—बद्रीप्रसाद दाहाल
‘कम्युन’ र ‘इजम’ यी दुई अङ्ग्रेजी शब्दहरूको योगबाट ‘कम्युनिजम’ बन्छ । समाजवादी व्यवस्थामा समाज–संस्कृति–अर्थ र वर्ग सबै समवर्ग हुनाले त्यस्ता सबैको सामूहिक बस्ती वा आवास वा समुदाय, जनपद, समवर्गीय गाउँघरलाई कम्युन भनिन्छ । ‘इजम’ भन्नाले वाद अर्थात् तत्ववेत्ता ऋषि–महर्षिबाट प्रतिपादन गरिएको सिद्धान्त वा सार कुरोको बोध हुन्छ । यसरी कम्युनिजमको अर्थ कम्युनको सिद्धान्त र आचरण जो जर्मनीका ठूला दार्शनिक कार्लमाक्र्सद्वारा प्रतिपादित आधुनिक वैज्ञानिक राजनीतिक प्रणाली भनेर चिनिन्छ । अनि त्यही व्यवस्थाका समर्थक अथवा अनुपालक नै कम्युनिष्ट यो विशेषण हो । माक्र्सवादी समाजवादले ‘सर्वहारा समाजवाद तथा वैज्ञानिक समाजवाद’को नामले परिचय स्थापित गरेको छ । उनका सिद्धान्तका चार आधार छन् । १, द्वन्द्वात्मक भौतिकवाद, २, इतिहासको भौतिकवादी व्याख्या, ३, वर्गसङ्घर्ष, ४, अतिरिक्त मूल्यको सिद्धान्त ।
माक्र्सको कार्यक्रमको पहिलो चरण श्रमजीवी वर्गलाई शासकवर्गमा प्रतिस्थापित गरेर प्रजातन्त्रको सङ्ग्राममाथि विजय प्राप्त गर्नु हो । पीडित श्रमिक–वर्गलाई सङ्गठनमार्फत उठाएर शासक वर्गमा प्रतिष्ठापित गर्नु यसको उद्देश्य थियो । भूमिमाथि व्यक्तिगत स्वामित्वको अन्त्य गरी सार्वजनिक प्रयोजनमा ल्याउनु, यातायात तथा सञ्चारको साधनलाई राज्यको हातमा केन्द्रीकरण गर्नु, साख तथा बैंकमाथि राज्यको एकाधिकार स्थापना गरी एक राष्ट्रिय बैंकको व्यवस्था गर्नु, देशबाट भागेका र देशद्रोहमा परेकाकाको सम्पत्ति जफत, बाल मजदुरमा प्रतिबन्ध र नि:शुल्क शिक्षा व्यवस्था, सबैबाट समान रूपले काम लिनु, कृषिलाई उद्योगमा सम्मिश्रण गर्नु, राज्यमा कारखाना र उत्पादनका साधनमा विस्तार गर्नु यस्ता कार्यक्रम थिए, कम्युनिष्टमा । माक्र्स, एङ्गेल्स, लेनिन यी तीनैजना श्रमिक वर्गको अधिनायकत्वलाई पुँजीवाद र साम्यवादबीचको सङ्क्रमणकालीन व्यवस्था भनेर मान्दछन् । लेनिनवाद वैज्ञानिक विश्वास नभएर भाषात्मक आह्वान मात्र थियो । लेनिनपछि स्टालिन, ट्राटस्की, ख्रुश्चेव, कोसिजिन र माओ आदि कम्युनिष्ट शासकहरूले आ–आफ्नै पारामा कम्युनिजमलाई अथ्र्याउँदै अधिनायकी शैलीकै बोलवाला गराए । कमरेड माओले कम्युन र सांस्कृतिक क्रान्तिलाई मुख्य आधार बनाएर कम्युनमा रहनेलाई सामुहिक जीवन बिताउन लगाए भने सांस्कृतिक क्रान्तिद्वारा नयाँ सिरामा साम्यवादको प्रचार गराए । विचारमा यान्त्रिक एकरूपता कायम गर्न मस्तिष्क शुद्धि (ब्रेनवास) को तरिका अपनाएर भयकारी स्थितिको सिर्जना गरिदिए । माओ र उनका अनुयायीहरूले युद्ध एवम् क्रान्तिद्वारा पुँजीपतिको विनाश गर्ने नीति लिए । कथित सांस्कृतिक क्रान्तिमा लाखौँ चिनियाँ नागरिकहरूको संहार भयो । त्यसैगरी तेनमेन चोकमा भएको आततायी संहार इतिहासको कलङ्क र चरम मानवताविरोधी हिंसा थियो । त्यसैले त कतिपय बौद्धिकहरू भन्छन्, ‘कम्युनिष्ट कागजी कल्पतरु हो, सत्ता नपाउन्जेल समानता र स्वतन्त्रताको कुरा गरी सुनको बाला बोकेर लोभी बटुवालाई फसाउन खोज्ने पञ्चतन्त्रको छलकारी बूढो बाघजस्तै हो । जनताको गरिबी र विपन्नता, भोक तथा रोगलाई केन्द्रबिन्दुमा राखेर श्रमजीवीवर्गको राज्यव्यवस्था हुन्छ भन्ने दुहाइ दिएर क्रूर अधिनायकवाद लाद्ने नौटङ्की मञ्चन मात्र हो ।
वास्तवमा कम्युनिजम शब्दगत तथा भावगत आसयमा मुखर नभएर एक उत्पीडनकारी, अधिनायकी र स्वेच्छाचारी निरङ्कुश प्रणालीमा रूपान्तरित भयो । मान्छे ब्रेनले भन्दा ब्रेडले सञ्चालित हुन्छ भन्ने कोरा भौतिकवाद हावी भयो । कम्युनिष्ट सत्ता भन्नेबित्तिकै व्यवस्थापिका, कार्यपालिका, न्यायालय, प्रहरी र सेनाको सोलोडोलो एकाधिपत्य अर्थिन थाल्यो । आवधिक निर्वाचन, मानव अधिकार, विधिको शासनजस्ता तमाम लोकतान्त्रिक मूल्यहरू एक हाइकमानको सनकमा निरीह बन्न पुगे । गरिब, शोषित, पीडित किसान मजदुर झन्ण् दासानुदास बन्ने स्थितिको सिर्जना भयो । यही अत्याचारबाट पीडितहरू ज्यान बाजीमा राखेर अधिनायकवादका नाइकेविरुद्ध उत्रन थाले । विस्तारै रेड किल्लाहरू भत्किन पुगे, एनिमल स्टेटमा बन्दी भई तुच्छ भेडाबाख्रा बनाइएका जनता लोकतान्त्रिक संस्कारका लागि जुर्मुराउन थाले ।
यही विश्वप्रभावले सबै महादेशलाई छोयो । जसको प्रभाव नेपालमा पनि पर्यो । विश्व कम्युनिष्ट आन्दोलनमा विभिन्नखाले संशोधनवादहरू देखापरे । यी सबै परिघटनालाई नियाल्दै विश्व समाजवादी आन्दोलनका मूर्धन्य हस्ती बीपी गहिरो अध्ययनमा आफ्नो क्रान्तिकारिता जीवन्त बनाउन लागिपरिरहे । माक्र्सवादकै प्रभावमा हुर्किएका बीपीले लोकतन्त्र थपिएको समाजवाद राष्ट्रियतालाई केन्द्रबिन्दुमा राखेर समय सन्दर्भमा चल्ने योजना बनाए । यता वाम शक्तिहरू भने कोही संशोधनवादको हुरीले दक्षिणपन्थको पदचापका अनुयायी बन्न थाले भने कोही क्रान्तिकारी रोमान्टिसिजममा जडसूत्रवादी हुँदै उग्र वाममार्गतिर ने.कां.को विरुद्ध राजाकै बलमा ने. का.ले भन्दा प्रगतिशील नारा लगाएर मुकुन्डो मात्रैमा टल्किन थाले । यही भोगाइलाई प्रकट गर्दै बीपी बोले, ‘नेपालका कम्युनिष्टको बारेमा म यसकारण चर्चा गर्न चाहन्न कि यिनीहरूको आपसी झैझगडा, आक्षेप–प्रत्याक्षेप र चक्कु रोपारोपले गर्दा कम्युनिष्ट भनेर लक्ष्य कसलाई गरेको हो म भन्न सक्दिनँ । यस्तो स्थितिमा कम्युनिजमको नेपालमा विकास भएको छ भन्ने कुरामा म पटक्कै सहमत छैन । सरकारी सहुलियत पाएर कतिपय व्यक्ति आपूmलाई कम्युनिष्ट भनेर घोषणा गर्दै उभिएको देखिन सकिन्छ या कुनै विदेशी राष्ट्रका नीतिको स्थानीय कार्यपालक भएर आपूmलाई कम्युनिष्ट हुँ भन्दा हुन्, तर के त्यस्ता तत्वलाई कम्युनिष्ट भन्ने ? भारतविरोधी कम्युनिज्म होइन, यी सब कुरामा लागेका व्यक्तिलाई बाहेक गरेपछि कम्युनिज्मलाई खोज्न कता बत्ती लिएर हिँड्ने ?’ २०१७ सालमा प्रजातन्त्रको घाँटी निमोठिँदा दीपावलीको हर्षबढाइँ गर्ने कैयौँ शाहीसत्ताका अनुपालक वर्तमान समयमा वामकित्तामा देख्दा अनि यतिखेरको जल्दाबल्दा सत्ताधारी रेड कम्रेडका चर्तिकला हेर्दा त साँच्चै नेपालमा कम्युनिष्ट पाउन बत्तीको हजुरबाबु बाले पनि पत्ता लाग्दैन । सुकुम्बासी बस्तीमा दिनदहाडै डोजर लगाएर चिल्लीबिल्ली पार्ने, अनावश्यक बिप्पा सम्झौता गरेर बखेडा निकाल्ने, अन्तर्राष्ट्रिय विमानस्थल एवम् राष्ट्रिय विमानस्थलहरूको निर्माण र रखबारी विदेशीलाई सुम्पने, असंलग्न परराष्ट्रनीतिमाथि कुठाराघात गर्ने, लचिलो बन्ने नाममा नागरिकता वितरण गरी विदेशी घुसपैठ बढाउने, राष्ट्रको साँचो अर्कैका हातमा छ भनेर खुलस्त पार्ने, देश नै मर्ज वा सवमर्ज हुनसक्छ भनेर राष्ट्रियतामा धावा बोल्ने, देशभक्त गणतन्त्रवादी सङ्घीयधार भनी अपवित्र मोर्चाबन्दी गर्दै राष्ट्रिय राजनीतिलाई भिडन्तउन्मुख गराउने यी सबै भिल्ल खेलहरूले पुष्टि हुन्छ यहाँ कम्युनिष्ट छैन । मात्र सत्तामा हालीमुहाली गरेर विदेशी प्रभुहरूसित लम्पसार परी राष्ट्रियता बन्धक बनाउने तमासा मञ्चन गर्ने कतै कम्युनिष्ट हुन सक्छ ? यी त नारालाई मारा बनाएर राष्ट्र विघटन गर्ने राष्ट्रघाती तत्व पो रहेछन् बा ! तत्कालीन जनमोर्चाका मुख बाबुरामका चालीसबुँदे माग खै कता अलपत्र छन् । तीतो सत्य हो नेपालमा कम्युनिष्ट छैन, नत्र साठी प्रतिशतभन्दा बढी निर्वाचित जनप्रतिनिधिको यत्रो बाहुल्य खै कम्युनिष्टका कुनै एजेण्डा कम्युनिष्ट सरकारले लागू गरेको ? संविधानसभाको चुनावपछि नै चार–चारवटा यिनीहरूकै सरकार भइसक्यो ? अब यसको भ्रममा नपरी नक्कली बाबाका दाह्रीजुँगा उखेलेर निर्वाचनमार्फत यी हल्ला खेती गर्नेविरुद्ध लोकतन्त्रवादीको मोर्चाबन्दी हुनुपर्छ अन्यथा यहाँ ठेट लोकतन्त्रवादी पनि हराउन सक्छ । भ्रष्टाचार, कमिशनखोरी, आततायी, डन र महाडनका रक्षक, संविधानसभाजस्तो संस्थाका मारक ग्रह, अध्यादेशमार्फत देश चलाउन खोज्ने घोर लोकतन्त्रविरोधी कब्जामार्गीलाई ताजा खालको जनादेशबाट बढारौँ, यसैले कुनै प्रतिष्ठित बौद्धिकको नेतृत्वमा नयाँ कार्यकारी गठन गरेर ल्यान्जुब दोर्जे प्रभृत्तिमा लोकतान्त्रिक हमला बोलौँ, समयको पदचापलाई आत्मसात् गरौँ, आमाको मुहार मुटुदेखि हँसाऔँ । यसैबाट सबैको कल्याण हुन्छ । सबैलाई चेतना भया..।
प्रतिक्रिया