म्याद बुझ्दै विवाद चर्काउँदै

म्याद बुझ्दै विवाद चर्काउँदै


आलङ्कारिक राष्ट्रपति डा. रामवरण यादवलाई सरकारबारे निर्णय लिने अधिकार नभएको जिकिर गर्दै आएका सत्ताधारी दलका नेताहरू सहमतिका निम्ति तिनै ‘अधिकारविहीन’ राष्ट्रपतिबाट असोज महिनाभरको म्याद बुझेर शीतलनिवासबाट बाहिरिएका छन् । सहमतिको सरकार निर्माणका लागि असोज मसान्तसम्मको म्याद बुझ्ने कित्तामा सत्तासीनहरूसँगै विपक्षी राजनीतिक दलहरू पनि लाम लागेका छन् । निश्चितप्राय: नै छ कि भदौ महिनाको म्याद गुजारेजसरी नै दलहरूले असोज महिनालाई पनि आरामपूर्वक चिप्ल्याइदिनेछन्् । आधाभन्दा बढी त महिना जो बितिसकेकै छ ।
दलका शीर्ष नेतृत्वहरूलाई राष्ट्रपतिले शीतलनिवासमा फेरि हाजिरीका लागि निम्तो पठाउने बेलासम्ममा दशैँ चाडले नेपाली घरआँगन टेकिसकेको हुन्छ । सत्ताको नेतृत्व गरिरहेको एमाओवादीका अध्यक्ष प्रचण्डका लागि सरकारको आयु लम्ब्याउन तब त्यो एउटा दह्रो बहाना बन्नेछ । अनि, आफूलाई देशकै एक्लो हर्ताकर्ता ठान्ने प्रचण्डले दशैँ–तिहारको फुर्सदमा उग्राउँदै भविष्यका तानाबाना बुन्नेछन्, ता कि अन्य राजनीतिक दलहरू थप कमजोर बनुन्, सत्ताको लगाम आफ्नै हातमा अझ कसिलोसँग रहोस् । यही हालतमा कुनै सहमतिका नाममा बाबुराम–प्रचण्डले सत्ता छोड्लान् भन्ने अझै पनि विपक्षी राजनीतिक दलका नेताहरूले ठानेका छन् भने योजत्तिको टिठलाग्दो ‘मजाक’ अरू केही हुन सक्दैन ।
राष्ट्रपति आफ्नै कित्ताका हुन्, त्यसैले आफूहरूकै हितमा कदम चाल्नेछन् भन्ने सोच काङ्ग्रेसलगायतका विपक्षी दलले पालेका छन् । अब त प्रधानमन्त्रीविरुद्ध ठोस कदम राष्ट्रपतिबाट पक्कै चालिनेछ भन्ने आस लगाउन छोडेका छैनन् विपक्षी खेमाले । हो, एमाओवादी नेतृत्वले पनि राष्ट्रपतिलाई एउटा ‘खाँटी काङ्ग्रेसी’कै रूपमा हेर्छ अहिले पनि । त्यसैले त प्रचण्ड–बाबुरामहरू राष्ट्रपति र प्रधानमन्त्रीमा एउटै दलबाट प्रतिनिधित्व गराइँदा राजनीतिक सन्तुलन बिग्रने नयाँ तर्क जोडस्वरले प्रस्तुत गर्न थालेका छन् । सरकारको नेतृत्वको दाबी काङ्ग्रेसले गर्दा राष्ट्रपतिमाथि काङ्ग्रेसी जलप लगाउने एमाओवादी नेतृत्व अवैध सरकारलाई पन्छाउन राष्ट्रपति अग्रसर हुनुपर्ने आवाज उठ्दाचाहिँ तिनै ‘काङ्ग्रेसी राष्ट्रपति’को भूमिकाको प्रशंसा गरेर थाक्दैन । बाहिरी हल्ला जे–जे चले पनि प्रधानमन्त्री भट्टराई र भट्टराईनेतृत्वको सरकारविरुद्ध राष्ट्रपति कत्ति पनि असन्तुष्ट नरहेको अभिव्यक्ति एमाओवादीका नेताहरू सगर्व प्रस्तुत गर्छन् । राष्ट्रपति रामवरण यादवको कार्यशैली हेर्दा उनीहरूको अभिव्यक्तिलाई नै बल दिइरहेको आभास नहुने पनि होइन । त्यसमाथि एमाओवादी नेताहरूको उपरोक्त दाबीको पुष्टि राष्ट्रपतिका ‘सल्लाहकार’हरूले आमसञ्चारका माध्यमबाटै गरिरहेका पनि छन् ।
यस यथार्थले प्रस्ट सङ्केत गरिरहेको छ कि मौजुदा हालतमा राजनीतिक समस्या निकासका लागि न राष्ट्रपतिले कुनै ठोस कदम चाल्ने सम्भावना देखिन्छ न सरकारले बहिर्गमनको बाटो नै अवलम्बन गर्नेछ । विपक्षी दलहरूले ल्याउने आन्दोलनको आँधी त ‘तातो पानी नभए चिसैले नुहाउँला’ भन्ने तुक्का सावित भइसकेकै छ । एमाओवादीबाट छुट्टिएर गठन भएको ‘ड्यास माओवादी’समेत विपक्षी गठबन्धनमा समेटिएको विषयले विपक्षी तप्कामा केही तरङ्ग पक्कै पैदा गरेको थियो । तर, ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैँ भारतीय नम्बरप्लेटका सवारी साधनको बाटो छेक्ने, गीत र सिनेमामा प्रतिबन्ध लगाउनेजस्ता कृत्यमार्फत आफ्नै (नेपाल र नेपालीकै) खुट्टामा बन्चरो हान्ने हर्कतमा वैद्य नेतृत्वको माओवादी पार्टी उत्रिएपछि आन्दोलनका लागि निर्मित विपक्षी गठबन्धन आफैँ ‘पोलियोग्रस्त’ बन्न पुगेको छ ।
तसर्थ, भट्टराई सरकार आफ्नै कसरतले भन्दा बढी विपक्षीको नालायकीकै कारण थप टिकाउ बन्न पुगेको छ । देश र जनताका लागि केही गर्न नसके पनि यसको आयु लम्बिएको अनुभूति हुन्छ । सहमतिको विकल्प नदेख्नेहरूले तत्काल यहाँ कुनै सहमतिका खुड्किला निर्माण गर्न सक्ने लक्षण देखिन्न । ‘पशुपतिनाथको कृपा’मा चलेको देश कहाँनेर पुगेर सम्हालिन नसक्नेगरी दुर्घटनामा पर्छ– राम जाने !