरेको थियो ।

साधारणसभाबाट निर्णय भएर गठन भएको अपिल कमिटीले अहिलेसम्म पत्र पाएको छैन । कहिले पत्र दिन्छ र उसले कार्य अगाडि बढाउँछ त्यसको अत्तोपत्तो छैन । त्यस्तै, आचारसंहिताबारे समेत कुनै निर्णय गरिएको छैन । कहिलेदेखि आचारसंहिताको पालना गर्नुपर्ने हो त्यसको पनि जानकारी छैन । फिफा र एएफसीमा निर्वाचनको नोमिनेसनबारे कुनै पत्राचार गरेको छैन । निर्वाचनसम्बन्धी सूचना उहिल्यै टाँस गर्नुपर्ने अहिलेसम्म गरेको छैन । जसले एन्फाको निर्वाचनसम्बन्धी सत्यतथ्य सूचना सहज रूपमा प्राप्त गर्न सकिएको छैन । एन्फाका पदाधिकारीको यस्तो हर्कत हेर्दा उनीहरू निर्वाचन गर्न चाहँदैनन् भन्ने प्रस्ट देखिन्छ । उनीहरू एन्फाबाट आफ्नो पत्तासाफ हुने सन्त्रासले पनि यस्तो रणनीति अख्तियार गरिरहेका छन् । तर, यसपटक हामीले सम्पूर्ण घटनालाई निकै नजिकबाट गम्भीरतापूर्वक नियालेका छौँ । उनीहरूले जस्तै जटिल परिस्थितिको सिर्जना गरे पनि हामी त्यसको सामना गर्न तयार छौँ– शेर्पाले भने । यसपटक निर्वाचन हुन्छ, निर्वाचनसँगै फुटबलले परिवर्तनको काँचुली पनि फेर्छ यो हाम्रो प्रतिबद्धता हो । हिजो परिवारवादले फुटबल चलाएको आरोप लगाउँदै शेर्पाले अब त्यस्तो नहुने भन्दै अबको फुटबल सामुूहिक र विकेन्द्रीकरणको आधारमा चल्ने दाबी गरे । त्यसका लागि आफूहरूले दूरदर्शी योजना बनाएको चर्चा गर्दै त्यो एन्फाको जिम्मेवारी सम्हालेको तीन महिनाभित्र पूरा गर्ने पनि बताए ।

चैत १४ गते तोकिएको समयमा एन्फाको निर्वाचन भए थापा गुटको ‘पत्तासाप’ हुने देखिएको छ । यसपटक थापा गुटको अस्तित्व समाप्त पार्न अर्थात् जरैदेखि उखेलेर फ्याँक्न जिल्लादेखि केन्द्रसम्मका फुटबलकर्मीहरू एकढिक्का भएका छन् ।

०५४ सालदेखि एन्फामा विवादको बिउ रोपिएको स्मरण गराउँदै शेर्पाले भने त्यसबेला एन्फा एकेडेमीको निर्माण गर्दा जुन आर्थिक घोटाला भएको थियो, त्यही बेलादेखि नेपाली फुटबल अधोगतितर्फ लागेको हो । त्यसपछि एन्फामा के–के भयो त्यसबारे सबैलाई जानकारी छ । थापाले भ्रष्टाचार गरेको १ करोड रुपैयाँ र लागेको १० वर्षे प्रतिबन्धले पनि यो कुरालाई प्रस्ट पार्छ । पछिल्लो समय थ्री स्टार क्लबसँगको विवाद र एन्फाले तिर्नुपरेको १ करोड ५० लाख रुपैयाँ फुटबलका लागि कालो दिन थियो । गल्ती व्यक्तिले गर्ने आर्थिक भार संस्थाले तिर्नुपर्दासमेत मौनता साँध्ने एन्फाका पदाधिकारी फुटबलमा के गर्न चाहन्छन् त्यो यो घटनाले ऐनाजस्तै छर्लङ्ग पारेको शेर्पा बताए । त्यसैले एन्फालाई पारदर्शिता र विधिविधानअनुसार सञ्चालन गर्न ‘परिवर्तन’ नै प्रमुख मुद्दा बनेको छ । यही कुरालाई आत्मसात् गर्दै अर्थात् परिवर्तनको नारालाई अघि सार्दै समग्र फुटबलको विकासका लागि फुटबलसँग सम्बद्ध भएका व्यक्तिहरू एकजुट भएर निर्वाचनको मैदानमा उत्रिएको दाबी शेर्पाले गरे ।

यसरी शेर्पाको प्रतिबद्धता र थापाको भूतको सक्रियतामा एन्फाको निर्वाचनमा कसले विजय हासिल गर्ला त्यो चासोको विषय बनेको छ । यसपालि शेर्पाको सेनामा महासेनानीको उपस्थिति र समर्थन रहेकाले उनले यो लडाइँ शेर्पाले सहजै जित्ने अनुमान काटिएको छ । एन्फाका पूर्वसीईओ इन्द्रमान तुलाधरले यसपटक शेर्पाको समूहले सहजै विजय हासिल गर्ने ठोकुवा गरेका छन् । अहिले फुटबलसँग आबद्ध व्यक्तिहरूको मानसिकतामा निकै परिवर्तन आएको र फुटबलमा दुई दशकदेखि चलेको तानाशाहीको दासत्वको पत्तासाफ गर्ने बताए ।