राक्षसी प्रवृत्ति अन्त्यको कामना

राक्षसी प्रवृत्ति अन्त्यको कामना


संविधानसभा पुनस्र्थापनाको विषयलाई पुन: बहसमा उतार्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रदर्शन गरिएको भद्दा राजनीतिक ‘चटक‘ यतिबेला विशेष चर्चामा छ । मुलुकको राजनीतिक वृत्तमा ‘मदारे’झैँ देखापरेका प्रचण्डको कलाविहीन चटकमा ‘जम्हुरे’को भूमिकामा उभिन पुगेका छन् प्रधानमन्त्री बाबुराम भट्टराई । परिणामत: संविधानसभा विघटन गरेर निर्वाचन घोषणा गरेका उनीसमेत संविधानसभा पुनस्र्थापनाको प्रचण्ड–रागमा ताल दिन थालेका छन् । सत्ताको चस्कामा नजानिँदो गरी डुब्न पुगेका डा. भट्टराई यसरी प्रचण्ड–नौटङ्कीको एक हिस्सा बन्न पुग्नु कुनै आश्चर्यको विषय नहोला, तर नितान्त आत्मकेन्द्रित राजनीतिमा चुर्लम्मै डुबेका प्रचण्डको जालमा जानी–बुझीकन पनि विपक्षी दलहरू, विशेषत: काङ्ग्रेस पार्टी फस्दै गएको अनुभूति हुनुचाहिँ निश्चय नै दु:खदाश्चर्यको सन्दर्भ हो ।
त्यसो त संविधानसभा पुनस्र्थापनको सवालमा नेपाली काङ्ग्रेसभित्र तीव्र ध्रुवीकरण छ र पुनस्र्थापना हुनुपर्छ भन्ने पक्ष आजका मितिसम्म अत्यन्त कमजोर धरातलमा उभिएको प्रतीत हुन्छ । तर, कैयन काङ्ग्रेसी पूर्वसभासद् र नेतृत्वपङ्क्तिको अग्रस्थानमै रहेका एक–दुईजना नेताहरूको संविधानसभा ब्युँताउने खेलप्रतिको मोह देख्दा लाग्छ– राजनीतिक सहजीकरण या अवतरणको बाटो पहिल्याउन नसकिरहेको काङ्ग्रेस अन्तत: प्रचण्डको नौटङ्कीपूर्ण जालमा उम्कनै नसक्नेगरी फस्दै छ । दिशाविहीन बनेकोले नै हुनुपर्छ, सरकारको नेतृत्व गर्ने विषयलाई काङ्ग्रेसले अत्यन्त महत्व दिइरहेको आभास हुन्छ । एमाओवादीबाट सत्ताको चाबी हात लाग्ने कुरा मृगतृष्णाबाहेक अरू हुन होइन भन्ने ब्रह्मज्ञान खुलेका उपल्लो पङ्क्तिका काङ्ग्रेसजन पर्याप्त नभएका होइनन्, तर केही शीर्षस्थ नेता अझ पनि प्रचण्डले थालीमा राखेर सत्तारूपी उपहार प्रदान गर्छन् भन्ने भ्रममा बाँचिरहेका छन् ।
कहिले निर्वाचन त कहिले पुनस्र्थापनाको कुरा गर्दै नेपाली काङ्ग्रेस अन्योलमा रुमलिनु एमाओवादी पार्टी तथा प्रचण्डका लागि अत्यन्त सुखकारी विषय हो भने मुलुकका लागि घातक सन्दर्भ । नेपालको बिग्रँदो राजनीतिप्रति चिन्ता जताइरहेको छिमेकी भारतका नेपाल–मामला नियालिरहेका नेताहरूका अनुसार संविधानसभा पुनस्र्थापनाको मार्गतर्फ उन्मुख हुनु भनेको नेपाल र नेपालीका लागि थप दुर्दशालाई आमन्त्रण गर्नुबाहेक केही होइन । सहमतिमार्फत निर्वाचनमा जानु नै उत्तम विकल्प हो, छिमेकी शुभचिन्तकहरूको दृष्टिमा । तर, भदौ, असोज भन्दै–भन्दै सहमतिको ‘डेटलाइन’ परोक्ष तवरमा कात्तिकभरका लागि सारिएको छ । स्पष्ट छ, मौजुदा हालतमा दलहरूबीच कुनै मुद्दामा पनि सहमति बन्ने छैन । यसरी एकातिर प्रचण्डको चटकेपनले उत्कर्ष छुन थालेको अनुभूति गरिँदै छ त अर्कोतिर काङ्ग्रेस–एमालेजस्ता शक्तिहरू आफैंमा बिथोलिएका या निरीह स्वरूपमा प्रकट हुन पुगेका छन् । विपक्षीहरूको आन्दोलनको उद्घोष परिस्थितिवश ‘हावादारी’ सावित हुन पुगेको र अब भट्टराई नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार मानेर सत्तारोहण गर्ने अवस्था पनि छलिएकोले काङ्ग्र्रेस–एमालेलगायतका विपक्षी दलहरू दयनीय किसिमबाट ठगिएको हालतमा छन् । यसैगरी, राष्ट्रपतिको भूमिकाको मूर्त–चित्रण हुन नसक्दा आन्योल र आशङ्कालाई बल पुगेको छ । यस्तो परिवेशले अनिश्चितताको बादल अझ मडारिने र राजनीतिक रूपमा राष्ट्रको भविष्य थप अन्धकारतर्फ घचेटिने स्पष्ट सङ्केत गरिरहेको छ । सम्भवत: नेपालको राजनीतिक इतिहासमै यो कालखण्ड सर्वाधिक कहालीलाग्दो बन्न पुगेको छ ।
राजनीति जतिसुकै निसास्सिँदो रहे पनि नेपाली–मौलिकताअनुरूप वर्तमान दुरवस्थालाई उपेक्षा गर्दै दशैँको स्वागत गर्न आमनेपाली तम्तयार भइसकेका छन् । यस महान् चाडको अवसर पारेर दलहरूबीच सहमति, राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि शुभकामना आदानप्रदान गर्ने क्रम उत्कर्षमा छ । राक्षसी प्रवृत्तिको अन्त्यको प्रतीकका रूपमा समेत चिनिँदै आएको बडादशैँको उपलक्ष्यमा हामी पनि आमनेपालीको यही शुभेच्छाप्रति ऐक्यबद्धता जनाउँदै समस्त पाठकवर्ग, विज्ञापनदाता एवम् सुभेच्छुकहरूप्रति हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौँ । बडादशैँ–२०६९ सबैका लागि शुभ रहोस् ।