मादीको किनारै किनार

मादीको किनारै किनार


– त्रिभुवनचन्द्र वाग्ले

ठाँटीका खाँबाहरू झैँ
बाहरूका भरोसा
भत्कन थालेकाले
आफूलाई खोज्न
मादीको किनारै किनार
सपनाको लठ्ठी टेकेर
भतेरी झरेको छु म ।

आमाका पोल्टा
असारका सिरौंला बाँड्ने
माँझफाँट र नरङ्गाटार
रित्तिँदै गएको देखेर
पोल्टो भर्न आमाको
मादीको किनारै किनार
अभिलाषाको छापथोक बगेर
मुग्लान ताक्दै छु म ।

मायाका दोहरी गाउँदा
तिमी अलिकति लुकेको
म लाजले अलिकति झुकेको
जूनकिरीगैरा नाङ्गिन थालेपछि
बाठुनीलाई लुङ्गी उपहार दिन
मादीको किनारै किनार
पानीको खैँजरी बजाउँदै
भातगाउँतिर घाँटु जाँदैछु म ।

शुक्राचार्यको संस्करणमा
शिक्षा बाँड्ने सिसमटार
चुपचाप र विरक्त देखेर
मनभरि पश्चातापको घाम ओढेर
गुरुदक्षिणाको खोजीमा
मादीको किनारै किनार
व्यासशालाको तिर्खा मेटाउन
दमौलीतिर दौडँदै छु म ।

पात्रोमा खोजेर फागुन
या वैशाख र माघ
स्मृतिका तोरीखर्कका मौरीझैँ
दौंतरीको बारियाँदा नाच्न कलेस्तीमा
मादीको किनारै किनार
पानीको सुसेली गाउँदै
कोरथोको छाता ओढेर
लेकिन यसपाला आनेलाई
टिकीस र घलेक लिएर
खरबारीमा घरबारी जमाउन
मादीको किनारै किनार
टिम्के उक्लिएको छु म ।