– प्रथा
यो जिन्दगीको भीरमा
किन फुल्दैनन् भीरफूलहरू
र त्यो पहाड जिस्क्याइरहन्छ मलाई ?
कहाँ बगेर जाँदो हो– यो पसिनाको नीलो नदी ?
र जीवनको डालीमा बसेर
काकाकुल बासिरहेछ– टाट पल्टिएको भोको समय !
०००
भन त च्याङ्बादाइ !
आफूभन्दा बूढो चस्मा लाएर
जिन्दगीको अक्कर
हिँडिरहेको निरक्षर बटुवाले
०००
मेरो खर्पनले तौलिएको ओजन
बालुवा हो कि– यो देशको सीमाहीन माया ?
लिहीमाथि पिटिइरहेको तातो फलाम
धम्मरधनको पीडा हो कि
यो देशको अनुहार मेटिएको राष्ट्रियता ?
हलगोरु नारेर
आजसम्म मैले जोतिरहेको
गैह्रीखेत हो कि– यो देशको अनिश्चित भविश्य ?
र यो नाम्लोको बरियोमा भुन्डिएको
सपनाको त्यान्द्रो हो कि– एडम स्मिथको अर्थशास्त्र ?
०००
भन त कटुवालदाइ !
पोखरीको हरियो पानीमाथि बसेर
शास्त्रीय सूत्रहरू
तमासले घोकिरहेको लाटो भ्यागुतोलाई
भौतिकशास्त्रको दर्शन पढाइयो भने
सिद्धान्तको सिर्जनशीलता बुझ्छ कि जडता ?
०००
किन गरिँदै छ बन्द– श्रमको ढोका
र खाडीमा उँट चराइरहेछन्– सपनाशून्य गोठालाहरू ?
कहाँबाट काटिँदै छ– कुलेसो
र रित्तिरहेछ– मानवशास्त्रको गहिरो तलाउ ?
कसरी छिर्दै छन् धमिराहरू
र वर्षेनी पैह्रो गइरहेछ– बजेटको अग्लो पहाडमा ?
कसले बनाउँदै छ
विचारको हँसिया यसरी भुत्ते
र फैलिरहेछ वनमारा राष्ट्रिय निकुञ्जभरि ?
०००
भन त चुनु !
चिया पसलमा बसेर
क्रान्तिगीत गाइरहेको सुगा देखेपछि
समरको बारुद गन्हाइरहेका वनचरीहरूमा
अपनत्व उर्लेर आउँछ कि घृणा ?
०००
अदालतको ढोकामा उभिएर
मृत्युको भीख मागिरहेको– बूढो कैदी हो कि यो देश ?
झन्डाको पछाडि लुकेर
यो रोगी अर्थतन्त्रको बिस्कुनमाथि
सदियौँदेखि,
यसरी फ्याउरी नचाइरहेको
नजिकको छिमेकी हो कि– सकुनीजस्तै यो सिंहदरबार ?
किन मेटिन्छन्
देख्न नभ्याउँदै हाम्रा सपनाहरू
र मरुभूमि ओर्लन्छ– यो मनको आँगनमा ?
०००
भन त सान्कान्छी !
भाउन्ने बेथाले थलिएर
स्वाद गुमाएका रोगी थकाली बाले
नुन चटाइदिँदा– नुनिलो भन्छन् कि गुलियो ?
०००
मनको मुहान फुटेर
छातीको कुलेसो हुँदै बगिरहेको कालीगण्डकी
कुनै माफिया ठेकेदारको
झोलाको खोला हो कि– समाजशास्त्रको मूल्यहीन आसु ?
निदाएर भर्खरै उठेको जोगीले
ज्ञानको आदिम स्रोत मै हुँ भनेझैँ
म दिवालिया खोरमा थुनिन चाहन्न, हजुर !
०००
पखेटा नभएको किबीचरीले
उड्ने सपना देखेझैँ
म जिन्दगीसँग ठट्टा गर्न जान्दिनँ, हजुर !
भन्नोस् न सरकार, भन्नोस्
मूल्यसूची टाँसिएको,
नेसनल ट्रेडिङको बोर्ड कहाँनेर छ ?
म यो नागरिकता बिक्री गर्न चाहन्छु
प्रतिक्रिया