काठमाडौंमा केही समयअघि मात्र हवाईजहाजमा चरा ठोक्किएर दुर्घटना भएको घटना सेलाउन नपाउँदै गोवाको एयरपोर्टमा भएको एउटा घटना जीवनमै अविष्मरणीयमध्येको एक हुन पुग्यो । गत कात्तिक १ गते गोवामा आयोजित दक्षिण एसियाली मिडिया समिटमा भाग लिएर फर्किने क्रममा एयर इन्डियाको प्लेनमा चढेपछि सबै प्रक्रिया पूरा गरेर टेक अफ मात्रै के हुन लागेको थियो, त्यो द्रुत गतिको प्लेनमा एक्कासि अनौठो आवाजसहित आपतकालीन ब्रेक लाग्दा डरलाग्दो अनुभूति भयो । जीवनमा लामा–छोटा, आन्तरिक–अन्तर्राष्ट्रिय धेरै हवाई यात्रा गरे पनि त्यसप्रकारको अनुभूति कहिल्यै भएको थिएन । मानिसहरू यात्रा गर्दा आ–आफ्नै धुनमा हुन्छन् । हामी पनि आफ्नै धुनमा थियौँ । भ्रमण टोलीमा भएका युवराज घिमिरे, प्रतीक प्रधान र धर्मेन्द्र झामध्ये युवराज दाइ कामविशेषले एक दिन अगाडि नै फर्किसक्नुभएको थियो । करिना कपुर र सैफ अलि खानको विवाहले बलिउड तताइरहेका बेला अखबारमा जताततै उनीहरूको विवाहको चर्चा थियो । केहीछिन अघिसम्म हामी अखबारका तिनै सामग्री पढेर थप चर्चा गर्दै थियौँ । मलाई यात्रा गर्दा सबैभन्दा गाह्रो समय नै प्लेन टेक अफ र ल्यान्ड गर्दा लाग्छ । त्यसैले झ्यालको सिटमा बसेकी मैले आँखा चिम्लिएकी थिएँ, बीचमा रहनुभएका धर्मेन्द्रजी सिनेमा हेर्दै हुनुहुन्थ्यो जस्तो लाग्छ । आफ्नै गतिमा हिँडिरहेको प्लेन उड्नै लाग्दा लागेको आपतकालीन ब्रेकपछि अब प्लेन जल्छ भन्ने भयो मलाई । सुरुमा त के भएको हो थाहा नै भएन, खै किन हो मलाई त्यो प्लेन अगाडिबाट जल्छ र विस्तारै आगो हामीतिर आउँछ भन्ने लाग्यो मलाई । सामान्यतया आपतमा मानिसहरू कराउँछन्, चिच्याउँछन्, रुन्छन् यस्तै देखिएको छ, तर जब साँच्चिकै विपत्तिको महसुस हुन्छ प्रतिक्रियाविहीन भइने रहेछ भन्ने अनुभव पनि यो घटनाले गरायो । केही क्षणसम्म मानिसहरू केही पनि बोलेनन्, एकप्रकारको सन्नाटा छाएको थियो प्लेनमा । मैले यसो साथीहरूको अनुहार हेरेँ, गोरो प्रतिकजीको अनुहार नीलो देखिएको थियो, धर्मेन्द्रजी हतास देखिनुभएको थियो । केही क्षणपछिको उद्घोषणमा जहाजमा चरा ठोक्किएकाले आपतकालीन ब्रेक लगाउनुपरेको र अबको अवस्था सामान्य रहेकोले यात्रुहरूलाई नआत्तिनका लागि अनुरोध गरियो । उक्त घटनापछि करिब तीन घन्टा प्लेन ग्राउन्डेड हुँदा हामीले नयाँ जीवन पाएको महसुस गर्दै अनेक कुराकानी गर्यौँ ।
एकपल्ट यूएनडीपीको ‘संवाद’सम्बन्धी एउटा कार्यक्रममा प्रशिक्षकले एउटा प्रश्न थमाइदिएका थिए । सोधिएको थियो, ‘कुनै व्यावसायिक काम नगरी घरमा बसेको बेला तपाईं को हो ?’ खुब रमाइलो लागेको थियो यो प्रश्न । सधँै काम र एकप्रकारको दौडधुपमा रहनेहरूका लागि आफ्नोबारेमा सोच्ने अवसर पनि थियो त्यो जस्तो लाग्छ । उक्त प्रश्नमा केन्द्रित हुँदा जीवनमा आफ्नो परिचय लामै भइसकेको ठान्नेहरू पनि एक लाइनमा झरेका थिए, ‘बाबु, आमा या छोरा छोरी’ । प्रायः सबैको जवाफ उस्तै थियो, म छोराछोरीको बाबु÷आमा, बाबुआमाको छोरा÷छोरी । हामीले गर्दै आएका कामहरूलाई, पछि स्थापित गरेका परिचयलाई एकैछिन थाँती राख्दा हाम्रो संसार अन्ततः परिवारमै आएर, आफूले नजिक ठानेका र मानेका मानिसहरूबीचमै आएर रोकिने रहेछ जस्तो लागेको थियो । जहाजमा भएको घटनापछि पनि त्यही अनुभूति भयो, आफ्नो परिवार, नजिकका मानिसहरू आँखावरिपरि झल्झली आए । त्यस्तो समयमा व्यावसायिक कुराहरू गौण हुँदा रहेछन्, ता कि व्यावसायिक मानिसहरू जीवनको लामो समय व्यावसायिक गतिविधि, काम र दौडधुपमै बिताउँछन् । कर्पोरेट दुनियाँमा मानिसलाई आफ्नोबारेमा सोच्ने फुर्सद छैन न त घरपरिवारलाई दिन नै समय छ । यद्यपि कुनै समय जतिसुकै फराकिलो संसार बाँचे पनि जीवनको वास्तविकताचाहिँ फेरि पनि अत्यन्त सानो संसारमा गएर टुङ्गिन्छ ।
फर्कंदा अलि फरक अनुभूति गर्ने अवस्थाको सिर्जना भए पनि मिडिया समिट आफँैमा निकै महत्वपूर्ण थियो । विश्वमै मिडिया ‘ट्रेन्ड’मा परिवर्तन आइरहेका बेला सम्बन्धित विज्ञहरूबीचको छलफल विषयगत विश्लेषणका हिसाबले मात्र नभएर धेरै अर्थमा फलदायी हुन्छ । मिडियाले संसारमा तहल्का मचाएका धेरै घटना छन्, मिडिया अध्ययनकै आधारमा मानिसहरूले वस्तुस्थिति अध्ययन गर्नेदेखि कसैकोबारेमा धारणा बनाउने कामसमेत गर्छन् । विश्वमै यो अत्यन्त सामान्य कुरा हो । मिडिया उत्तरदायी हुनुपर्ने कुरामा विज्ञहरूको सधैँ जोड रहने कारण पनि त्यही हो । हाम्रै मुलुकमा पनि पूर्वयुवराज पारस या माओवादी अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहालको छविमा मिडियाको ठूलो हात छ । उनीहरू दुई एक–अर्कामा तुलना गर्नुपर्ने व्यक्ति होइनन् तर दुवैलाई मिडियाले सधैँ नकारात्मक रूपमा मात्र प्रस्तुत गरे । मिडियाकै कारण कति मानिस कसरी बने र कति मानिस कसरीध्वस्त भए ? यो कुरामा अनुसन्धान भए निकै रोचक तथ्यहरू बाहिर आउने निश्चित छ ।
दक्षिण एसियाली समिट भएकाले ‘मिडिया गसिप’का कुराबाट टाढा रहने कुरै भएन । ‘खासमा बेनजीरपुत्र बिलावल र हिना रब्बानीको कुरा के हो ? यसबारे कुनै फलो अप न्युज आएन, पाकिस्तानी मिडयाले यो कुरालाई कसरी लिए ?’ यो प्रश्नबाट पाकिस्तानी पत्रकार साथीहरू टाढा रहन सकेनन् । बंगलादेशी मिडियाबाट फैलिएको यो हल्ला समाचार बनेर भारतीय र नेपाली अखबारहरूमा पनि निकै छाएको थियो । पाकिस्तानकी परराष्ट्रमन्त्री हिना रब्बानी खार र बिलावलबीच प्रेम–प्रसङ्गको कुरा बाहिर आउँदा यो घटनालाई निकै अनौठो मानिएको थियो । जवाफमा पाकिस्तानी पत्रकारले भने, ‘भारतमा हाम्रा धेरै आफन्त, नातेदार र साथीहरू छन्, भेटघाट हुँदा हामी एक–अर्कामा भावविह्वल हुन्छौँ र एक–अर्काको हालखबर सोध्छौँ । तर, यसपल्ट त अचम्मै भयो, यहाँ आएदेखि जति आफन्तहरूसँग भेट भयो तिनले तिमीलाई कस्तो छ या तिम्रो परिवारलाई कस्तो छ ? भनेर सोधेनन् । उनीहरूको एउटै चासो देखियो, साँच्चि हिना रब्बानीको घटना के हो हँ ? बिलावल र उसको प्रेम साँच्चिकै हो ? तर, यो सबै गलत र उडाइएको हल्ला मात्रै भएको बताउँदै उनले भने– त्यतिबेला बिलावल र हिना दुवैजना संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा न्युयोर्कमा थिए । यो घटनालाई पाकिस्तानी मिडियाले अनावश्यक हल्लाको रूपमा लिए र अलिकति पनि महत्व दिएनन् । विभिन्न मुलुकका समाचार संस्थाहरूले बडो रोमाञ्चकारी तरिकाले समाचार बनाइरहँदा कसले के लेखे भन्ने कुरासमेत नदिई पाकिस्तानी मिडियाले उत्तरदायी भूमिका निर्वाह गरे ।
प्रतिक्रिया