किन हानेछन् सिपाहीले एसएसपीलाई गोली

किन हानेछन् सिपाहीले एसएसपीलाई गोली


-वसन्तराज कुँवर
बहालवाला एसएसपी चन्दमाथि उनको आफ्नै गार्डले गोली चलाएको समाचार सार्वजनिक भएको छ । यो कुरा साधारण होइन । हातहतियार बोक्ने सुरक्षा फौजले आफ्ना कमान्डरमाथि नै साङ्घातिक हमला गर्नु भनेको एकप्रकारले फौजमा भएको बिद्रोह नै हो । यो मामलालाई केवल जिल्ला प्रहरी कार्यालयको अनुसन्धानको विषय मात्रै नबनाई गहिरिएरै प्रहरी प्रधान कार्यालयले नै अनुसन्धान र अन्वेषण गर्नुपर्छ ।
यतिबेला देशमा अराजकता बढेको छ । माथिल्लो निकायसँग तल्ला तह सन्तुष्ट छैनन् । हरेक पार्टीमा विवाद छ । जनता पार्टीसँग सन्तुष्ट छैनन् । त्यसैले पार्टी अध्यक्षलाई सार्वजनिक ठाँउमा झापड हान्छन् । सहसचिवहरू सचिवसँग खुसी छैनन् त्यसैले विरोध-पत्र दिन्छन् । खेलाडीहरू आफ्ना कार्यालयसँग सन्तुष्ट छैनन् त्यसैले आफ्नै कार्यालयमा ताल्चा लगाउँछ्न् । फौजमा पनि असन्तुष्टि छ त्यसैले आफ्ना हाकिमको कुरा चोक, गल्ली, होटल र घरदैलोमा काट्ने गर्दछन् । तर, अहिले जुन प्रकारले कुरा काट्नेभन्दा माथि उठेर हतियार प्रयोग गर्ने काम भयो त्यो साधारण छैन र यसले साधारण कुराको सङ्केत पनि दिएको छैन । यस कुरालाई समग्र प्रहरीहरूले एक अशुभ सङ्केत मान्दै सम्भावित क्षति रोक्न गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।
एउटा बडिगार्ड जो एउटा अधिकृतको सबैभन्दा नजिक भएर बस्ने गर्छ, उसको व्यक्तिगत जीवन पनि बुझ्ने गर्छ त्यस्तो व्यक्ति आफ्नै हाकिममाथि किन उल्टियो होला ? किन उसले हत्या गर्नेसम्म्ाको जोखिम मोल्यो होला ? किन उसलाई हत्या गर्नेसम्मको घृणा जाग्यो होला ? यी कुराको उत्तर खोज्नु ज्यादै जरुरी छ । मेरो विचारमा त्यस प्रहरी कर्मचारीले आफ्ना हाकिमविरुद्ध यसप्रकारको काम गर्नुमा दुईवटा मुख्य कारण हुन सक्छ । पहिलो या त त्यस व्यक्तिले रक्सीलगायतका लागूऔषध लिएको थियो र जसका कारणले उसको विवेकले ठीक-बेठिक छुट्याउन नसक्ने भई गोली हान्यो । वा दोस्रो त्यस कर्मचारीलाई आफ्नो हाकिमप्रति ज्यादै धेरै मात्रामा असन्तुष्टि र आक्रोश थियो जसका कारणले उसले हत्या गर्ने निर्णय गर्‍यो । यो दुवै स्थिति ल्याउन नदिने काम हाकिमकै हो । आज जुन प्रकारले हाकिमहरूले रक्सी, वाइन आदि प्रयोग गर्ने गर्छन् त्यसको सिको सिक्दै तल्ला तह पनि यसको सेवन गरेर बौलाउँदै गोली हाने भने कुनै अचम्म मान्नुपर्दैन । रक्सीका नसामा ठूला हाकिमहरूले पनि मर्ूख कामहरू गरेकै छन् । अर्को जहाँसम्म हाकिमप्रति असन्तुष्टिको कुरा छ त्यसको धेरै कारणहरू हुन सक्छन् । पहिलो कारण त हाकिमले यदि तल्ला तहमाथि न्यायोचित व्यवहार गरेनन् भने त्यतिबेला तल्ला तहले माथिल्लो हाकिमविरुद्ध प्रतिकार गर्छ । मलाई आफ्नै अनुभव छ जतिबेलामा म डीएसपी/एसपी थिएँ त्यतिबेला अच्युतकृष्ण खरेल आईजीपी भए पनि उनले ममाथि गरेको अन्यायको म सार्वजनिक रूपमै विरोध गर्थेँ । उनले जति मलाई दबाउँथे म त्यति नै प्रतिकार गर्दै अझै रुष्ट हुन्थेँ । मलाई लाग्छ हरेक साना दर्जा पनि हाकिमबाट सम्मान चाहन्छन् । उनीहरू सोच्छन् हाम्रो पद फरक छ तर हरेक पद प्रहरी सङ्गठनका लागि उत्तिकै महत्त्वपूर्ण छ । यदि हाकिमले यो कुरा नबुझी प्रहरी सङ्गठन मेरो मात्रै हो र म नै अजम्बरी शक्तिको मालिक हुँ भन्ने सोचेमा यसप्रकारका प्रतिकार आउन सक्छन् । अर्को कुरा यदि हाकिम प्रशस्त पैसा कमाउँदै छन् र आफ्ना परिवारको जीवनस्तर बढाउँदै छन् तर मातहतका तल्ला कर्मचारीले चाहिँ आफ्नो दैनिक जीवन धान्न नै सकिरहेका छैनन् भने पनि विस्तारै-विस्तारै उनीहरूको हाकिमप्रतिको दृृष्टिकोण नकारात्मक बन्छ । अझ यदि हाकिमका अपराधहरू तल्ला तहले प्रत्यक्ष देखेका छन् वा त्यसमा तल्लोतहको पनि सहभागिता छ वा थियो भने त्यतिबेला उसले पनि हाकिमसँग आफ्ना लागि केही हिस्सा भनेर वा मनमनै माग्न सक्दछ । त्यसप्रकारको हिस्सा पदोन्नति, राम्रो ठाउँमा सरुवा वा नगद पनि हुन सक्छ । यदि त्यो कुरा पाएन भने पनि ऊ हाकिमको बिद्रोहमा जान सक्छ । यसबाहेक घरमा बसेका मानिसहरू परिवारको अनावश्यक दबाबले पनि प्रतिकारमा जान सक्छन् । आज अधिकांश प्रहरी राजनीतिक व्यक्तिका सिफारिसमा भर्ना भएका छन् जो सुरुमै हाकिमलाई राजनेतालाई भन्न लगाई ठीक पार्न सकिन्छ भन्ने विश्वास राख्दछन् । यस्ता सोचले पनि प्रतिकार निम्त्याउन सक्छ । जो प्रहरीहरू पैसा दिएर भर्ना, सरुवा वा बढुवा भएका छन् तिनीहरूको उद्देश्य नै पैसा कमाउने हुने हुँदा पैसा नपाउँदा प्रतिकारमा जान्छन् । सबैभन्दा ठूलो हाकिमप्रति नकारात्मक सोच राख्ने कारण हो तल्लो तहले आफूमाथि माथिल्लो कर्मचारीले अन्याय गरेका छन् भन्ने विश्वास हुनु । आजभोलि हाकिमहरूले बलमिचाइ गरी आफ्ना मान्छेलाई अयोग्य हुँदाहुँदै पनि माथि तानी अदूरदर्शी निर्णय गर्छन् जुन निर्णयले भित्रभित्रै भुसको आगोझैं उनीविरुद्ध तल्ला तहहरू जलिरहेका हुन्छन् र मौका पाउनेबित्तिकै हाकिमको विरोधमा जान्छन् । यसबाहेक गरिबी प्रतिकारमा जाने एउटा प्रमुख कारण हो । एउटा सिपाही आफ्नो परिवार डेरामा राखेर पाल्न सक्दैन तर उसले देख्छ उसको हाकिम जग्गामाथि जग्गा जोड्दै छ, घरमाथि घर बनाउँदै छ र बालबच्चालाई पढ्नका लागि विदेश पठाउँदै छ । उसले यो कुरा नजिकबाट हेर्छ र चित्त दुखाउँछ । यही गरिबीको अवस्थाबाट मुक्त पाउन ऊ हाकिमसँग एक तह पदोन्नति माग्छ, थोरै पैसाको आशा गर्छ वा राम्रो ठाउँमा सरुवा जान सहयोगका लागि निवेदन गर्छ । आजभोलि तीनजनाको घर चलाउन कम्तीमा पन्ध्र हजार रुपैयाँ लाग्छ तर तल्लातहसँग त्यो पैसा हुँदैन । स्वास्नी बिरामी हुन्छे, बच्चाको फिस तिर्नुपर्ने हुन्छ, आमाबुबा पैसा पठाइदिन दबाब दिन्छन्, दसैंमा खसी किन्नुपर्ने हुन्छ, बच्चालाई स्काउटको लुगा हालिदिनु भन्ने खबर स्कुलबाट आउँछ, डेराको वहाल दुई महिनाको बाँकी हुन्छ, आफूले पनि कसैलाई खान बोलाउनुपर्ने हुन्छ, भाइबहिनीको विवाह आएको हुन सक्छ । आफ्नो रक्सी खाने बानी भए त्यसले पनि खर्च गराउँछ । तल्ला कर्मचारीहरू बाँच्ने क्रममा यिनै आर्थिक दु:खबाट घेरिरहेका हुन्छन् र मुखले भन्न नसके पनि हाकिमबाट आफ्ना समस्याहरू बुझिदिन अनुरोध गरिरहेका हुन्छन् । जब ती निराश हुन्छन् त्यतिबेला के गर्छन् थाहा हुँदैन । आज हाकिम हुने सबैले बुझ्नुपर्छ कि तल्ला तहको ढाडमा चढेर नै ती अग्ला भएका हुन्छन् । यदि तल्ला तह कमजोर भए ती पनि कमजोर हुन्छन् । मैले प्रहरीमा रहँदा तल्ला तहको गरिबी नजिकबाट देखेको छु । तल्ला तहले सानै सुविधामा हाकिमले भन्दा बहादुरीपूर्वक दुश्मनसँग जानी-जानी मुकाबिला गरेको पनि देखेको छु । प्रहरीमा सहिद हुनेको सङ्ख्या पनि तिनकै बढी छ । त्यसैले यो गोली काण्डको घटनालाई समग्र हाकिमहरूले तल्ला तहको विवशता बुझ्ने एउटा घटना मानेर पनि हर्ेर्नुपर्छ ।
प्रहरीमा काम गर्दा २०५० सालतिर मेरो प्रधान कार्यालयमा सरुवा भयो । त्यतिबेला प्रहरी प्रधान कार्यालयका सिनियर अधिकृतहरूलाई गणबाट एउटा रनर उपलब्ध गराइन्थ्यो । मैले पनि गणबाट एक प्रहरी मागेँ । यो कुरा सुबेदार मेजरले रोलकलमा भनेछन् । मकहाँ आउन धेरै सिपाहीले इच्छा गरेछन् । भोलिपल्ट म कार्यालयमा रहँदा एक चाउरी परेका युवा सिपाही मेरो कोठा आए र सलाम गरी मेरो घरमा जान चाहेको बताए । मैले कारण सोध्दा उनले भने, ‘सर † मेरी आमा हुनुहुन्न, बुबाले अर्की आमा ल्याउनु भएको छ । हाम्रा आमापट्टकिा तीन भाइ छौँ । मेरो घर छैन । उर्लाबारीनजिक गाउँमा आधा कÝा जमिन छ जहाँ म घर बनाउन सक्दिनँ । हालै मेरो प्रेमविवाह भयो र श्रीमतीलाई डेरामा राखेको छु । म डेरावहाल पनि तिर्न नसक्ने भएँ किनकि उनी दुई जिउकी भइन् र थुप्रै औषधिमा खर्च भइरहेछ । भाइहरू पनि पाल्नु छ । हजुरको घरमा बस्न पाए मेरो डेरावहाल बच्थ्यो र श्रीमतीले पनि साहेबनीलाई सर्घाई केही सुविधा पाउथिन् ।’ म काठमाडौंकै मान्छे भएकोले डेरामा बस्नुपर्थेन । बाउबाजेको सम्पत्तिले पुस्तौँ खान पुग्थ्यो, त्यसैले मेरा लागि उसको माग ज्यादै सानो थियो । मैले उसलाई त्यसै दिन आफ्नो घर ल्याएँ । ऊ करिब चौध वर्ष मसँग रह्यो । उसका दुईवटा छोरी मेरो घरमा जन्मे र हर्ुर्के । भाइहरूलाई प्रहरीमा लगाइदिएँ । मेरो प्रहरी जीवनको हरेक अप्ठेराहरूमा उसले मलाई साथ दियो । म निलम्बनमै परे पनि उसले मलाई दिने सम्मानमा कमी ल्याएन । म अवकाश भएपछि उसले पनि जागीर खान रुचाएन । बच्चाहरू बढ्दै गएपछि पेन्सनले मात्र नपुगी उसले मलाई आफू खाडी देशमा काम गर्न चाहेको बतायो । मैले स्वीकृति दिएँ र ऊ खाडी देशमा गई केही कमाएर बालाजु इलाकामा सानो घर बनाउन सफल भयो । हालै उनी नेपाल आए । उनलाई बाँकी जीवन नेपालमै केही गरी परिवारसँग बस्ने रहर थियो तर केही दिनमै उनी फेरि र्फकने भएछन् । मैले सोधेँ, ‘तिमी त अब यहीँ बस्छु भनेको होइन ?’ जवाफमा उनले भने, ‘सर † श्रीमतीले बस्नै दिइनन् । यहाँ खर्च पनि धान्न सकिएन र बच्चालाई उच्च शिक्षा पढाउने, विवाह गर्ने रकम पनि जोड्न सकिने देखिएन, त्यसैले देश छोड्न बाध्य भएँ ।’
यो घटना साधारण छैन । आज एउटा बास बनाउन तल्ला कर्मचारी सक्दैनन् जब कि भारतीय प्रहरीमा काम गर्नेहरू समाजमा सम्पन्न भएर बसेका छन् । हाम्रो देशमा बाँच्नकै लागि परिवार छोडेर मुग्लान पस्न तल्ला तहहरू बाध्य छन् । यस्तो अवस्थामा माथिल्ला कर्मचारीहरूले तल्ला तहका भावनाहरू बुझ्न प्रयास गर्नुपर्छ । प्रहरी कल्याण कोषबाट ओमविक्रम राणाले जस्तो आफैं खानाका लागि कोषको दुरुपयोग नगरी प्रहरीका तल्लो तहको गाँस, बास र कपासको व्यवस्था गरिदिन योजनाब रूपमा सहयोग गरिदिनुपर्छ । यसैले हो म आफू प्रदीपशमशेर राणाको पीए हुँदा सस्तो ठाउँमा जग्गा किनेर कल्याण कोषको पैसाबाट प्रहरी गाउँ बसाल्ने योजना बताएको थिएँ । यद्यपि त्यो हुन सकेन तर पनि त्यस्ता धेरै योजना तल्लातहको गरिबी हटाउनका लागि माथिल्ला तहले गरिदिन जरुरी भएको छ ।
अन्तमा मेरो भनाइ के छ भने प्रहरी फौजमा तल्लातहले माथिल्लो तहविरुद्ध हतियार उठाउनु आपराधिक काम नै हो । यसको म विरोध गर्छर्ुु त्यस्ता व्यक्तिमाथि कारबाही पनि हुनुपर्छ भन्ने मान्यता पनि राख्छु तर यसको साथसाथै माथिल्लो तहलाई पनि अनुरोध गर्छर्ुुक तपाईंहरू कतै तल्ला कर्मचारीप्रति चाहिनेभन्दा बढी नै संवेदनहीन प्रकारले व्यवहार त गर्दै हुनुहुन्न ? तपाईंहरू कतै आफ्नै लागि मात्र सोचेर उनीहरूको दु:खमा कुनै सरोकार नराखिरहेको त हुनुहुन्न ? कतै तपार्इंहरूको नैतिकताको स्तर उनीहरूको नजरमा घटिरहेको त छैन ? कतै तपाईंहरूले उनीहरूमाथि अन्याय गरिरहनुभएको त
छैन ? यसतर्फपनि माथिल्ला अधिकृत भन्नेहरूले सोच्नु होला । सिपाहीले एसएसपीलाई किन गोली हाने ? त्यसको गहिरो अध्ययन हुन जरुरी देखिन्छ । सबै हाकिमहरूले बुझ्नुपर्छ- किन हानेछन् सिपाहीले एसएसपीलाई गोली ?