—शिवजी श्रेष्ठ
नोभेम्बर ९ अर्थात् कात्तिक २६ गते नेपाली राजनीतिक इतिहासको अध्येताका लागि बडो महत्वपूर्ण दिन हो । अझ नेपाली काङ्गे्रसको इतिहासमा त यसको अर्थपूर्ण विशेष स्थान छ । गणेशमान सिंहको जन्मदिन, सुवर्णशमशेरको निधन (स्मृति दिवस), वि.सं. २००७ सालको क्रान्तिको सुरुआत अनि राणा–काङ्गे्रस संयुक्त मन्त्रिमण्डलको विघटन (तत्कालीन गृहमन्त्री बीपी कोइरालाले राजीनामा दिएको दिन) । तर, यी दिनहरू अब विस्तारै भुलिँदै गए– सात सालको क्रान्ति नै भुल्दै गए, त्यसको सुरुआती दिन कसले सम्झने ? वि.संं २००७ फागुन ७ मा राणाशासन ढालेको मानिए तापनि २००८ कात्तिक २६ गते अर्थात् ९ नोभेम्बर १९५१ मा अब नेपाली काङ्गे्रसबाट सरकारमा गएको नेता बीपी कोइरालाले गृहमन्त्रीबाट राजीनामा दिए, त्यही दिन मोहनशमशेर प्रधानमन्त्रीको सरकार विघटन भएर राणाशासनको निरन्तरता टुटेको हो । यसैगरी गणेशमान सिंहलाई नै भुलिसके, उनको जन्मदिन कसलाई याद हुने ? सुवर्णशमशेर त इतिहासको पानामा पुर्याइसके भने उनको स्मृति दिवस कसले याद गर्ने ?
भन्न सकिन्न– नेपाली राजनीति अनि यसका संवाहकहरू किन कृतघ्न हुन्छन् ? हजारौँ–हजार सहिद भएर वा बनाइएर पो हो कि ? जसका सन्तति जो प्रभावशाली राजनीतिमा छैनन् ती जति नै महान् अर्थात् त्याग र योगदान भए पनि विस्मृतितिर गइरहेको महसुस हुन्छ । सायद बीपी कोइरालाका सन्ततिको राजनीतिक उपस्थिति प्रभावशाली भएकोले बीपीको कहीँ न कहीँ याद गरिन्छ, गणेशमान सिंहको सन्ततिको थोर–बहुत उपस्थितिले गर्दा कमसेकम कहिलेकाहीँ सम्झिइन्छ, अन्य नेतृत्व त इतिहासको कुनै पानामा सीमित हुँदै गएका छन् । चाहे सुवर्णशमशेर हुन् वा सूर्यप्रसाद उपाध्याय, महेन्द्रविक्रम शाह हुन् वा रामनारायण सिंह, जीबी याक्थुम्बा हुन् वा पूर्णसिंह ठाकुर । सायद यी नामहरू कतिका लागि त नौला पनि, अरू त अरू यी व्यक्तित्वको रगत र बलिदान अनि पसिनाले सिँचेका नेपाली काङ्गे्रसका नेता अनि कार्यकर्ताका लागि पनि । सायद आमनेतृत्वमा रहेकाहरूले पनि यही परम्परालाई धान्दै जालान् र आफैँ पनि कालान्तरमा त्यही नियति भोग्ने होलान् ।
यसरी नै भुलिँदै गएका नेपाली काङ्गे्रसका संस्थापक कोषाध्यक्ष सुवर्णशमशेर राणाको निधन भएको पनि यही नोभेम्बर ९ तारिखमा ३५ वर्ष पुगेछ । उहाँको निधन भएको भोलिपल्ट भर्खर उपचार गराएर नेपाल फर्कंदा सीधै सुन्दरीजल जेलमा बन्दी बनाउन लगिएका बीपी कोइरालाले गणेशमान सिंहसँग भनेका थिए, ‘म बिसेक (निको) भएँ भने सबै मतभेद बिर्सेर फेरि विगतमा जस्तै तपाईंसँग काम गर्न चाहन्छु । उहाँको हिजै किन मृत्यु भयो ? उहाँले अघिल्लो दिन म नेपाल फर्केको र पुनः जेल परेको सुन्नुभएको हुनुपर्छ । त्यसपछि उहाँले सबै आशा मारेको हुनुपर्छ, सायद बाँच्ने इच्छा मरेको हो कि ?’
तिनै सुवर्णशमशेर, जो २०१७ सालको ‘सैनिक कु’ पछि भारतमा रहेर राजाविरुद्ध हतियार उठाउन थाले । बीपी, गणेशमान सिंह लामो अवधि जेलमा रहँदा खालीपनमा पार्टीको उपस्थिति देखाउँदै रहे, अझ भनौँ राजाको निरङ्कुशताविरुद्ध जवाफी कारबाही गर्दै रहे ।
तिनै सुवर्णशमशेर, जसको बारेमा एक प्रसङ्गमा गणेशमान सिंहले भनेका छन्– जब दुई काङ्गे्रस एक भएर क्रान्तिको कुरा आयो, क्रान्तिमा चाहिने साधन, स्रोत जुटाउन रकमको कुरा आयो । बीपीले २५–३० लाख भए पुग्ला भनेर भन्दा, के भन्नुभएको बीपी ? त्यतिले पनि कहीँ क्रान्ति हुन्छ, ल अहिले नै लिनोस् एक करोड, थप चाहिए अर्को एक करोडसम्म हामी
(महावीरशमशेरसहित) दिन्छौँ ।’ त्यसैले गणेशमान सिंहको मूल्याङ्कन थियो, नेपाली राष्ट्रिय काङ्गे्रसको सङ्गठन र कार्यकर्ता अनि नेपाल प्रजातन्त्र काङ्गे्रसको स्रोत साधनले क्रान्ति सफल भएको हो ।
उ.क.ज. हिरण्यशमशेरका छोरा सुवर्णशमशेर जबरा कलकत्ता विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेर आए, तब राणा प्रधानमन्त्री पद्मशमशेरले नेपाल विकास बोर्डको अध्यक्ष बनाए । त्यही नै उनको जीवनको कोसेढुङ्गा सावित भए । त्यही हैसियतमा जब उनी नेपालको प्रतिनिधित्व गर्दै सन् १९४७ मा एसियाली मुलुकहरूको सम्मेलनमा भाग लिन नयाँदिल्ली गए र महात्मा गान्धीको भाषण सुने र कलकत्ता हुँदै फर्कंदा बीपीसँग पहिलोपटक भेट भएर राजनीतिक भलाकुसारी भयो । उनको जीवनको बाटो नै परिवर्तन भयो र नेपाल प्रजातन्त्र काङ्गे्रस हुँदै मृत्युपर्यन्त नेपाली काङ्गे्रसको अविरल यात्राले निरन्तरता पाइरह्यो ।
त्यही सुवर्णशमशेर, जसले सन् १९४८ मे २०, २५ हुँदै जुन महिनामा पूर्वब्रिटिस गोर्खा सैनिक र आजाद हिन्द फौजका पूर्वलडाकु मिलाएर पूर्णसिंह ठाकुरको नेतृत्वमा जीबी याक्थुम्बासमेत भई जनमुक्ति सेना गठन गरे । जसभित्र निर्मल लामासमेत समाहित थिए, जो कालान्तरमा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेताको रूपमा परिचित भए । त्यही जनमुक्ति सेनाको आडमा सशस्त्र क्रान्ति गर्न सन् १९४८ जुलाई १६ मा कलकत्तामा नेपाल प्रजातन्त्र काङ्गे्रसको स्थापना गरे । महेन्द्रविक्रम शाहलाई अध्यक्ष बनाई स्थापना गरिएको नेपाल प्रजातन्त्र काङ्गे्रसमा पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी, निरञ्जनगोविन्द वैद्यसमेत समाहित थिए, कालान्तरमा नेपाल कम्युनिस्ट पार्टीका चार संस्थापक भए, अझ नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ त प्रजातन्त्र काङ्गे्रसका कार्यालय सचिव नै थिए ।
त्यही सुवर्णशमशेर र बीपी कोइरालाको अगुवाइमा नै नेपाली राष्ट्रिय काङ्गे्रस नेपाल प्रजातन्त्र काङ्गे्रसको एकीकरणपश्चात् दुवै पार्टीको बीचको शब्द हटाएर नेपाली काङ्गे्रसको स्थापना भयो । त्यही नेपाली काङ्गे्रसले नै जनमुक्ति सेनाको आडमा सन् १९५० नोभेम्बर ९ बाट राणाशासनविरुद्ध सशस्त्र क्रान्ति सुरु गर्यो । जसले दुई महिना सात दिन अर्थात् सन् १९५० जनवरी १६ (सिजफायर) मा आफ्नो सफलताको बाटो बनाउँदै वि.सं. २००७ फागुन ७ गते राणा–काङ्गे्रसको संयुक्त मन्त्रिमण्डल घोषणा भयो । नेपाली काङ्गे्रसको तर्फबाट पाँच र राणातर्फबाट पाँचसहित दशजनाको मन्त्रिमण्डलमा नेकाको तर्फबाट सुवर्णशमशेर अर्थमन्त्री बनाइए । पछि गणेशमान सिंहलाई निर्वाचनमा हराएर नेपाली काङ्गे्रसको पार्टी सभापतिसमेत भएका सुवर्णशमशेर २०१५ सालको आमनिर्वाचनमा तीन क्षेत्रबाट निर्वाचित भई बीपीको प्रधानमन्त्रित्वमा उपप्रधानमन्त्रीसमेत भए ।
त्यही उपप्रधानमन्त्रीकै रूपमा भारत भ्रमणमा रहँदै यता राजा महेन्द्रले ‘सैनिक कु’ गरे, उनलाई पनि आफ्नो साथमा लिने प्रयास गरे । तर, उनले भारतबाटै सशस्त्र क्रान्ति सुरु गरे । अनि विद्रोह र पार्टीको नेतृत्व गरिरहे । पछि बीपी, गणेशमान सिंह जेलबाट छुटेपछि बीपी र उनीबीचमा केही मतभेद देखिए पनि जीवनको अन्तकालमा बीपीसँग (अन्तिम भेटमा) ‘फेरि सँगै काम गर्न चाहेको’ बताउँदै बीपीको पुनः जेलगणनासँगै आफ्नो इहलीला त्याग गरे ।
इतिहासको एउटा महत्वपूर्ण कालखण्डमा महत्वपूर्ण भूमिका निर्वाह गरेका यस्ता मूर्धन्य व्यक्तित्वको ३५औँ स्मृति दिवस आएको छ । तर, राष्ट्रले अनि उनैले जन्म, पालनपोषण गरेको ऐतिहासिक पार्टीले उनलाई बिर्संदै गएको आभास हुन्छ । उनको मूल्याङ्कन, अनि त्यागको कदर हुनु जरुरी छ । नेतृत्व तथा कुनै कालखण्डमा एउटा महत्वपूर्ण त्याग, बलिदान पुर्याएको व्यक्तित्वहरूको स्मृति वा कदर उनको सन्ततिको प्रभावशाली उपस्थितिमा निर्भर पार्दै लगिने परम्परालाई वर्तमान नेतृत्वहरूले निरुत्साहित पार्दै लैजानु जरुरी छ । होइन भने वर्तमान नेतृत्वहरूले पनि आफ्ना सन्ततिलाई हेरेर भोलिको आफ्नो अवस्था अनुमान गरे हुन्छ । तसर्थ, हिजो केही गरेकाहरूको उचित सम्मान गर्ने परिपाटी आजैबाट सुरु गरे भोलि आफूले पनि केही सम्झन योग्य गरेको भए भावी पुस्ताले स्मरण गर्ने, सम्मान गर्ने अपेक्षा गर्न सकिन्छ ।
(सुवर्णशमशेरको ३५औँ स्मृति दिवसको उपलक्ष्यमा)
प्रतिक्रिया