दोहोऱ्याएर सांसद बनेका ३५ जनालाई सम्मान तथा बधाई

दोहोऱ्याएर सांसद बनेका ३५ जनालाई सम्मान तथा बधाई


पूर्वसांसद मञ्च (नेपाल)ले पुनः संघीय संसद्का सदस्य बनेका आफ्ना आजीवन सदस्यहरुलाई बधाई तथा सम्मान गरेको छ । सिंहदरबारस्थित मञ्चको कार्यालयमा आज आयोजना गरेको कार्यक्रम मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितलगायत संघीय संसद्का ३५ जना सदस्यलाई बधाईका साथ सम्मान गरेका हुन् ।

सो अवसरमा मन्त्री पण्डितले पूर्वसांसदलाई स्वास्थ्य बीमाका लागि पहल गर्ने बचन दिँदै सरकारले पैसा नदिने तर सरकारी अस्पतालमा बिरामी भएका उपचार गर्ने व्यवस्था धारणा अघिसारे ।

मन्त्री पण्डितले भने, ‘उपचार खर्च दिँदा कतिपय अवस्थामा सरकार बदनाम पनि भएको छ, सरकारले पैसा दिने भएपछि विदेशमा गएर उपचार गर्ने चलन छ, त्यो रोक्नुपर्छ, धनीलाई भन्दा पनि कम पहुँच र कमजोर आर्थिक अवस्था भएकालाई दिनुपर्छ ।’

काठमाडौँमा उपत्यकामा धुलोले क्यान्सरको मात्र बढाउने देखिएको अध्ययनबाट थाहा भएको उल्लेख गर्दै उनले एक वर्षभित्र काठमाडौंलाई धुलोमुक्त बनाउनका लागि योजनाबद्ध रुपमा काम गर्ने बताए ।

मञ्चका अध्यक्ष श्रेष्ठले सरकारले पूर्व पदाधिकारीलाई सुविधा दिने र पूर्वसांसदलाई नदिने गर्न नहुने उल्लेख गर्दै सबै सांसदबाटै गएको हुँदा सुविधा दिए सबैलाई दिनुपर्ने नदिए कसैलाई पनि दिन नहुने माग गरे ।

तस्बिर रासस