सहमतिको नाममा अर्कै मकसद

सहमतिको नाममा अर्कै मकसद


राजनीतिक सहमतिका लागि दलहरूबीच बैठक बाक्लिन थाले पनि सहमतिको ठोस आधार अझै बन्न सकेको छैन । आज सहमतिनजिक पुगिएको अभिव्यक्ति दिने नेताहरू भोलि सबेरै सहमतिको बाटोमा अवरोध खडा गरेको भन्दै एक–अर्काप्रति आक्रोश पोखिरहेका हुन्छन् । अर्काको मात्र दोष देख्ने प्रवृत्तिबाट कुनै दल पनि चोखो नरहेको परिवेशमा सहमतिका नाममा दलीय नेतृत्वहरूबीच बैठक जारी रहनुलाई मात्र पनि ‘उपलब्धि’ ठान्नुपर्ने अवस्था त छ, तर यथास्थितिमै चित्त बुझाउन भने अब निकै कठिन पर्नेछ ।
पछिल्ला केही दिनयता एमाओवादी अध्यक्ष प्रचण्डले अन्य दलका नेताहरूसँगको भेटघाट र छलफललाई तीव्रता दिएका छन् । उनको यस सक्रियतालाई केही हदसम्म राजनीतिक समस्या निकासको पहलकदमीका रूपमा लिन पनि सकिएला, तर शान्तिप्रक्रियामा प्रवेश गरेयताका आधा दशकभन्दा बढी अवधिमा देखिएका उनका बोली र व्यवहारका आधारमा विश्लेषण गर्नुपर्दा प्रचण्ड अझै कुटिल राजनीतिक दाउपेच प्रयोग गरी अन्य दलहरूलाई उम्कनै नसक्ने दलदलमा धसाएर एकछत्र ‘राज’ गर्ने सोच कार्यान्वयनकै लागि मरिमेटिरहेका अनुमान लगाउन सकिन्छ । यसको पछिल्लो सिकार नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालालाई बनाउने ताकमा प्रचण्ड उद्यत् रहेको काङ्ग्रेसपङ्क्तिबाट आशङ्का गर्न थालिएको छ ।
पदप्राप्तिलाई राजनीतिक अभीष्ट नबनाएका र प्रधानमन्त्री बन्ने लालसा कहिल्यै नपालेका नेताका रूपमा विश्वास गरिएका नेता सुशील कोइरालालाई प्रचण्डले प्रधानमन्त्रीको कुर्सीप्रति मोह जगाउन सफल भएको चर्चा पछिल्लो समयमा राजनीतिक वृत्तमा चल्न थालेको छ । धेरैले यसमा विश्वास गरे पनि स्वयम् कोइराला भने प्रचण्डको चालप्रति अनभिज्ञ नरहेकोमा काङ्ग्रेसवृत्त विश्वस्त छ । तथापि, सरकार र एमाओवादीको सर्वसत्तावादी कदमबाट आजित बन्न पुगेका विपक्षी राजनीतिक दलहरू आन्दोलनबाटै सरकारलाई किनारा लगाउन अग्रसर देखिएपछि एमाओवादी नेतृत्व नराम्रोसँग झस्किएको बुझिन्छ । साँच्चै विपक्षी आन्दोलन भट्टराई नेतृत्वको सरकारलाई नबढारेसम्म नथामिनेगरी अघि बढेमा त्यसबाट उत्पन्न हुनसक्ने ‘खतरा’को पूर्वाभास प्रचण्डजस्ता चतुर राजनीतिक खेलाडीलाई नहुने कुरै भएन । प्रचण्डले विपक्षी दलका शीर्ष नेतृत्वहरूसँग ‘सहमतिका लागि भेटघाट र छलफल’लाई तीव्रता दिनुको कारण पनि यहीे हो ।
भेटघाट र छलफल त वर्तमान राजनीतिक सङ्कटावस्थाबीच अपरिहार्य विषय नै हो । तर, जुन नियतबाट प्रचण्ड ‘सहमतीय बैठक’को गीत गाउँदै छन्, यसले राजनीतिक गाँठो फुकाउने नभई थप जटिल तुल्याउन सक्ने जानिफकारहरूको ठहर छ । असल नियत बोकेका र मुलुकको दुरवस्थाप्रति वास्तविक रूपमा चिन्तित व्यक्तिले समस्याको मूल गाँठोमा केन्द्रित नभई मसलेदार मुद्दा उठाएर नेताहरूलाई अलमल्याउने प्रयत्न किमार्थ गर्दैन । तर, प्रचण्ड यही गरिरहेछन् । कुनैबेला शेरबहादुर देउवालाई उकासेर काङ्ग्रेसभित्र कचिङ्गल खडा गर्न सफलप्रायः देखिएका उनी यतिबेला प्रधानमन्त्रीको बोझ बोकिदिनुपर्‍यो भन्दै सुशील कोइरालासँग ‘अनुनय’ गर्न थालेका छन् । ताजुवको कुरा त यो छ कि प्रचण्डको नाटक हेर्दा–हेर्दा आँखा टट्टाइसकेका नेताहरू पनि उनको अभिनयसँग अझै अघाएका छैनन् । अरू त अरू, जीवनभर निष्ठा, त्याग र सिद्धान्तको राजनीति गरेका मुलुकका विरलकोटीका नेता सुशील कोइरालाजस्ता व्यक्तित्वसमेत प्रचण्डको इन्द्रजालमा फस्ने पो हुन् कि भन्ने त्रास आमकाङ्ग्रेस कार्यकर्ताले पालिरहनुपरेको अवस्था छ । जसरी हुन्छ माओवादी सर्वसत्तावाद स्थापित गरेर निरङ्कुश शासन लादेरै छाड्ने प्रचण्ड–अभीष्टमा कतै लट्पटिएर नेपाली काङ्ग्रेसले समेत सहीछाप ठोक्ने अवस्था निम्तियो भने त लोकतन्त्र र मुलुककै लागि ठूलो अभिसापसिद्ध हुने छ । संविधानसभा ब्युँताएर ज्ञात–अज्ञात स्वार्थहरू सिद्ध गर्ने प्रचण्डको ‘मकसद’अन्तर्गत नै विपक्षी दलका शीर्ष नेतृत्वहरूलाई उनी लट्पट्याउने चाल चल्दै छन् । यसरी दूराग्रहपूर्ण ढङ्गमा चलखेल गरिरहेका प्रचण्डको दुर्उद्देश्य सिद्ध हुनुअगावै राष्ट्रपतिबाट ठोस कदम अपेक्षित छ । अन्यथा सहमतिको हौवा जतिसुकै चर्काए पनि त्यो सब मुलुक बर्बादीको एक प्रमुख कारकतत्व बन्नेमा शङ्का गरिरहनै पर्दैन ।