प्रदेश नं ४ का मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने

प्रदेश नं ४ का मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने


प्रदेश नं ४ को प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने कार्यसूची तय गरिदिनको लागि फागुन २० गते सचिवालयमा प्रस्ताव गरेका थिए । सोको आधारमा गत सोमबार बसेको बैठकले आज २५ गते शुक्रबारका लागि विश्वासको मत लिने कार्यसूची पास भएको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार आज दिउँसो १ बजेका लागि विश्वासको मत लिने कार्यसूची तयारी भएको छ ।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने ब्यवस्था छ ।

६० जना प्रदेशसभा सदस्य रहेको प्रदेशमा मतदानबाट गुरुङले बहुमत अर्थात ३१ मत प्राप्त गर्नुपर्नेछ । प्रदेश ४ मा एमालेको २७ र माओवादीको १२ सदस्य रहेका छन् ।

यसबाहेक कांग्रेसको ११, जनमोर्चाको ३, नयाँशक्तिको २ र १ जना स्वतन्त्र सांसद रहेका छन् ।