विनादाइजो विवाह गर्ने जोडी सम्मानित

विनादाइजो विवाह गर्ने जोडी सम्मानित



– प्रणय साह

वीरगञ्जमा दाइजो नलिई विवाह गर्ने एक जोडी सम्मानित भएका छन् । गत माघ २१ गते विवाह बन्धनमा बाँधिएका बैंक कर्मचारी वीरगञ्ज अलौका सन्देशप्रसाद कानु र शिक्षण पेशामा संलग्न चिनीमील पिपराकी चञ्चला कुमारी कानुको जोडीलाई सम्मान गरिएको हो ।

बालविवाह तथा दाइजो उन्मुलन राष्ट्रिय अभियान, नेपालले प्रशंसापत्रसहित सम्मान गरेको उक्त जोडीलाई बालविवाह तथा दाइजो उन्मुलन राष्ट्रिय अभियानका राष्ट्रिय संयोजक राजकुमार महतो, प्रादेशिक अभियान संयोजक ललनप्रसाद साह र जिल्ला संयोजक प्रकाश थारुद्वारा हस्ताक्षरित प्रशंसापत्र प्रदान गरिएको छ । तराई भेगका समाजमा दाइजो माग्ने बढ्दै विकृति भएको अवस्थामा उदाहरणीय र आदर्श विवाह गरेकोले सो जोडीलाई सम्मान गरिएको अभियानले जनाएको छ ।

सन्देशका बाबु राजशंकर प्रसाद कानुले समाजमा दाइजो विकृतिको बढेकोले त्यसको अन्त्य गर्नुपर्छ भन्दै पहिला आफैंबाट परिवर्तनको शुरुवात गर्नुपर्छ भनेर आफू र आफ्नो परिवारले एक रुपैयाँ पनि दाइजो नलिई छोराको विहे गरेको बताए । श्रीमती सुमित्रा देवीको इच्छा दाइजोबिनै छोराको विवाह गर्ने रहेकाले त्यो पूरा गरेको राजशंकरको भनाई छ ।

नवविवाहित सन्देशले पनि पहिला आफैंबाट परिवर्तनको शुरुवात गर्नुपर्छ भन्ने सन्देश दिन दाइजो नलिई विवाह गर्ने निर्णयमा पुगेको बताए । ‘दाइजोले कोही धनी भएको छैन र हुँदैन पनि, तर यो विकृति खासगरी तराई समाजमा पहिलेदेखि नै चलिआएको छ’, उनले भने ‘मुखले चाहिँदैन भन्ने तर व्यवहारमा माग्नेहरु पनि धेरै छन् । हरेक मान्छेले घरबाटै शुरुवात गर्ने हो भन्ने दाइजो समाजबाट हट्छ भन्ने लाग्छ ।’

चञ्चलाकी बुबा प्रदीप कुमारले केटा पक्षले एक रुपैयाँ पनि दाइजो नमागेको र विवाहको कुरा गर्दा एक रुपैयाँ नलिएको जानकारी दिए भने नवविवाहिता चञ्चलाले दाइजोका कारण छोरी भन्दा छोरालाई मात्र बढी प्राथमिकता दिने व्यवहार बढेको समयमा दाइजोबिनै घर भित्रिन पाउँदा खुशी लागेको बताइन् ।