माननीयले भ्रष्ट ठेकेदारलाई कठघरामा तान्लान् ?

माननीयले भ्रष्ट ठेकेदारलाई कठघरामा तान्लान् ?


– मुक्तिनाथ भुसाल

उत्तर छिमेकी देश चीन जोड्ने उद्देश्यले सुरु गरिएको रूपन्देहीको सालझन्डीदेखि बाग्लुङको ढोरपाटन जोड्ने सडक भ्रष्टाचारको सिकार बनेको छ । यसरी भ्रष्टाचार गर्नेमा सडक हेर्ने इन्जिनियरदेखि जनप्रतिनिधि, आयोजना निर्देशक, क्षेत्रीय निर्देशक र महानिर्देशक ओहोदाका पात्रहरू रहेका छन् । आर्थिक अनियमितताको अलावा सार्वजनिक पद धारण गरेका ‘मान्यवर’हरूबाट गरिने नैतिक पतनका कार्य पनि भ्रष्टाचारभित्र पर्दछन् । आजभन्दा आठ वर्ष अघिदेखि शुरु गरिएको करिब १ सय ९५ किलोमिटरको महत्वपूर्ण सडक रूपन्देहीको सालझन्डी चोकदेखि ६ किलोमिटर अगाडि रमिते अवस्थामा अलपत्र पर्नुको अलावा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा कामै ठप्प हुनसँग यही भ्रष्ट आचरणले काम गरेको छ ।

यसरी, सामान्य कारणलाई जटिल देखाएर काम अड्काइरहने खेल राज्यकै संयन्त्रबाट भइदिँदा करोडौँको लगानी मात्र धरापमा नपरी महत्वपूर्ण सडकको सुविधा उपभोग गर्नबाट आमनागरिक वञ्चित हुनुपरेको छ । लुम्बिनीलाई गन्तव्य बनाएर नेपाल आउने चिनियाँ पर्यटकलाई रूपन्देही, पाल्पा, अर्घाखाँची, प्युठान, गुल्मी र बाग्लुङ जिल्लासमेत छुवाउँदै ढोरपाटन आरक्षसम्म पु¥याउने अवधारणासहित निर्माण आरम्भ गरिएको ढोरपाटन सडक यत्तिका वर्षसम्म अलपत्र हुँदा पनि राज्यको सम्बन्धित निकायले निकास निकाल्न नसक्नु उदेकलाग्दो त छँदै छ, रहस्यपूर्णसमेत ठानिएको छ ।

सालझन्डी चोकदेखि ६ किलोमिटर सडक ठीकजस्तो देखिए पनि पाल्पाको कञ्चनखोलादेखि अर्घाखाँचीको ढुङ्ग्रीखोलासम्मको सडकको काम सम्पन्न नहुनुमा सडक योजनाका प्रमुख होमबहादुर एसी, पश्चिमाञ्चल क्षेत्रीय सडक निर्देशनालय पोखराका क्षेत्रीय निर्देशक दीपक श्रेष्ठ, आयोजना निर्देशक काठमाडांैका बलराम मिश्र र सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलको कमजोरीका रूपमा अथ्र्याउन सकिन्छ । करिब १७ किलोमिटर सडकको ह्युमपाइप, मोड सुधार, कच्ची नाली निर्माण र सडक ग्राभेलका लागि इस्टिमेट रकम १० करोड ६८ लाख ५२ हजार ७ सय सतहत्तर रुपैयाँ शून्य तीन पैसा भए पनि ०७१ पुस २४ गते भ्याटसहित ४ करोड ९३ लाख ९६ हजार ८ सय अठचालीस रुपैयाँ चवन्न पैसामा ठेक्का नम्बर ‘एसएसडीआरपी ३३७१२०४-०७१-०७२-००७ बीटी’बाट जयबाबा जेभी स्वयम्भू काठमाडौंसँग सम्झौता गरिएको थियो ।

सम्झौताअनुसार काम सम्पन्न गर्नुपर्ने अन्तिम मिति ०७२ माघ १ गते उल्लेख गरिएको भए पनि हालसम्म प्रगति विवरण भ्याटसहित २४ प्रतिशत भएको दाबीका साथ १ करोड २२ लाख उनानब्बे हजार ठेकेदार कम्पनीलाई भुक्तान गरिसकिएको देखिन्छ । महत्वपूर्ण सडकको काम कछुवाको गतिमा लामो समयसम्म चलिरहँदा आवश्यकीय निर्णयका साथ ठेकेदार कम्पनीलाई कारबाही नगर्नुमा तलदेखि माथिसम्म कमिसनको खेल छ भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ । नियतमा खोटो थिएन भने सडकको मुखमा सबैभन्दा पहिला ग्राभेल पिच सम्पन्न गरिसक्नुपर्दथ्यो । सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकको अलावा पाल्पा डिभिजनलाई समेत डुबाएर राखेको बीटी जयबाबा जेभीजस्ता ठग कम्पनीलाई कामको जिम्माभन्दा पनि कालोसूचीमा राखेर सख्त कारबाही हुनु मुलुकका हितमा मानिन्छ तापनि सडकको जिम्मा लिएका उच्च ओहोदाका व्यक्तिहरूको संरक्षणका कारण नेपालमा ‘माटेकिरा’हरूको भविष्य नै चम्किन पुगेको छ ।

यसैगरी अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा करिब ५ सय मिटरको विवादका कारण ढोरपाटन सडक अलपत्र अवस्थामा पुगेको मात्र नभई काम गर्ने जिम्मा पाएका ठेकेदारहरू पनि अलपत्र अवस्थामा रहेका छन् । स्थानीय चुनावको बेला आफ्नो घोषणापत्रको दुई नम्बर बुँदामा सन्धिखर्कमा देखिएको ढोरपाटन सडकको समस्या चाँडै समाधान गर्ने सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालको प्रतिबद्धता पनि हालसम्म असरल्ल देखिन्छ । जिल्लाका लागि केही गरिहाल्छन् कि भन्ने आशा पालिएका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पनि यो सडकको समस्या समाधान गर्न सक्रिय देखिँदैनन् ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन हुनुअघि चुनावी प्रचारप्रसारको क्रममा प्रचण्डपुत्र प्रकाश दाहालको निधनका दिन टोपबहादुर रायमाझीलगायतका बाम गठबन्धनका नेताहरू पाणिनी गाउँपालिकाको पोखराथोकस्थित यही सडकको घोलीडाँडामा जम्मा भएका थिए । कञ्चनदेखि ढुङ्ग्रीखोलासम्म सडक ग्राभेलको जिम्मा लिएको बीटी जयबाबा जेभी स्वयम्भूका विरुद्ध स्थानीय जनगुनासा प्राप्त भएपछि पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझीले आफ्नो सम्बोधनका क्रममा जयबाबाजस्तो भ्रष्ट कम्पनीका प्रोप्राइटरलाई राज्यले थुनामा लिनुपर्ने र राज्यले ढिलाइ गरेमा चुनाव सम्पन्न हुना साथ आफूले जनताको कठघरामा ल्याएर उभ्याउने दाबी गरेका थिए । यदि रायमाझी वचनका पक्का हुन् भने चुनाव सम्पन्न भएको करिब ३ महिना बितिसक्दा पनि खै त एक्सन लिएको ?

सडकलाई सफल बन्न नदिन व्यक्तिपिच्छेका फरक बुझाइलाई चिर्न सडक योजना पनि असफल बनेको छ । स्मरण रहोस्, यो सडक जहाँनेर जति मिटर खनिएको भए पनि ७ मिटर ग्राभेल पिच हुने र ७ मिटरको बीचभागबाट दुवैतर्फ १५–१५ मिटर छाडेमा सयौँ वर्षसम्मका लागि तनाव नहुने बुझिन्छ । जुन कुरा शुरुवातमै यो सडक योजना कार्यालयले साबिकका गाविसलाई पत्राचार गरेको थियो । सडकको ७ मिटरबाहेक अगाडि छाडेको साढे एघार मिटर जमिन अस्थायी रूपमा प्रयोग गर्न सकिने कुरामा धेरैजसो स्पष्ट नभएको महसुस गरिएको छ ।

आर्थिक वर्ष ०६७/६८ मा ३ करोड र ०६८/६९ मा १० करोड ८३ लाख, ०६९/७० मा ८ करोड ८२ लाख ५० हजार, ०७०/७१ मा १६ करोड, ०७१/७२ मा कार्यालय सञ्चालन खर्च मात्रै ४७ लाख ६८ हजार सात सय पन्ध्र, आर्थिक वर्ष ०७२/७३ मा कुल ३२ करोड ३२ लाख २८ हजार, आर्थिक वर्ष ०७३/७४ मा करिब २५ करोडसहित वर्षेनी मोटो रकम सालझन्डी सन्धिखर्क ढोरपाटन सडकले प्राप्त गरे पनि उल्लेखनीय प्रगति हुन सकेको छैन । हालसम्म ५० किलोमिटर सडक ग्राभेल सम्पन्न गरिएको ९ किलोमिटरमा ग्राभेल शुरु गरिएको र १० किलोमिटर सडक ग्राभेलका लागि नयाँ ठेक्का खोलिएको बुझिन्छ । एउटा ठेक्काको इस्टिमेटदेखि कामको प्रक्रिया शुरु गर्नका लागि करिब १२० दिनको समय लाग्ने कारण अबका दिनमा शुरु हुने चालू आर्थिक वर्षमा कामको थालनी हुने सम्भावना न्यून देखिन्छ ।