पूर्वका ट्यांकर व्यवसायी तथा मजदुरहरु आन्दोलनमा उत्रिएका छन् ।
ट्यांकर व्यवसायी तथा मजदुरले पेट्रोलियम पदार्थ ढुवानी बन्द गरेका छन् । नेपाल आयल निगमले आफूहरुसँग गरेकोे सहमति कार्यान्वयन नगरेको भन्दै ट्यांकर व्यवसायी तथा मजदुरले डिजेल, पेट्रोलको ढुवानी ठप्प पारेका हुन् ।
निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ अनुसार ट्यांकरमा ‘लकिङ सिस्टम’ लागु गर्नुपर्ने व्यवस्था छ । तर, व्यवसायीले भने ‘लकिङ सिस्टम’ लागु गरेपछि इन्धनको आयतन घटीबढी हुँदाको सम्पूर्ण जिम्मा निगमले लिनुपर्ने माग गरेका थिए ।
ढुवानी ट्याङ्करबाट बाटैमा तेल चोरी हुने प्रवृत्ति मौलाएपछि त्यसलाई रोक्न निगमले लकिङ प्रणाली अवलम्बन गरेको थियो । भारतीय आयल निगमको सिलिगुढी डिपोबाट पेट्रोलियम ढुवानी हुने मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङमा चल्ने गर्ने ट्रकरट्याङ्करमा लकिङ प्रणाली लागू गरिएको थियो ।
तर, सहमतिअनुसार १५ बँुदे माग कार्यान्वयन नभएको र निगमले मनोमानि गरेपछि आन्दोलनमा उत्रिएको हुन् ।
भारतको सिलगुढीबाट झापासहित मेचीका विभिन्न पम्पहरुमा पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ट्यांकर मजदुरहरुले आन्दोलित हुँदा पम्पहरुमा पेट्रोल, डिजेल अभाव हुन थालेको छ ।
निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय प्रमुख भानु खनालका अनुसार मेची अञ्चलका झण्डै ९० प्रतिशत ट्रकरट्याङ्करमा ताला जडान छ । तर, चालकले त्यसलाई कार्यान्वयनमा ल्याउन मानिरहेका छैनन् । सरकार चालकका जायज माग सम्बोधन गर्न तयार रहेको तर असल नियतले गरिएका सुधारका प्रयासमा अवरोध सृजना गर्नु जायज नभएको निगमले जनाएको छ ।
यता, झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले लकिङ प्रणालीको विरोध गर्ने नाममा आपूर्ति अवरोध हुने अवस्था आए सरकार चुप लागेर नबस्ने चेतावनी दिएका छन । निगमका आपूर्ति तथा वितरण विभाग निर्देशक विरेन्द्र गोइतले लकिङ प्रणालीको निर्णय व्यक्तिगत नभइ निगम, बोर्ड र आपूर्ति मन्त्रालयको रहेको बताए ।
हाल मुलुकभर करिब १८ सय ट्याङ्कर छन् ।
प्रतिक्रिया