प्रचण्ड र राष्ट्रपतिको पहिचान खै ?

प्रचण्ड र राष्ट्रपतिको पहिचान खै ?


—लालकृष्ण धमला
०६९ सालको चाडपर्व हेर्दै गर्दा तिज गयो, दशैँ आयो, दशैँ गयो, तिहार आयो अनि बिस्तारै तिहार पनि बिदा भयो । भाइटीकाका दिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना दिदीबहिनीबाट टीका लगाए, सुशील कोइरालाले पनि बहिनीसँग टीका लगाए, माधव नेपाल र अरूहरूले पनि टीका लगाए । हिन्दूहरूको दोस्रो ठूलो चाड मानिएको तिहारमा सबै हिन्दूहरूले भाइटीका लगाएर तिहार मनाए । सायद मुस्लिम र क्रिश्चियनहरूले टीका लगाएनन् होला, उनीहरूको रीतिरिवाजले पनि भाइटीका लगाउने कुरा भएन । यतिबेला सबै जाति र समूहले आ–आफ्नो पहिचान खोजेको छ भनेर नेताहरूले ठूलोठूलो आवाज ओकलिरहेको वर्तमान अवस्थालाई नियालेर हेरियो भने कसको रीतिरिवाज कस्तो छ भनेर बुझ्न पनि नेपाली जनतालाई सजिलो हुनेछ । सबैको रीतिरिवाज जोगाएर पहिचान दिनेगरी पहिचानसहितको जातीय राज्य बनाउने भनेर वर्तमानको ठूलो दलले बुलन्द पारेको आवाज घन्किरहँदा बुलन्द पार्नेको आफ्नै पहिचान नखुल्दाको अवस्थाले भने नेपाली जनतालाई अन्योलमा पारेको छ ।
यसपालिको भाइटीकामा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले भाइटीका लगाएनन् । पुष्पकमल दाहालको निधार खाली हुनुमा र नहुनुमा नेपाली जनतालाई घाटा–नाफा नभए पनि नेपाली जनता अन्योलमा भने पक्कै परेका हुन् । नेपाली जनताले भन्न थालेका छन्– पुष्पकमल दाहालको पहिचान के हो ? उनी क्रिश्चियन, हिन्दू, मुस्लिम, बुद्धिष्ट के हुन् त ? यो प्रश्नले यतिबेला नेपाली समाजमा कुतूहल छाएको छ । नेपालीले भन्ने गरेका छन्– पुष्पकमल दाहाल प्रचण्डकै पहिचान खोजिएन र हरायो भने अरूहरूको पहिचान कसरी खोजिएला ? अनि उनीहरूको अस्तित्व कसरी रहला ?
अब पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिचानको परिपत्र नेपाली जनतालाई दिनैपर्छ । किनकि को हुन् त प्रचण्ड ? उनको धर्म–संस्कृति के हो ? अरूहरूलाई आ–आफ्नो पहिचान खोज भनेर पहिचानसहितको सङ्घीय राज्य माग गर्न उक्साउने प्रचण्डको भने आफ्नै पहिचान नखुल्नु, त्योभन्दा अनौठो विडम्बना के होला ? कि त भने उनले अब भन्नुपर्‍यो म यी सबै धर्म, संस्कृति र पहिचानको विरोधी हुँ, म नेपालको धर्म–संस्कृति सबै ध्वस्त पार्न चाहन्छु । होइन भने अरूहरूलाई पहिचान खोज्न उकास्नेले सर्वप्रथम आफ्नो पहिचान यो हो भनेर नेपाली जनतालाई विश्वस्त पार्नैपर्छ । सायद हुनसक्छ उनी आफूलाई सबैको साझा सम्भँmदा हुन् । यदि उनी सबै धर्म, संस्कृति र नेपाली जनताको साझा व्यक्तित्व हुन् भने उनले सबै धर्म–संस्कृति त्यागेझैं एमाओवादी पार्टी त्यागेर राजनीतिबाट टाढा रहेर म नेपालीको साझा सम्पत्ति हुँ, त्यसैले मेरो जात, धर्म, संस्कृति केही छैन, म कुनै मान्ने र कुनै नमान्ने गर्दिनँ भनेर जनतालाई स्पष्टसँग भनेर सबै कुरा त्यागेर अलग बस्नुपर्‍यो, तब सबै नेपालीले भन्नेछन्– धन्य प्रचण्ड तिमी महान् हौ । यस्तो प्रक्रिया बढ्यो भने बिस्तारै प्रचण्ड विश्वविख्यात महान् व्यक्तित्व बन्नेछन् ।
पुष्पकमल दाहालको पहिचान खोजिएझैं हाम्रा महामहिम राष्ट्रपति डा. रामवरण यादवको पनि पहिचान खोज्नुपर्ने भएको छ । राष्ट्रपतिले कामचलाऊ भनिएका प्रधानमन्त्रीले साढे पाँच महिनासम्म कार्यकारी सरकारकै हैसियतमा सबै काम गर्नु अनि राष्ट्रपतिले पटकपटक यति दिनमा र उति दिनमा सहमति जुटाउनु नत्र भने म पर्खिन्नँ भन्ने चेतावनी दिनु अनि बजारमा कुको हल्ला चल्नु र त्यही हल्लाले बजार पाएको बेला प्रचण्ड हतारिएर राष्ट्रपतिनिवास पुग्नु अनि हतारिएर राष्ट्रपतिनिवास पुगेका प्रचण्डलाई होइन त्यस्तो होइन म केही गर्दिनँ भनेर राष्ट्रपतिले चित्त बुझाएर पठाउनुजस्ता पटकपटकका चेतावनी अनि परिणामशून्यले राष्ट्रपति महोदयलाई हाइड्रोजन ग्यासभन्दा हल्का बनाएको छ । यतिबेला नेपाली जनता अन्योलमा छन् । उनीहरू भन्छन्– राष्ट्रपतिको भूमिका र अधिकार के हो ? उनको पहिचान कसरी खोज्ने ? त्यसरी दिक्क भएका नेपाली जनता यतिबेला सबैको पहिचान र अस्तित्व जोगाउन सक्षम केवल २०४७ सालको संविधान मात्र भएको देख्छन् । आशा गरौँ छिट्टै २०४७ सालको संविधान पुनर्थापना भएर मुलुकले निकास देओस् ।