भनिन्छ, सृष्टि विकासक्रममा जे–जे भइरहेका छन् ती सनातन हिन्दू धर्मको आधार वेदमा उल्लेख भएभन्दा बढी छैनन् । चाहे विज्ञानको विकास होस्, मानव सभ्यताको विकास या प्राकृतिक उतारचढावको स्थिति, सबै पक्षको मिहिन तथ्य विश्लेषण वेदमा रहेको विद्वान्हरू बताउँछन् । स्वामी प्रपन्नाचार्यको ‘वेदमा के छ ?’ मात्र पढेर वेदका बारेमा धारणा बनाउने हो भने केही नभेटिन सक्छ तर वेदको गहिराइमा पुग्ने हो भने अथाह कुरा भएको बताइन्छ । यस्तै सनातनी हिन्दू परम्परामा देवी शक्तिको विशिष्टताबारे बुझ्न पनि गहिरो अध्ययनको आवश्यकता पर्ने देखिन्छ । हामी सबैलाई थाहा छ, सनातनी हिन्दू परम्परामा सबै देवीहरू शक्तिका स्रोत हुन् । ज्ञान र विद्याकी देवी सरस्वती, धन शक्तिकी देवी लक्ष्मी मात्र होइन अन्य विभिन्न देवीलाई फरक–फरक शक्तिका रूपमा बुझिन्छ, पुजिन्छ । अचम्म त के छ भने धन या सम्पत्तिकी शक्ति मानिएकी लक्ष्मी र विद्याकी देवी सरस्वतीबाहेक अन्य प्रायः सबै देवीहरू रगतको भोग खान्छन् । विभिन्न पर्वमा उनीहरूलाई बलि दिएर पूजा गरिन्छ र कसैले मनोकाङ्क्षा पूरा गर्नका लागि गर्ने भाकलहरूमा पनि बलि दिइन्छ । कामकाजको सिलसिलामा विभिन्न जिल्ला जाने क्रममा धेरै देवी–देवताका मन्दिरहरू गइयो, वरिपरिको वातावरण हेरियो । ती सब हेर्दा कतिपय आश्चर्यजनक कुरा भेटियो जसलाई विश्लेषण गर्दा अहिले जे भइरहेको छ ती त देवी–देवताकै पालादेखि भइरहेका रहेछन्, ती कुरालाई गहिरिएर बुझ्न र विश्लेषण गर्न मात्रै नसकिएको रहेछ भन्ने लागेको छ । हिन्दू धर्मावलम्बीहरू विश्वमै छरिएर रहेका भए पनि धेरैजसो भारत र नेपालमै छन् । मठमन्दिरहरू अन्य मुलुकमा नभएका होइनन्, तर ती पछि बनाइएका हुन् । सम्बन्धित ठाउँमै उत्पत्ति भएर सदियौंदेखि रहेका देवदेवीका मन्दिर भारतमा भन्दा शायद नेपालमै बढी होलान् । यद्यपि एउटा सत्य के पनि हो भने भारतीयहरूले विश्वभरि छरिएर रहने क्रममा विभिन्न ठाउँमा मन्दिर निर्माण नगरेका भए अहिले अन्य मुलुकका हिन्दू धर्मवालम्बीहरूले आफू जहाँ पुग्यो त्यहीँ मन्दिर देख्न र दर्शन गर्न पाउने थिएनन् । उनीहरूले मन्दिर निर्माण गरिदिएका कारण मुलुकबाहिर युरोप, अमेरिका, एसिया, अफ्रिका जहाँ पुगे पनि नेपालीहरूले विवाह, व्रतबन्धलगायतका कार्यहरू मन्दिरमा गर्न पाएका छन् ।
मन्दिर र मन्दिरमा रहने देवीदेवताको शैली (निर्जीव रूपमा बसेको मात्र देखिएकाले शायद जीवनशैलीचाहिँ भन्न मिल्दैन) हेर्दा देवी र देवताहरूबीच धेरै भिन्नता पाइन्छ । केही क्षण प्रायः पुजिने देवताहरूलाई हेरौँ– गणेश, शिव, कृष्ण, विष्णु (नारायण) राम, इन्द्र आदि । यीमध्ये गणेश र शिवको पूजा सर्वत्र गरिन्छ भने कृष्णजन्माष्टमी र रामनवमी तिथि नै छुट्याएर कृष्ण र रामको जन्म भएको दिनलाई उत्सवकै रूपमा मनाइन्छ । शिवरात्रि र गणेश चौथी पनि यस्तै पर्व हुन् । सबैले आ–आफ्ना विशेषता बोकेका यी भगवान्हरूका समान विशेषता के हुन् भने यी सबैका साथमा तिनका श्रीमतीहरू देखिन्छन् । शिवकी पार्वती, रामकी सीता, विष्णुकी लक्ष्मी आदि । तर, धेरैजसो शक्तिका स्रोत मानिएका देवीहरू भने एक्लै छन् । देवी, भगवाती र यिनका फरक–फरक रूपहरू जस्तो विन्ध्यवासिनी, बाग्लुङ कालिका, उग्र तारा (डडेलधुरा), पञ्चधुरा (महोत्तरी), पाथीभरा देवी, दक्षिणकाली, भद्रकाली, तलेजु भवानी, मैतीदेवी, नक्साल भगवती, देउनी बज्यै (सुर्खेत) बोगेश्वरीलगायतका देवीहरूलाई हेर्दा भीर, पाखा, एकान्त वा समथर जमिन जहाँ रहे पनि यी एक्लै देखिन्छन् । यसरी हेर्दा महिलाको एकल जीवन पहिल्यैदेखि रहेछ भन्न सकिन्छ । अहिले एकल महिलाबारे संस्थाहरू नै खुलेका छन्, उनीहरूका चुनौतीहरूबारे कुरा गरिन्छ तर यो कुरा त पहिला देवीहरूकै पालामा पनि थियो भनेरचाहिँ मन्दिरमा यी देवीहरू एक्लै भेटिएबाट भन्न सकिन्छ । हिन्दू धर्ममा उल्लेख भगवान्हरूको अध्ययन गर्दा ‘एकल पुरुष भगवान्’ भेट्न गाह्रो हुन्छ । कतिका धेरै श्रीमतीहरू छन् भने कतिले आफ्नी श्रीमतीको आँखा छलेर अरूसँग सम्बन्ध राखेका कहानीहरू छन् । जसलाई हिजोआज विवाहेत्तर सम्बन्ध (एक्स्ट्रा म्यारिटल अफेयर) भन्ने गरिएको छ । भगवान्हरूमा अहिलेसम्म भेटिएका एकल पुरुष हनुमानजी हुन् । बालब्रह्माचारी उनका साथ महिला कहिल्यै भएनन्, उनी राम र सीताका भक्त थिए । रामको अघिपछि लाग्ने र रामले जे भन्यो त्यही मान्ने भएकाले अहिले पनि कसैले त्यस्तै क्रियाकलाप देखाएमा यो त उसको हनुमान हो भन्ने गरिन्छ । महिलाका सवालमा पनि यही शब्द लागू गर्ने गरिएको छ । विशेषगरी राजनीतिक वृत्तमा यो शब्द चर्चित छ ।
शक्तिका हिसाबले हेर्दा श्रीमान्सँग बस्ने महिलाभन्दा एकल महिला देवीहरू शक्तिशाली देखिएका छन् र पूजा पनि तिनकै बढी हुने गरेको छ । यी देवीहरूलाई हेर्दा महिलाको एकल मात्र होइन सार्वजनिक जीवन पनि देवी–देवताकै पालादेखि थियो भन्न सकिन्छ । एकान्तमा बसेका देवीहरूको दर्शन गर्न भक्तहरूको लाम लाग्नु, तिनका वरिपरि मानिसहरू जम्मा हुनु, पूजा, आराधना आदिलाई सार्वजनिक जीवनमा उनीहरूको प्रभाव आँकलन गर्न सकिन्छ । व्यवहारमा पछि महिलाहरूलाई घरपरिवारमा सीमित गर्न खोजिए पनि हिन्दू धर्मले भने महिलाको सार्वजनिक जीवनलाई महत्व दिएको देखिन्छ । अचम्म लाग्दो कुरा त के छ भने देवताहरू र श्रीमान्सँग बसेका देवीहरू भोग खाँदैनन् (भेजिटेरियन भन्नुपर्ला) तर एकल देवीहरू प्रायः सबैले भोग खान्छन् र उनीहरू शक्तिका स्रोत मानिन्छन् । रगतसँग उनीहरूको सम्बन्ध के हो बुझ्न सकिएको छैन ।
हिजोआज विवाह नगरी केटा र केटी सँगै बस्ने चलन बढ्दो छ । विकसित मुलुकहरूमा निकै अगाडि सुरु भएको यो चलनले नेपालमा पनि प्रभाव पार्न थालेको छ । यता आफूभन्दा बढी उमेरकी केटी विवाह गर्ने चलन पनि बढ्दै गएको छ । केही वर्षअघिसम्म आफूभन्दा कम उमेरकी महिला मात्र विवाह गर्ने चलन थियो । एकैछिन् राधा र कृष्णलाई हेरौँ, राधा र कृष्णले कहिल्यै विवाह गरेनन् तर उनीहरूको नाम सधैँ सँगै जोडियो । कृष्ण मन्दिरहरूमा हेर्दा कृष्ण राधासँगै देखिन्छन् । शायद यसलाई अहिले चलेको ‘लिभिङ टुगेदर रिलेसनसिप’ भन्न सकिन्छ । स्मरणीय के छ भने उमेरमा राधा कृष्णभन्दा जेठी थिइन् । यो पनि नयाँ कुरा होइन रहेछ । हिन्दू धर्मको अर्को विशेषता के छ भने प्रकृतिमा हुने सबै कुराको पूजा गरिन्छ । वनदेवी भनेर वनको पूजा, जलदेवीका रूपमा जलको पूजा, सूर्य र चन्द्रमाको पूजा, आकाश स्वयम्को पूजा यी सबै कुराको अर्थ वातावरण जोगाउने कुरासँग सम्बन्धित छ । अहिलेको ‘ग्लोबल वार्मिङ’ वा ‘क्लाइमेट चेन्ज’सँग यी कुरालाई जोडेर हेर्न सकिन्छ, हेर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया