– पुनहरि बेल्बासे
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको निर्वाचन नजिकिएसँगै चुनावी रौनक बढ्दै गएको छ । वि.सं. २०११ सालमा उद्योगी व्यवसायीको हकहित र संरक्षणका लागि गठन भएको उक्त संघको यो ५९ औं अधिवेशन हो ।
यही फागुन २६ गते हुने अधिवेशनमा यतिबेला दुई ओटा प्यानलले आ–आफ्ना चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका छन् । एकातर्फ डा. शान्तकुमार शर्माको प्यानल छ भने अर्कोतर्फ कुलप्रसाद न्यौपानेको प्यानल चुनावी मैदानमा उत्रेको छ । निर्वाचन मिति नजिकिएसँगै प्रचारप्रसार पनि तिव्र हुनुका साथै दुवै टिमले निर्वाचनको परिणाम आ–आफ्नो पक्षमा आउने दाबी गरेका छन् । यसअघिको अधिवेशनबाट डा. शान्तकुमार शर्मा वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए भने अर्का प्यालनका कुलप्रसाद न्यौपाने उद्योगतर्फका उपाध्यक्षमा निर्वाचित भएका थिए ।
सिद्धार्थ उद्योग वाणिज्य संघमा २ हजार १ सय ६८ फर्म दर्ता छन् जसमध्ये वाणिज्यतर्फ १ हजार ६ सय ६५, उद्योग तर्फ ३ सय ७३ वस्तुगत तर्फ ८ र एशोसियट तर्फ १२२ फर्म दर्ता रहेका छन् । यस्तै, आर्थिक वर्ष ०७४÷७५ मा दर्ता भएका नयाँ फर्महरू समेत गरी हाल २ हजार २ सय बढी फर्म दर्ता छन्, तर यस आर्थिक वर्षमा सदस्यता लिएका फर्महरूले निर्वाचनमा भाग लिन नपाउने व्यवस्था संघमा रहेको छ ।
डा. शान्तकुमार शर्माको प्यानलमा नवराज न्यौपाने वरिष्ठ उपाध्यक्षमा उम्मेदवार छन् । उनी २०५२ सालमा साधारण सदस्य, २०६० सालमा कार्यसमिति सदस्य र २०७१ सालमा वाणिज्य उपाध्यक्ष भएका थिए । त्यस्तै वाणिज्य उपाध्यक्षमा विनोद खरेलको उम्मेदवारी छ । उनी २०५६ सालदेखि सिद्धार्थ उद्योग वाणिज्य संघमा आवद्ध रहेका अटोमोवाइल्स व्यवसायी हुन् । उनले सिद्धार्थ उद्योग वाणिज्य संघमा रहेको निर्माणाधीन भवन पूरा गर्ने लक्ष्य अगाडि सारेका छन् ।
यसैगरी शान्ता जिसी उद्योग उपाध्यक्षतर्फ उम्मेवार छिन् । उनी वि.सं. २०५५ सालदेखि साधारण सदस्य हुँदै २०६२ साल देखि २०७१ सम्ममा कार्यसमिति सदस्य रहेकी छिन् भने २०७१ सालको निर्वाचनमा उद्योग उपाध्यक्षमा उम्मेदवारी दिएर २६ मतले पराजित भएकी थिइन् । जिसीले २०३७ सालदेखि महिला केशश्रृङ्गार शुरु गरेकी थिइन् । महासचिवमा इम्तियाज अहमदले उम्मेदवारी दिएका छन् । उनी २०५० साल देखि साधारण सदस्य र २०६४ सालदेखि हालसम्म कार्यसमिति सदस्य छन् । सचिवमा पशुपतिप्रसाद कान्दु उठेका छन् भने कोषाध्यक्षमा रविकुमार श्रेष्ठ, उनी २०५६ सालमा संघको साधारण सदस्य २०६८ देखि हाल सम्म कार्यसमिति सदस्य रहेका छन् ।
त्यस्तै कुलप्रसाद न्यौपानेको प्यानलमा भीष्म न्यौपाने वरिष्ठ उपाध्यक्ष छन् । उनी वि.सं. २०५० सालमा संघको साधारण सदस्य २०५८ देखि चुनावी प्रक्रियामा भाग लिँदै २०६० सालदेखि ६८ सम्म कार्यसमिति सदस्य, २०६८ देखि ७१ सम्म सचिव र २०७१ देखि हालसम्म महासचिवको रुपमा कार्यभार सम्हालेका व्यक्ति हुन् । त्यस्तै वाणिज्य उपाध्यक्षमा ठाकुर कुमार श्रेष्ठ छन् । उनी २०६० सालदेखि २०६८ सम्म कार्यसमिति सदस्य, २०६८ देखि २०७१ सम्म कोषाध्यक्ष र २०७१ सालमा वाणिज्य उपाध्यक्षमा ७ मतले पराजित भएका थिए । उद्योग उपाध्यक्षमा अरुणकुमार गोयनका छन् । उनले २०६० सालदेखि सक्रिय सहभागिता र दुई कार्यकाल कार्यसमिति सदस्य र एक कार्यकाल कोषाध्यक्ष रही योगदान पु¥याएका छन् । महासचिवमा नेत्रप्रसाद आचार्य छन् । उनी २०६१ सालमा साधारण सदस्य २०६४ साल देखि २०७१ साल सम्म निरन्तर कार्यसमिति सदस्य र २०७१ देखि २०७४ सम्म सचिव छन् । कोषाध्यक्षमा विजय पाण्डे, उनी २०४९ सालमा साधारण सदस्य, २०६२ सालमा मनोनित सदस्य र २०६४ साल देखि हालसम्म निरन्तर सदस्य पदमा छन् । कोषाध्यक्षमा दिलिपकुमार कान्दु २०६२ सालदेखि हालसम्म कार्यसमिति सदस्य पदको जिम्मेवारी सम्हालेका व्यक्ति हुन् ।
अन्य पदका लागि निर्वाचन हुने भएता पनि वस्तुगत सदस्यमा कृष्ण शर्मा, एशोसिएट सदस्य रोहित कुमार अग्रवाल, दिपक कुमार पौडेल, महिला सदस्यमा पल्लवी न्यौपाने, वाणिज्य महिला सदस्य यमकला न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।
१७ वर्ष देखि निरन्तर मुद्रण व्यवसायमा लागेको र मुद्रण पेशामा आबद्ध व्यवसायीको मर्यादित र समस्यालाई दृष्टिगत गरी समाधान गर्न उम्मेदवारी रहेको सदस्य पदका उम्मेदवार सुरेन्द्र उपाध्याय पौडेल बताउनुहुन्छ । उद्योगी व्यवसायीको समस्याप्रति र हकहितकालागि डटेर लाग्नको लागि उम्मेदवारी रहेको सदस्य पदका उम्मेदवार गोपाल भण्डारी बताउनुहुन्छ ।
त्यस्तै खुला उद्योगको ५ सदस्यको लागी मंगल भण्डारी, सुजित कुमार श्रीवास्तव, भुवन कुमार कान्दु, उमाशंकर मिश्र, सुरेन्द्र उपाध्याय पौडेल, रमेश घिमिरे, गोबिन्द ज्ञवाली, विकासकुमार गोयन्काको उम्मेदवारी दर्ता छ । त्यसैगरी खुला वाणिज्यतर्फको १० सदस्यका लागि त्रिलोकीप्रसाद तेली, मृगेन्द्र गोविन्द श्रेष्ठ, गंगासागर अग्रहरी, संजय वेरीवाल, सब्बिर अली पठान, हरिशकुमार सेठिया, अर्जुन कार्की, संचित खन्ना, सतिस कुमार कौशल, रियाज वारिस, धर्मबीर शर्मा, हरि प्रसाद पाण्डे, गोपाल भण्डारी, कृष्ण प्रसाद अधिकारी, राम वचन तेली, भवानी बुर्लाकोटी, प्रितम रौनियार, कमल मरासिनी र गौरव श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ ।
कसको योगदान कति ?
डा. शान्त कुमार शर्मा
डा. शान्त कुमार शर्मा वि.सं.२०५४ सालदेखि सिद्धार्थ उद्योग वाणिज्य संघमा साधारण सदस्यको रुपमा प्रवेश गरी वि.सं.२०६० मा कार्यसमितिमा त्यसपछि संघको सल्लाहकार हुँदै २०७१ सालदेखि वरिष्ठ उपाध्यक्षको कार्यभार समाल्दै आएका छन् । २०७२ सालमा मधेश आन्दोलनका क्रममा भारतले गरेको नाकाबन्दी खुलाउनमा डा. शर्माको महत्वपूर्ण योगदान रहेको थियो । उनी नेपाल भारत मैत्री संघ सिद्धार्थनगरको अध्यक्ष समेत थिए । उद्योगी व्यवसायीहरूका समस्यालाई आफ्नै समस्याजस्तै मानेर दायित्वबोध सहित सहयोग गर्ने प्रकृतिका व्यक्तित्व डा. शर्माले समाजशास्त्रबाट विद्यावारिधि गरेका छन् । संघमा उनको उपस्थितिले व्यवसायी मात्र होइन आम उपभोक्ता समेत लाभाम्वित हुने सर्वसाधारण बताउँछन् । डा. शर्मा नेपाल भन्सार एजेन्ट महासंघका केन्द्रिय अध्यक्ष समेत छन् ।
यसअघि सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रहिसकेका डा. शर्माले यस क्षेत्रको उद्योग, व्यवसाय र पर्यटकीय क्षेत्रलाई आफू अध्यक्ष भई सकेपछि अझ अगाडि बढाउँदै लगेर आर्थिक समृद्धि गराउने बताउँछन् ।
कुलप्रसाद न्यौपाने
कुलप्रसाद न्यौपाने वि.सं. २०५२ सालदेखि सिद्धार्थ उद्योग वाणिज्य संघको साधारण सदस्यको रुपमा प्रवेश गरी सो समयदेखि नै विभिन्न समिति उपसमितिमा सक्रिय भूमिका निभाउँदै २०६० सालको निर्वाचनमा कार्य समिति सदस्यको रुपमा प्रवेश गरेर २०६० देखि २०७४ सालसम्म कार्य समिति सदस्य र पुनः २०६४ देखि २०६८ सालसम्म सचिव, २०६८ देखि २०७१ साल सम्म महासचिव र २०७१ देखि हाल सम्म उद्योग उपाध्यक्ष पदमा रहि १४ वर्ष काम गरेका छन् । अध्यक्ष पदका उम्मेदवार न्यौपानेले आफ्नो जिम्मेवारीलाई अत्यन्तै लगनशील र इमान्दारीपूर्वक सधै संघको हितलाई ध्यानमा राखी सक्रिय रुपले कार्य गर्दै आएका छन् । उनी २०७२ सालको मधेश आन्दोलनमा खुलेरै भारतीय नाकाबन्दीको विरोधमा खरो रुपमा उत्रिएका थिए ।
यसअघि सिद्धार्थ उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष रहिसकेका न्यौपानेले उद्योग, व्यवसायका समस्याहरूलाई यथासिघ्र समाधानका लागी पहल गर्दै जिल्लाभरि छरिएका उद्योगी व्यवसायीलाई समेटी कार्य अगाडि बढाउने र भन्सार/राजश्व तथा प्रशासनिक जस्ता झन्झटहरूलाई संघको माध्यमद्वारा उद्यागी÷व्यवसायीहरूलाई सहयोग गर्ने भावी योजना रहेको बताउँछन् ।
प्रतिक्रिया