—उदयराज पाण्डे (साउदी अरबका लागि नेपाली राजदूत)
विगत २३ वर्षदेखि साउदी अरबबाट नेपाललाई कुनै सहयोग हुने नगरेकोमा यसपटक सिँचाइ, हाइड्रोपावर विकास र व्यावसायिक तालिमका निम्ति एघार अर्ब रुपैयाँको सहयोग जुटाउन सक्नुलाई साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डे आफ्नो सानो भए पनि सफलता भएको ठान्नुहुन्छ । २३ वर्षअघि साउदी अरबले बागमती सिँचाइका निम्ति ९३ करोड रुपैयाँ सहयोग उपलब्ध गराए यता कुनै सहयोग गरेको थिएन । ०१७ सालमा काठमाडौंमा जन्मनुभएका उदयराज पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट एमकम गर्नुभएको छ । ०३५/०३६ को आन्दोलनदेखि निरन्तर नेपाली राजनीतिमा सक्रिय रहँदै आउनुभएका पाण्डे ०४२ सालमा अखिल (पाँचौँ) को महासचिव बन्नुभएको थियो । प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नुभएका उहाँले एमाले विदेश विभागको सचिव, गृह मन्त्रालयको सल्लाहकार, परराष्ट्रमन्त्रीको सल्लाहकार र समाज कल्याण परिषद्को कार्यकारी निर्देशकको भूमिका पनि निर्वाह गर्नुभएको थियो । विश्व प्रजातान्त्रिक युवा सङ्घको प्रथम उपाध्यक्षका रूपमा चार वर्षसम्म हङ्गेरीमा रही काम गर्नुभएका पाण्डे विद्यार्थी कालमा खेलकुद गतिविधिमा पनि संलग्न हुनुहुन्थ्यो । भारोत्तोलनको ५६ केजी समूहमा रही प्रतिस्पर्धा गर्दा उहाँ अञ्चल प्रथम बन्नुभएको थियो । राजनीतिक जीवनमा तीनपटक गरी कुल चौध महिना जेल सजायसमेत भोग्नुभएका पाण्डे हाल साउदी अरबका लागि नेपाली राजदूत हुनुहुन्छ । उहाँसँग घटना र विचारले गरेको कुराकानीको सङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ ।
० राजदूत भएर पहिलोपटक साउदी अरब पुग्नुभयो, त्यहाँ पुग्नेबित्तिकै पहिला तपाईंको दिमागमा के स्फुरण भयो ?
– गर्मी महिना अर्थात् अगस्टको १० तारिखका दिन म त्यहाँ पुगेको थिएँ । एयरपोर्टबाट बाहिर निस्कनेबित्तिकै सर्वप्रथम त नयाँ खालको प्रचण्ड गर्मीको अनुभूति भयो । बिस्तारै दूतावासको काम सुरु गरिसकेपछि चाहिँ त्यहाँ नेपालीको थुप्रै समस्या रहेको बुझेँ । ती समस्यालाई व्यवस्थित ढङ्गले समाधान गर्नुपर्ने र त्यसका लागि दूतावासको पूरै टिमलाई कार्यविभाजन गरी जिम्मेवारी दिएर निकै मिहिनेत गर्नुपर्ने देखेँ ।
० नेपालभन्दा साउदी अरब के कुराले फरकजस्तो लाग्यो नि ?
– धेरै कुरामा भिन्नता छ । हाम्रो धर्म, संस्कृति, आर्थिक स्थिति, विकासको गति, राजनीतिक अवस्थाजस्ता कुरामा नेपालभन्दा साउदी अरब बिलकुलै फरक छ ।
० यी भिन्नताभित्र नेपालभन्दा निकै राम्रोचाहिँ के लाग्यो ?
– मुख्य कुरा योजनाबद्ध विकास गर्दै छ साउदीले । त्यो समग्र क्षेत्रलाई समेटेर उद्योगको क्षेत्र, सडकको क्षेत्र, तेल, विद्युत्, आवासलगायतका कुरामा उनीहरू अत्यन्तै योजनाबद्ध विकास गरिरहेका छन्, जसलाई हाम्रोभन्दा निकै राम्रो पक्षका रूपमा चित्रण गर्न सकिन्छ ।
० तपाईं एक गरिब मुलुकको राजदूतका रूपमा त्यहाँ पुग्नुभएको छ, साउदी संस्थापनले कसरी हेर्दारहेछन् नेपाल र नेपालीलाई ? कतै तपाईंलाई हीनताबोध हुने या उनीहरूले अलिक हेपेजस्तो अनुभूति हुने व्यवहार पाउनुभएको त छैन ?
– त्यस्तो बिलकुल महसुस भएन । हीनताबोध हुनुपर्ने कुनै कारण छैन । उनीहरूले हाम्रो महत्वलाई राम्रैसँग बुझेका छन् । हाम्रो मुलुकका ६ लाख युवाले साउदी अरबमा काम गरिरहेका छन् । त्यहाँको योजनाबद्ध विकासमा ती कामदारहरूको अत्यन्त महत्वपूर्ण योगदान रहेको छ । यो राम्ररी बुझेकाले उनीहरूले सम्मानपूर्वक नै व्यवहार गर्छन् ।
० गरिब देशको राजदूत भएकोले आफूलाई राम्रो रेस्पोन्स नगरेजस्तो महसुस गर्नुपरेन त्यसो भए ?
– कहिल्यै त्यस्तो भएन । उनीहरूको जिम्मेवार सङ्घ–संस्थाहरूसँग सम्पर्क गर्न खोज्दा सम्बन्धित निकायले मलाई अत्यन्त हार्दिकताका साथ सहयोग दिन्छन् । नेपाली कामदारलाई उनीहरूले मिहिनेती र इमानदार कामदारका रूपमा हेर्छन् ।
० तपाईंले त्यहाँ १५ महिना बिताइसक्नुभएको छ, नेपालको पक्षमा साउदीलाई आकर्षित गर्न सकँे भन्ने खालको केही काम गर्न भ्याउनुभयो कि छैन ?
– केही सकँेजस्तो नै लागेको छ । सन् १९७८ मा हाम्रो दूतावास खुलेको हो त्यहाँ, लामो समयदेखि उनीहरूको दूतावास पनि यहाँ खोल्ने प्रयत्न गर्यौँ र यही वर्ष खुल्ने तय भयो । यसका लागि साउदी अरबबाट मानिसहरू पनि नेपाल आइसकेका छन् । यसले नेपाली कामदारको भिसा लगाउन बंगलादेश जानु नपर्ने भयो, जसबाट साउदी जान चाहने नेपाली कामदारको अतिरिक्त पाँच हजार खर्च हुनबाट बच्ने भयो । राजदूतावास नै यहीँ भइसकेपछि साउदी अरबसँग अन्य धेरै विषयमा सम्बन्ध र सहकार्य गर्न सकिने भयो । आर्थिक कूटनीतिको क्षेत्रमा धेरै काम गर्नुपर्नेछ साउदी अरबसँग, यो अब सहज हुने भयो । हामीले आकर्षित गर्न सकेर नै हो उनीहरू नेपालमा ‘फुलफ्लेज्ड’ दूतावास खोल्न तयार भएका ।
० नेपालमा कतै लगानी गर्ने उत्सुकता पनि देखियो उनीहरूमा ?
– उत्सुकता छ । उनीहरू विशेषगरी नेपालको कृषि, जलविद्युत्, पर्यटन, पिउने पानीजस्ता क्षेत्रमा उनीहरू लगानी गर्न चाहन्छन् ।
० तर, यो देखिएको त छैन नि ?
– आर्थिक सहकार्य सुरु गर्नका लागि केही समय हाम्रो वर्तमान राजनीतिक सङ्क्रमण टुङ्गियोस् भन्ने चाहिरहेका छन् उनीहरू ।
० नेपाली राजनीतिलाई उनीहरूले कसरी बुझेका रहेछन्, कसरी हेर्दा रहेछन् ?
– नेपालको राजनीतिक विषयमा त्यति धेरै चासो त उनीहरूले राख्दैनन् । यहाँको दैनिक राजनीतिक घटनासँग उनीहरू अपडेट हुनसक्ने र सरोकार राख्ने कुरा पनि भएन । तर, सङ्क्रमणकालीन अवस्था टुङ्गियोस् भन्ने शुभेच्छाचाहिँ राखेका छन् उनीहरूले ।
० तपाईंको कार्यकाल अझै दुई वर्षजति बाँकी छ, बाँकी अवधिमा के–के काम गर्ने योजना बनाउनुभएको छ ?
– केही कुरा लगानीसम्बन्धी क्षेत्रमा गर्नुपर्ने देख्छु । २३ वर्षपछि बल्ल ११ अर्ब रुपैयाँ उनीहरूले नेपालमा लगानी गरे । यसको प्रतिफल नेपालमा राम्रो होस् र यसलाई क्रमश: वृद्धि गर्दै ठूलै लगानीमा पुर्याऊँ भन्ने मलाई लागेको छ । त्यस्तैगरी, साउदीमा रहेका नेपाली कामदारको तलबमा दोब्बर वृद्धि गराइयो यसपाला, अब २३ हजारभन्दा घटी कुनै पनि नेपालीले त्यहाँ तलब बुझ्नुपर्दैन । आवाससहितको न्यूनतम् तलब हो त्यो । त्यहीअनुसार तह–तह गरी अब दुई लाख ३० हजारसम्म तलब बुझ्नेछन् त्यहाँ नेपालीले । यसले जीवनस्तरमा सुधार ल्याउन निकै भरथेग गर्न सक्छ । विशेषगरी श्रमक्षेत्रलाई अझै व्यवस्थित गर्नुपर्ने देखेको छु र यसका लागि योजना बनाउँदै छु ।
० साउदीको कामदारको तलब बढाउन नेपाली राजदूतावासको पनि भूमिका हुँदोरहेछ र ?
– त्यो त राजदूतावासबाटै पहल भएर भएको हो । त्यहाँका कम्पनीहरू यति जना कामदार चाहियो भन्ने डिमान्ड बोकेर पहिले त राजदूतावासमा नै आउनुपर्छ । त्यतिबेला उनीहरूले आफ्नो कम्पनीको तलब, सुविधा र सेवा यो हो, यति हो भनेर खुलाउनुपर्ने हुन्छ । त्यसमा हजार रियालभन्दा घटीमा स्वीकृति दिन्नौँ भन्ने त हाम्रो मापदण्ड नै छ, त्यसमाथि दूतावासले नै विभिन्न कामको अध्ययन गरी ३८ क्याटागोरी तयार पारेर हामीले नेपालको श्रम विभागमा पठायौँ र श्रम मन्त्रालयबाट निर्णय भयो । त्यसको सम्पूर्ण गृहकार्य दूतावासले नै गरेको हो ।
० यसको जस तपाईंलाई नै जान्छ भनेर बुझ्नुपर्यो हामीले ?
– त्यसरी जस त मैले खोजेको छैन । यस विषयसँग सम्बन्धित सबै पक्षलाई नै जस जान्छ । हाम्रो श्रम विभाग, मन्त्रालयदेखि हामीले तोकेका कुरा फलो गरिदिने साउदी–निकायहरूलाई पनि जान्छ भन्छु म त ।
० अरू देशका कामदारहरूको तलब पनि बढ्यो कि नेपालीको मात्र बढाइयो नि ?
– हामीले त नेपालीको हकमा मात्र गर्यौँ । अरू देशका कामदारको त पहिले नै हाम्रोभन्दा बढी थियो ।
० राजदूतावासमा पुगेपछि तपाईंले मुख्य रूपमा झेल्नुपरेको समस्याचाहिँ के हो ?
– समस्या भन्नुपर्दा पुरानै केसहरू नसुल्झाएर थाती राखिदिएका फाइलहरू समस्याका रूपमा देखापरे । अर्को कुरा जुन परिमाणमा त्यहाँ केसहरू आउँछन् त्यसअनुरूप काम गर्न हामीसँग स्टाफ, भौतिक सुविधा, बजेटलगायतको कमी रह्यो । एउटा चुनौतीकै रूपमा आयो यो पक्ष । तर, बिस्तारै हामीले स्टाफ पनि थपिने, बजेट पनि वृद्धि हुने र पुराना केसहरू पनि सल्टिने स्थिति बनेको छ ।
० काम गर्ने सन्दर्भमा नेपालको ब्युरोक्र्यासीलाई त त्यति राम्रो मानिँदैन, साउदी अरबमा हाम्रो परराष्ट्र मन्त्रालयको छवि कस्तो रहेछ ?
– तुलनात्मक रूपले इफिसियन्सी नै देखिन्छ । त्यहाँका हाम्रा कर्मचारी साथीहरू प्रोफेसनल नै छन् भने परराष्ट्रका कर्मचारी सेवावधिभर त्यही मन्त्रालयमै रहने भएकोले पनि उनीहरूको ‘स्किल’ राम्रै हुने गर्दछ । त्यस अर्थमा म परराष्ट्रबाहिरबाट गएको व्यक्ति भए पनि कर्मचारी साथीहरूले समन्वयकारी ढङ्गले नै काम गरिरहनुभएको छ, मैले पाउनुपर्ने सहयोग–सद्भाव पाइरहेकै छु ।
० १५ महिनाभित्र तपाईंले त्यहाँ गरेका काममध्ये सबैभन्दा सन्तुष्टि कुन कामले दियो ?
– नेपाली कामदारको तलब वृद्धि गर्न सकेको सन्दर्भले नै मलाई अलिक बढी सन्तुष्टि दिएको छ । किनकि, १०–१२ हजारका लागि बिदेसिएर नेपाली युवाले विदेश जाँदा लागेको ऋण तिर्न पनि नसक्ने अवस्था थियो । कम्तीमा २३ हजार हुँदाखेरि त धेरै राम्रो भयो नि । यस्तै, २३ वर्षपछि फेरि नेपालमा लगानी सुरु हुनु पनि सन्तुष्टिदायक छ भने विदेशमा पीडित बन्न पुगेका नेपालीको क्षतिपूर्ति रकम यसबीचमा मैले करिब आठ करोडजति पठाइदिएँ पीडितका परिवारलाई । यस कार्यलाई अझै तीव्रता दिएर अब सन् २००१ देखिकै पीडितहरूले पाउनुपर्ने करिब ३ सय ७५ वटा फाइल छन्, यी सबै फाइल मैले टुङ्ग्याउँदा ३७–३८ करोड रुपैयाँ पीडितहरूले पाउँछन् । मलाई सन्तुष्टि त त्यतिबेला अझ मिल्छ होला ।
० साउदी अरब धनी मानिसहरू रहेको देश, तर नेपालमा पर्यटकका रूपमा त्यहाँका मानिस निकै कम मात्र देखापर्छन्, यस विषयमा केही सोच बनाउनुभएको छैन ?
– यस विषयमा पनि सोच र योजना अघि बढाएका छौँ । त्यहाँका पर्यटनसम्बन्धी काम गर्ने ११ वटा मिडियाका पत्रकारहरूको एउटा टोली बनाएर नेपाल भ्रमण गराउने योजनाका साथ निकै अघि बढिसकेको अवस्था छ । ती अगुवा साउदी पत्रकारलाई नेपाल ल्याएर माउन्टेन फ्लाइट गराउने, टाइगर टप बसाउने, पोखरा, रारा आदि घुमाउने, यस्तै अन्य पर्यटकीय स्थलको अवलोकन गराई त्यहाँका मिडियामार्फत सम्प्रेषण गराउने उद्देश्यले यसो गर्न लागिएको हो । यसको सकारात्मक प्रभाव पर्छ भन्ने लाग्छ । किनकि, साउदी नागरिक एकजना नेपाल आउनु भनेको अन्य मुलुकका १० जना भित्रिएबराबर हुन्छ । त्यति खर्चालु पर्यटकका रूपमा चिनिएका छन् उनीहरू । श्रीलङ्काले जम्मा ४–५ वर्षकै दौडानमा यस्तै मिहिनेत गरेर वार्षिक १० हजारजति साउदी अरेबियन पर्यटक देश भित्याएर अहिले प्रशस्त आम्दानी गरिरहेको छ ।
० त्यहाँ गएर यसबीच तपाईंले भोग्नुपरेको सबैभन्दा दु:खद् स्मरणचाहिँ के छ नि ?
– त्यस्ता त पटक–पटक आउँछन् । अनेक दुर्घटना हुन्छ, नेपाली कामदारको दर्दनाक मृत्यु हुन्छ । मृत्यु भएका नेपालीको शव नेपाल पठाउन सम्बन्धित कम्पनीले सहयोग गर्दैन, २–३ महिनासम्म पनि शव त्यत्तिकै अलपत्र पर्ने र हामीचाहिँ त्यहाँका विभिन्न निकायमा धाइरहेका हुन्छौँ । यस्ता कुरा ठूलो समस्याका रूपमा देखापर्छन् ।
० अन्त्यमा, नेपालले साउदी अरबबाट सिक्नुपर्ने मुख्य कुरा के छ भन्ने लाग्छ तपाईंलाई ?
– कैयन कुरा हाम्रा र उनीहरूका फरक छन् । मलाई लाग्छ– जसरी साउदी अरबले आफूसँग रहेको प्राकृतिक स्रोत पेट्रोलियम पदार्थलाई राम्रोसँग सदुपयोग गरेर मरुभूमिलाई पनि गुल्जार तुल्याउँदै विकासको तीव्र गति हासिल गरेको छ, त्यसैगरी नेपाललाई प्रकृतिले दिएको जलस्रोत, पर्यटकीय स्थलहरू, जैविक विविधता आदिलाई हामीले सदुपयोग गर्नु आवश्यक छ । यसले मुलुकलाई निकै समृद्ध तुल्याउन सक्छ ।
नयाँ निर्वाचनयता प्रचण्ड प्रधानमन्त्री बन्ने योजना छैन
—अग्निप्रसाद सापकोटा(प्रवक्ता, एनेकपा माओवादी)
० मुलुकको उल्झिएको राजनीतिमा दशैँपछि सहमतिको किरण देखापर्ने दाबी तपाईंहरू गर्नुहुन्थ्यो, दशैँ त सकियो, सहमतिको कुराचाहिँ कहाँ पुग्यो होला ?
– दशैँलगत्तै सहमति भइहाल्छ भन्ने दाबी कसैले गरे होलान्, हामीले त त्यस्तो दाबी गरेका थिएनौँ । तर, सहमतिको प्रयत्न जारी नै छ ।
० कहिलेसम्म जारी रहने हो तपाईंहरूको प्रयत्न ?
– सहमति नबनेसम्म त प्रयत्न भइरहनुपर्यो नि, होइन र ? तर, धेरै ढिला गर्नुहुन्न, रात रहे अग्राख पलाउँछ भन्ने ज्ञान छ हामीलाई ।
० तपाईंको पार्टीसँग सहमतिको रोडम्याप पनि छ कि ?
– हाम्रो पार्टीले त्यो प्रस्तुत गरिसकेको छ ।
० के हो त त्यो रोडम्याप ? एकचोटि दोहोर्याइदिनुहोस् न ।
– अहिलेसम्म प्राप्त गरेका उपलब्धिहरूलाई रक्षा गर्ने, यसका लागि छोटो समयका लागि संविधानसभा पुनस्र्थापन गर्ने र प्राप्त उपलब्धिहरूका आधारमा संविधान घोषणा गर्ने भन्ने हाम्रो पार्टीको रोडम्याप हो ।
० संविधानसभा पुनस्र्थापना केका आधारमा गर्ने नि ?
– काङ्ग्रेस–एमालेलगायत सबै दलहरू सहमत भएको विषय के छ भने संविधान निर्माणमा नब्बे प्रतिशतभन्दा बढी काम संविधानसभाबाट भइसकेको छ । यो राष्ट्रको ठूलो सम्पत्ति हो । यो सम्पत्तिको जगेर्ना गर्नु अहिले राष्ट्रको अहम् दायित्व हो । यसो गरिनु राजनीतिक दलहरूको बुद्धिमत्ता ठहरिनेछ । काङ्ग्रेस–एमालेका पनि अलिक बुद्धि र विवेक भएका नेताहरूले संविधानसभा पुनस्र्थापनाकै पक्षमा आफ्नो मत जाहेर गरेका छन् । संविधानसभा ब्युँताएर मात्र त्यो उपलब्धिको रक्षा गर्न सकिन्छ । यसलाई इन्कार गरेर एकोहोरो चुनावको रट लगाउनेहरू देश भँड्खालोमै जाओस् भनी ठान्नेहरू हुन् ।
० संविधानसभा पुनस्र्थापनाको कुरा त माओवादीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन मात्र उठाएको दाबी गरेका छन् नि काङ्ग्रेसका नेताहरूले ?
– यो काङ्ग्रेसका नेताहरूको मनोगत कुरा हो । म के स्पष्ट पार्न चाहन्छु भने नयाँ निर्वाचन नभईकन प्रचण्ड प्रधानमन्त्री बन्नुहुने छैन । यो हाम्रो पार्टीको आधिकारिक निर्णय नै हो भन्ने बुझ्नुहोस् । प्रचण्डले पनि अहिले प्रधानमन्त्री हुन चाहिरहनुभएको छैन । सहमतिको वातावरण बनाउन भूमिका खेल्नुपर्ने नेताले प्रधानमन्त्री पदका लागि पछि लाग्ने कुरै आउँदैन, त्यस्तो सोच्ने कुरै आउँदैन । संविधानसभा पुनस्र्थापनपछि पनि हाम्रै पार्टीको नेतृत्वमा सरकार बन्ने स्थिति आउँछ भने त अलरेडी बाबुराम भट्टराई प्रधानमन्त्री हुँदै हुनुहुन्छ नि ।
० तपाईं यसो भन्नुहुन्छ तर कम्युनिस्टहरूमा नैतिकता नहुने भएकोले अहिले भनेको कुरा बिर्सिएर पछि अर्कै निर्णय गर्छन् भन्ने उनीहरूको आरोप छ ?
– हलो अड्काएर गोरु चुट्ने व्यवहार गर्ने काङ्ग्रेस–एमालेका नेताहरूले नैतिकताको कुरा गर्नु पनि हास्यास्पद छ ।
० कामचलाउ सरकार देशमा कहिलेसम्म रहने, यो पनि एउटा नैतिकताको प्रश्न होइन र ?
– विपक्षीहरू चुनाव हुनै नदिने कुरा गर्छन् त हामीले के गर्ने ? काङ्ग्रेस–एमालेकै कारणले चुनाव हुन नसकेको हो । उनीहरूलाई राम्रोसँग के थाहा छ भने चुनावमा जनताले बचेखुचेको अस्तित्व पनि सखाप हुनेगरी बढारिदिनेछन् । यसैले सरकारले घोषणा गरेको चुनावको बर्खिलाप गएका हुन् उनीहरू । यस्तो अवस्थामा अर्को व्यवस्था नभएसम्म सरकारले लत्तो छोडेर बाहिरिन कसरी मिल्छ ?
० काङ्ग्रेसले त संविधानसभाको पुनस्र्थापना असान्दर्भिक भएको निचोडका साथ संविधानसभाको निर्वाचनमा जानुपर्ने निर्णय गरिसक्यो नि, अब कसरी उसलाई चुनावविरोधी भन्न मिल्छ ?
– राष्ट्रपतिलाई उचालेर सरकार हात पार्ने काङ्ग्रेसको दाउ जारी नै छ । काङ्ग्रेसले संविधानसभाबारे जे निर्णय गरे पनि सहमतिको प्रयास जारी रहेकोले अहिले नै यस्तै हुन्छ भन्न सकिन्न ।
० विपक्षीहरूले सरकारविरुद्ध आन्दोलन छेडेका छन्, प्रतिवादको तयारी के गर्दै हुनुहुन्छ तपाईंहरू ?
– आन्दोलनको प्रकृति नहेरी के प्रतिवादको कुरा गर्नु ? उहाँहरूले धेरैपटक आन्दोलनको हुँकार गरिसक्नुभएकै हो र उहाँहरूको आन्दोलनको तुक पनि देखिएकै हो । झलनाथजीको आन्दोलनको सुनामी पनि देखियो, माधवजीले आन्दोलन गरेर सरकार बढारेको पनि हेरियो । वास्तवमा जनता उहाँहरूको पक्षमा छँदै छैनन् । नेपाली जनता त पार्टीहरू मिलून् र मिलेर अहिलेसम्म प्राप्त भएका उलब्धिहरूको रक्षा गरून् भन्ने नै चाहन्छन् । बाबुरामजीको ठाउँमा रामचन्द्र या अर्को कोही आउनेबित्तिकै समस्या सबै फू: मन्तर भइहाल्ने ग्यारेन्टी कसले दिन सक्छ र ?
० जनताको यो चाहना पूरा हुन नदिएको त दलहरू र तपाईं नेताहरूले नै त हो, होइन र ?
– जनताको चाहना पूरा हुन नदिएको कस–कसले हो भन्ने कुरा नेताले भन्दा जनताले राम्रोसँग बुझेका छन् । हाम्रो पार्टीलाई त देश बर्बाद हुन लागेकोमा अत्यन्त चिन्ता छ ।
० यत्रो चिन्ता छ भने कुर्सी छोडिदिए हुन्छ नि, यत्तिका विरोध झेलेर किन टाँस्सिनुपरेको ?
– संविधानसभाबाट बनेको सरकारले कसलाई छोडिदिने भनेको ? झन् अस्तव्यस्त हालत हुन्छ भन्ने किन नबुझेका यी विपक्षी दलका नेता भन्नेहरूले ? मलाई त ताजुव लाग्छ । विकल्प तयार नभईकन सडकमा सरकार छोड्दा मुलुक त झन् अराजकतातिर जान्छ नि । विगतबाट पाठ सिक्नुपर्दैन ? विकल्प तयार नभई सरकार छोड्नु भनेको गैरजिम्मेवार र अपरिपक्वता ठहरिनेछ । राष्ट्रका लागि धोका पो हुन्छ त त्यो ।
० प्रधानमन्त्रीले राजीनामा नदिए राष्ट्रपतिले हटाउने गृहकार्य सुरु गर्दै छन् भन्ने पनि सुनिन्छ नि ?
– बिल्कुल यसो हुन सक्दैन । राष्ट्रपतिलाई प्रधानमन्त्री हटाउने अधिकार पनि छैन र उहाँ यस्तो कसरतमा हुनुहुन्छ भन्ने विश्वास पनि हामी गर्दैनौँ । राजनीतिक दलहरूको सहमतिबिना म कुनै कदम चाल्दिनँ भनेर उहाँले पटक–पटक भन्नुभएको छ । देशलाई दुर्घटनामा पुर्याउने मूर्खतापूर्ण कदम उहाँले चाल्नुहुने छैन भन्ने उहाँका अहिलेसम्मका अभिव्यक्ति र व्यवहारले दर्शाइरहेका छन् । त्यसैले राष्ट्रपतिप्रति शङ्का गरिरहनु पनि आवश्यक छैन । – ऋषि धमला
प्रतिक्रिया