समाप्त हुँदै छ क्यान्सर अस्पताल-वीरेन्द्रमणि पौडेल

समाप्त हुँदै छ क्यान्सर अस्पताल-वीरेन्द्रमणि पौडेल


भौतिक सुविधाका लागि जेसुकै गर्न तयार अपराधी र अपराधीहरूको समूहले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल कुनै पनि बेला समाप्त पार्ने डर धेरैलाई थियो । आखिर त्यही भयो । काम गर्नुलाई राष्ट्रसेवा ठान्ने जनताको देश जनवादी गणतन्त्र चीनको हार्दिकताको चिनो काम गर्न नपर्दालाई स्वर्गीय आनन्द ठान्नेहरूको देशमा केही वर्ष स्वस्थ अवस्थामा जीवित क्यान्सर अस्पताल अहिले अन्तिम श्वास फेर्दै छ ।
प्रारम्भमा काठमाडौंको अँध्यारो कोठामा बसेर स्वास्थ्य क्षेत्रका माफियाहरूले बीपी मेमोरियल क्यान्सर अस्पताल चितवनमा स्थापना हुन नदिन ठूलो दबाब सिर्जना गरे । माफियाहरू यतिबेला चितवनको भरतपुरमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नामले स्थापित दक्षिण एसियामै भौतिक सुविधा र उपचार पद्धतिका हिसाबले उच्च अस्पताल भक्तपुरमा स्थापना गर्न मरिमेटेर लागेका थिए । माफियाहरूको शक्तिका अगाडि चितवनमा यो अस्पताल स्थापना गर्नुपर्छ भन्ने तत्कालीन चितवनका सांसद जगन्नाथ पौडेललगायत व्यक्तिहरूको आवाज अत्यन्त कमजोर थियो । कसैले नसुन्ने स्थितिको थियो । सुने पनि हाँसेर टारिदिने अवस्था बनेको थियो । त्यसैबेला संयुक्त राष्ट्रसङ्घका लागि नेपालका भूतपूर्व स्थायी प्रतिनिधि डा. जयराज आचार्यले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भूगोल, यातायात, विद्युत्, पानी आदिका हिसाबले सुविधासम्पन्न भएको र मुलुकभरिका बिरामीहरूका लागि आउन-जान चितवनको भरतपुरै उपयुक्त भएको राय प्रस्तुत गरेर मनाइदिएपछि बल्ल उनले हरियो झण्डा देखाए । डा. जयराज (०१४४१९२९८) को तर्कसँग सहमत भएपछि गिरिजाले क्यान्सर अस्पताल अब चितवनको भरतपुरमा बन्छ भने । माफियाहरूको ओठतालु सुक्यो । माफियाहरूको ओठतालु सुक्नमा एउटै कारण थियो- गिरिजाको ढिपी । दुनियाँलाई थाहा छ गिरिजाले ठीक निर्णय गर्छन्, गलत निर्णय गर्छन् त्यो बेग्लै पक्ष हो तर निर्णय गरेपछि यमराजको निर्णय परिवर्तन होला उनको निर्णय परिवर्तन हुनेवाला छैन । गिरिजाको भान्सा, ट्वाइलेट र ओछ्यान छेउछाउ निरन्तर चक्कर काटिरहेका माफियाहरू खुम्चिएर त्यतिबेला पछि हटे । उपयुक्त मौका ढुकेर बसे ।
चितवनमा क्यान्सर अस्पताल बनेर उपचार सुरु भयो । नेपालका कुनाकाप्चाबाट विभिन्न अवस्थाका नेपाली क्यान्सररोगी मात्र होइन छिमेकी राष्ट्र भारतको खासगरी बिहार राज्यका क्यान्सररोगीहरूलाई समेत यो अस्पतालले स्वास्थ्य सेवा सशुल्क, नि:शुल्क र छुट दिएर उपलब्ध गरायो । मर्ने अवस्थाका बिरामीहरू सजिलोसँग मर्न पाए । दोस्रो स्टेजका बिरामीहरूले लामो समय धर्तीमा टेकेर संसार हेर्न पाए । पहिलो स्टेजका क्यान्सररोगीहरूले पुन: जीवन पाए । क्यान्सर अस्पतालको महत्त्व, गरिमा र प्रभाव जताततै फैलियो । बीपी मेमोरियल क्यान्सर अस्पताल छोटै समयमा नेपाली जनताको साझा राष्ट्रिय सम्पत्तिको रूपमा स्थापित भयो । तर, दर्ुभाग्य † क्यान्सर अस्पताललाई दुष्ट आत्माहरूको प्रभावले छोयो । राजा ज्ञानेन्द्रको सत्ता कागजको घर ढले जसरी गर्ल्यामगर्ुर्लुम ढलेपछि नयाँ शासकहरूले क्यान्सर अस्पतालको नेतृत्व अयोग्य, कच्चा, बच्चा, धुपौरे, पैसा भनेपछि मानवतालाई बिक्री गर्नेको हातमा सुम्पिदिए । क्यान्सर अस्पताल ऐनमा डाक्टरलाई बाहिर निजी क्लिनिकमा प्राक्टिस गर्न बन्देज लगाइयो तर नेपालका डाक्टर न ठहरिए यिनलाई ऐनले छोएन । कोही लुकिलुकी गए, कोही हाकाहाकी ठाडै बाहिर प्राक्टिसमा गए । यिनलाई कानुन र ऐनले नछुनुमा एकमात्र कारण थियो राजनीतिक आशीर्वाद । ज्ञानेन्द्रको शासन ढाल्न यिनीहरूले उपचार छाडेर सेतै कपडामा जुलुसमा सहभागिता जनाएका थिए । त्यसको ब्याजको रूपमा डाक्टरहरूले ऐन-कानुन तोडे । आफ्नो इज्जतमाथि आफैं कालो पोते । डाक्टरहरू निर्लज्ज भएर एकढङ्गले नाङ्गै हिँडे । निर्लज्ज डाक्टरहरूलाई देखेर शासकहरू आवाजहीन र शब्दहीन भए । लाजहीनहरूलाई देखेर नयाँ शासकहरूले ‘कुरीकुरी’ गर्नुको सट्टा शिर निहुर्‍याएर स्वागत गरिदिए । शासकहरूको निहुरिएको शिर देखेपछि क्यान्सर अस्पतालका डाक्टरहरू उपद्रो गर्न अझै हौसिए । डाक्टरद्वारा खुलेआम क्यान्सर अस्पतालमा जचाउन आएका बिरामीलाई निजी अस्पताल र क्लिनिकमा बोलाइयो । सीधै क्यान्सर अस्पतालको राजस्व मार्ने काम गरियो भने बिरामीलाई अतिरिक्त आर्थिक भार थोपरियो । केही डाक्टरहरू ढिलो अस्पताल आउने, चाँडै क्लिनिक धाउने गर्न थाले, कुनै डाक्टरले अघिल्लो रात पीएको मदिराको दुर्गन्ध भोलिपल्टसम्म अस्पतालभरि फैलाइरहे । वरिष्ठ कहलिएका डाक्टर तरुनीका साथमा साँझसाँझमा भरतपुर, नारायणगढ, दासढुङ्गा र गैंडाकोटतिरका होटलहरूमा भेटिए । क्यान्सर अस्पतालका डाक्टरहरू अस्पतालको गरिमा ध्वस्त पार्न यसरी पथभ्रष्ट भए भने आर्थिक भ्रष्टाचारको खबर निरन्तर प्राप्त भइरह्यो । सामान खरिदमा त्यत्तिकै भ्रष्टाचार, मर्मत शीर्षकमा ब्रह्मलुट, मान्छे चाहिए पनि राख्ने नचाहिए पनि भर्ना गर्ने, नचाहिएको सामान खरिद गर्ने, चाहिएको सामान बिगार्ने र फेरि खरिद गर्ने, मेसिन बिगार्ने र त्यही मेसिन भएको अर्को अस्पतालबाट सुटुक्क कमिसन खाने, मिलेसम्म लुट्ने, नमिले मिलाएर लुट्ने । यसले पनि लुट्ने उसले पनि लुट्ने मौका मिलेसम्म डाइरेक्टरदेखि हरेकले लुट्ने, क्यान्सर अस्पतालको रगत चुस्ने, मासु लुछ्ने, हड्डी चपाउने, छाला चिथोर्ने ।
नेपाली जनताको साझा राष्ट्रिय सम्पत्ति बीपी मेमोरियल क्यान्सर अस्पताल हेर्दाहेर्दै आज द्रव्यपिसाचहरूले अनियमितता र ब्रह्मलुट मच्चाएर सखाप पारिसकेका छन्, अवस्था बुझेपछि मन्त्रालयले बजेटै रोक्का गरेर चेतावनी दिइसकेको छ । बिनाबजेट अब अस्पताल कसरी चल्छ ? कुनै पनि बेला क्यान्सर अस्पतालमा ताल्चा झुन्डिने अवस्था सिर्जना भइसकेको छ । समाप्तिको बाटोतर्फअग्रसर भइरहेको छ क्यान्सर अस्पताल तर चितवनमा नागरिक समाज भए पनि छैन । एकीकृत नेकपा माओवादी छ, नेपाली काङ्ग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा छ । यिनीहरू हस्तक्षेप पनि गर्दैनन् । चासो व्यक्त पनि गर्दैनन् । किनकि यिनीहरू आफैं मरेका छन् वा बाँचेका छन् यिनलाई केही पत्तो छैन । बाँचेका भए शायद राष्ट्रिय सम्पत्तिको ठीक ढङ्गले संरक्षण गर्न तम्सिने थिए । सबैखालको परिस्थितिलाई एक-एक केलाएर हेर्दा अनगिन्ती प्रमाण फेला परेका छन् । सबै व्याख्या गर्दा रामायण बन्छ । त्यो सम्भव छैन । एकमुष्ट यसरी भनौँ- वास्ता गर्ने फुर्सद कसैलाई छैन ।
नेपाली जनताको राष्ट्रिय सम्पत्ति बीपी मेमोरियल क्यान्सर अस्पतालको अब अन्त्य निकट छ, अन्त्य पक्कापक्की जस्तै देखिएको छ ।