आज राष्ट्रियसभाको पहिलो बैठक बस्दै, उपाध्यक्षको निर्वाचन चैत ४ गते गरिने

आज राष्ट्रियसभाको पहिलो बैठक बस्दै, उपाध्यक्षको निर्वाचन चैत ४ गते गरिने


आज बुधबार दिउँसो एकबजेका लागि राष्ट्रियसभाको बैठक बोलाइएको छ ।
बैठकले राष्ट्रिय सभाको अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित भएको औपचारिक घोषणा गर्ने भएको हो ।

तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि पहिलोपटक बैठक बस्न लागिएको हो । सोमबार भएको मनोनयन दर्तामा एमाले सांसद तिमिल्सिनाको मात्रै उम्मेदवारी परेको थियो ।

उता, राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आगामी चैत ४ गतेका लागि मिति तय भएको छ । राष्ट्रियसभाको अध्यक्षमा एमालेको तर्फबाट तिमिल्सिना निर्वाचित भइसकेकाले अब उपाध्यक्ष महिला हुनुपर्ने प्राव्धान रहेको छ । एमाले माओवादी केन्द्रबीचको सहमति अनुसार उपाध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएपनि सरकारमा सहभागि हुने इच्छा देखाएको संघीय समाजवादी फोरमले पनि राष्ट्रिय सभाको उपाध्यक्षमा दावी गर्दै आएको बुझिएको छ ।

कुल ५९ सदस्यीय राष्ट्रियसभामा नेकपा एमालेका २७, नेपाली कांग्रेसका १३, नेकपा माओवादी केन्द्रका १२, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका दुई–दुई जना र राष्ट्रपतिबाट मनोनित तीन जना सदस्य रहेका छन् ।