रुपन्देहीलाई पूर्ण खोप दीगोपना घोषणा गरिने

रुपन्देहीलाई पूर्ण खोप दीगोपना घोषणा गरिने


रुपन्देही जिल्लालाई आगामी चैत्र १५ गतेसम्म पूर्ण खोप दीगोपना घोषणा गरिने भएको छ । जिल्लामा रहेका १६ वटा स्थानीय तहहरूमा पूर्ण खोप दीगोपना भएको प्रमाणित भएपछि जिल्लालाई नै पूर्ण खोप दीगोपना घोषणा गरिने जिल्ला खोप अधिकृत चिन्तामणि ज्ञवालीले बताए ।

पूर्ण खोपपालिका तथा सुनिश्चितता र दीगोपनासम्बन्धी एकदिने गोष्ठीमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । सैनामैना नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै बच्चा जन्मिने बित्तिकैदेखि लिएर १५ महिनासम्म खोपको आवश्यकता रहेको ज्ञवालीले बताए ।

जन्मने बित्तिकै बच्चालाई खोप आवश्यकता पर्ने भएकाले महिला स्वास्थ्य स्वयमसेविकाहरु परिचालन गरि बालबालिकालाई नगरमा खोपबाट नछुटाइने सैनामैना नगरपालिकाकी उपमेयर बिना रानाले बताइन् । सहज रुपमा नगरका सबै बालबालिकालाई खोप पुराउनको लागि स्थानीय सरकार नगरपालिकाले विशेष चासो राख्ने उनका् भनाई छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले जनप्रतिनिधिहरुले वडामा खोप केन्द्र सञ्चालनको बारेमा चासो राख्नु पर्ने बताए । नीति निर्माण गर्दा कार्यान्वयमा समस्या हुन्छ कि हुन्न भनेर ख्याल राख्नुपर्ने बताउँदै उनले योजनाअनुसार काम गरेमा पूर्ण खोप दिगोपना घोषणा हुन सहज हुने उल्लेख गरे ।

नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख युवराज पाण्डेयले पूर्ण खोप दीगोपनाको जनचेतना फैलाउनको लागि जनप्रतिनिधिसमक्ष गोष्ठी आयोजना गरेको बताए । कार्यक्रममा ११ वटै वडाका वडाअध्यक्षका साथै स्वास्थ्यचौकीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख जनस्वास्थ प्रशासक केयरसिङ गोदारले जिल्लाका सबै पालिकामा गोष्ठी छलफल भैरहेको जानकारी दिए ।

– चन्द्रकान्त खनाल