‘ओहो… हवाई यात्रा गर्नेहरूले प्रत्येक दिन यसप्रकारको ह्युमिलिएसन कति खपिरहेका होलान् ?’ असोज २७ गते शनिबार काठमाडौबाट नयाँदिल्ली हुँदै गोवा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा रहेका सुरक्षाकर्मीको व्यवहारपछि धेरैबेरसम्म यो प्रश्नले मनमा ठाउँ लिइरह्यो । विमानस्थलको प्रस्थानबिन्दुबाट भित्र छिर्न लाग्दा त्यहाँ ड्युटीमा रहेका प्रहरी जवानले सोधे, ‘कहाँ जान लागेको ?’ ‘इन्डिया’ भन्ने जवाफ पछि उनले ‘किन जान लागेको ?’ विगतको अनुभवमा त्यहाँ बस्ने सुरक्षाकर्मीले साथमा टिकट छ कि छैन भनेर मात्र हेर्ने गरेकाले जवाफ दिएँ– टिकट यहाँ छ लिनुस् न । उनले ठूलै स्वरले भने, ‘केका लागि जान लाग्नुभएको पहिला भन्नुस् न ?’ ड्युटीमा रहेको सुरक्षाकर्मीलाई कार्यक्रमको एजेण्डा देखाइरहनु आवश्यक थिएन र अहिलेसम्म कुनै पनि एयरपोर्टको बाहिरी ढोकामै कसैले त्यसरी सोधेको पनि थिएन, भने, ‘हेर्नुस् म त्यसै ढिलो भइसकेको छु, मलाई अलि हतार छ ।’ त्यसपछि उनले बाहिरै रहेको कुनै काउन्टर देखाउँदै भने, ‘ऊ त्यहाँ जानुस् र आफ्नोबारेमा लेखाएर आउनुस् ।’ त्यसबीचमा केही विदेशी महिला पुरुष र नेपाली पुरुष यात्रीहरू अगाडि बढिरहेका थिए । फेरि प्रश्न दोहोर्याएँ, ‘किन?’ उनले रिसाउँदै भने, ‘महिलालाई भारत जाँदा सबै कुरा टिपाएर मात्र जाने नियम छ, तपाईं यत्तिकै जान सक्नुहुन्न, ऊ त्याहाँ जानुस् ।’ उनको जवाफले एक्कासि एक तह खस्किएको अनुभव भयो, व्यावसायिक र व्यक्तिगत जीवनको यो तहमा आएर महिला हुनुको फरक व्यवहार या भनौँ ह्युमिलिएसन महसुस गराइँदै थियो । वाइयात कुरा नगर्नुस् न जे टिप्नुपर्छ इमिग्रेसनमा टिप्लान् नि भनेर म अगाडि बढेँ । ती सुरक्षाकर्मी पछिपछि आएर अन्य सुरक्षाकर्मीलाई ‘उसलाई रोक’ भन्न थाले । त्यसैबीच एकजना महिला प्रहरी जवानले के गरेको उहाँ त यस्तो मान्छे हो भन्दै मेरो नाम लिइन् । ती प्रहरीले इन्स्पेक्टर सावलाई बोलाएर मलाई बाहिर पठाउन भने । इन्स्पेक्टर आएपछि तिनले म कसरी बाहिर विवरण नलेखाई भित्र छिरेँ भन्ने कुरा बताउँदै निकै ठूलो स्वरमा धेरैबेर बोले । त्यसबीचमा सो ढोकाबाट केही यात्रीहरू बिनाटिकेटजाँच भित्र छिरे, किनभने ढोकामा कोही छँदै थिएन । अचम्म त के भने ढोकामा ड्युटीमा रहेका प्रहरी जवान भित्र आएर अर्को यात्रीलाई दुव्यर्वहारपूर्ण ढङ्गले केही भनिरहँदा त्यहाँ रहेकी इन्स्पेक्टरले ‘चुप लाग अब म डिल गर्छु’ भनिन् न त ढोकामा कोही पनि सुरक्षाकर्मी नरहेको नै ख्याल गरिन् । यस कुराले उनको व्यावसायिकतामाथि नै प्रश्न गर्ने ठाउँ प्रसस्त छोडिरहेको थियो । ‘उहाँलाई चुप लाग भन्नुस् न’ भनेर अनुरोध गरेपछि उनले ल…ल भयो भनिन् । खास त्यहाँ मलाई किन रोकिएको थियो भन्ने कुरा थाहा पाएपछि ‘ओहो…यो हामी के गरिरहेका छौँ ?’ जस्तो लाग्यो । भारत हुँदै महिलाहरू खाडी मुलुकमा वैदेशिक रोजगारीका लागि जाने हुँदा तिनलाई रोक्नका लागि भारतको यात्रा गर्ने महिलालाई बाहिरै विवरण लेखाएर भित्र छिराउने गरिएको रहेछ । अहिले ३० वर्षमुनिका महिलाले खाडी मुलुक जान नपाउने नियम सरकारले बनाएको छ । यो नियमका कारण धेरै युवा महिला भारतीय नाका हुँदै विदेश गइरहेका छन् । संरक्षणवादी यो नीतिले महिलाको ‘मोबिलिटीको अधिकार’को हनन मात्र गरेको छैन, आफ्नै देशको एयरपोर्टमा यसप्रकारको ह्युमिलिएसनसमेत भोग्न बाध्य बनाएको छ । ‘तपाईं महिला हो त्यसकारण यसो गर्नुस्’ भन्दा समानताको अधिकार खोसिएका कारण दु:ख लाग्ने कुरा एकातिर छ भने हाम्रा सुरक्षाकर्मीको रुखो व्यवहार अर्को विषय हो जस्तो लाग्छ ।
जहाँ रहेर ड्युटी गरिरहेको भए पनि मुलुकको सुरक्षा संयन्त्रमा रहेकाहरूको नैतिक साहस सधैँ उच्च होस्, कसैले उनीहरूको काममाथि प्रश्न उठाउनु नपरोस् भन्ने मान्यता राख्ने मानिसले जब आँखैअगाडि ड्युटीमा रहेका सुरक्षाकर्मीबाट दुव्र्यवहार भएको देख्छन्, भोग्छन् त्यसले एकप्रकारको असहजपन महसुस गराउँदोरहेछ । यसअघि पनि एयरपोर्टमा रहेका सुरक्षाकर्मीले यात्रुहरूलाई पटकपटक रुखो व्यवहार गरेको भेटिएको थियो । विदेश जाने र फर्कने दुवैलाई एयरपोर्टमा अनावश्यक दु:ख दिने गरिएको छ । कहिलेकाहीँ त त्यहाँ बस्ने सुरक्षाकर्मीको बोलीचाली र व्यवहार हेर्दा आफु आफ्नै मुलुकमा छु जस्तो पनि लाग्दैन । हाम्रो देशको एयरपोर्टमाजस्तो व्यवहार शायद विश्वको कुनै पनि मुलुकको एयरपोर्टमा हँुदैन । हामी प्राय: बाहिर जाने–आउनेका लागि त्यति ठूलो कुरा नहुन सक्छ तर अध्ययन या रोजगार जे कामका लागि भए पनि लामो समयका लागि विदेश जान लाग्दा मानिसहरूमा घर र आफन्तहरूसँग छुट्टिँदाको पीडा हुन्छ । उनीहरू आफ्नै तनावमा हुन्छन् त्यस्तो बेलामा इमिग्रेसनका अन्य प्रक्रिया या सरक्षामा रहेर काम गर्नेको व्यवहारले निकै फरक पार्छ । फर्किंदा पनि त्यस्तै हो, कतिबेला आफ्नो देश पुगेर आफ्नोपनको महसुस गरुँ भन्ने सपना देख्दै मुलुक फर्किनेहरूले जब एयरपोर्टमै दुव्र्यवहार खप्नुपर्छ तब उनीहरूमाथि के गुज्रिएला अनुमान गर्न सकिन्छ । एयरपोर्टमा विदेशीहरूलाई हेलो…हेलो…भन्दै आफ्नै नागरिकलाई चाहिँ अपराधीलाई झैं जुन व्यवहार गरिन्छ यो विषयमा नेपाल प्रहरीले पुनर्विचार मात्र होइन त्यहाँ राख्ने सुरक्षाकर्मीलाई ‘यात्रुसँग गर्नुपर्ने व्यवहार’का बारेमा तालिम नै दिनुपर्ने देखिन्छ ।
उक्त दिनको सो घटनालाई लिएर दिल्ली एयरपोर्टमा हामीले निकैबेर छलफल र कुराकानी गर्यौँ । वरिष्ठ पत्रकार युवराज घिमिरे, प्रतीक प्रधान, धर्मेन्द्र झा र यो पङ्क्तिकार गोवामा हुने दक्षिण एसियाली मिडिया समिटमा भाग लिन जाँदै गर्दा बाटोमा पटकपटक यो घटनाले चर्चाको स्थान पायो । साथी प्रतीकको भनाइ रह्यो, ‘महिलाको अधिकारका नाममा संरक्षणवादी नीतिले महिलाकै स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने अधिकार खोसिइरहेको छ । र, यसो हुनुमा महिला अधिकारवादी नै दोषी छन् ।’ हुन पनि अन्तर्राष्ट्रिय एयरपोर्टमा यसप्रकारका घटना दिनमा कति हुँदा हुन्, कति महिलालाई दुव्र्यवहार गरिँदो हो अनुमान गर्न सकिन्छ । एयरपोर्टको सुरक्षा र सुरक्षाकर्मीको व्यवहारबारे पटकपटक चर्चा गरिसकेका हामीलाई गोवा पुगेपछिको एक अनौपचारिक सत्रमा भुटानका पत्रकार साथी रिन्जिन वाङचुकले तपाईंहरूको एयरपोर्टमा त देखादेखी पैसाको व्यवहार हुँदोरहेछ, अचम्मै लाग्यो भन्दै भने, ‘एकपल्ट म काठमाडौं जाँदै गर्दा मअगाडिको लाइनमा भएका भुटानीहरूले अगाडि बढ्दै ब्याग छिराएपिच्छे पुलिस र त्यहाँका कर्मचारीलाई पैसा दिए । पछि उनीहरूलाई त्यो के गरेको ? किन पैसा दिएको भनेर सोध्दा यहाँ यस्तै चलन छ, पैसाबिना केही काम हँुदैन भने ।’ नयाँदिल्लीमै धर्मेन्द्रजीले सुनाइरहनुभएको थियो, उहाँसँगसँगै जस्तो एयरपोर्ट छिरेको एक भारतीयलाई सुरक्षाकर्मीहरू भनिरहेका थिए रे, दशैँ आरहा हे, आप तो ऐसेही जारहे हो….दशैँ आउन अझै दश दिन बाँकी छ म फेरि आउँछु भन्ने जवाफ उसले दियो रे । उनीहरूको त्यो संवादबाट ऊ नियमित यात्रा गर्ने मान्छे हो र सुरक्षाकर्मीले ऊबाट पैसा लिने गरेका छन् भनेर बुझ्न गाह्रो पर्दैन । उसले केका लागि पैसा दिने गरेको थियो या छ भन्ने कुरा अर्को खोजीको विषय हो । यात्रा मात्रै गर्नेहरूलाई अनेकौँ प्रकारले सताइन्छ तर जस–जसलाई निगरानी गर्नुपर्ने हो, केराकार गर्नुपर्ने हो उनीहरू भने ठाउँठाउँमा पैसा दिँदै अगाडि बढिरहेका हुन्छन् । अन्तर्राष्ट्रिय एयरपोर्टमा गरिने यस्तो व्यवहारले नेपालको इज्जत के भइरहेको छ ? अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि कुन रूपमा विकास भइरहेको छ ? निकै सोचनीय छ ।
प्रतिक्रिया