पञ्चाङ्गमा किन सुधार भएन ? —ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

पञ्चाङ्गमा किन सुधार भएन ? —ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’


‘ज्योतिषा नयनं चक्षु: चक्षो सूर्य अजायत,
भूत भव्यं भविष्यं च सर्व वेदत्प्रसिद्ध्यति ।
अर्थात्, ज्योतिष भनेको वेदको पनि आँखा हो, जो सूर्यले नदेखेको कुरा पनि देख्न सक्छ । वेदले यसलाई सूर्यको स्थानमा राखेको छ । प्राचीन समयमा ज्योतिष शास्त्र मात्र सबै अन्धकारको विनाश गर्ने भरपर्दो विद्या थियो भन्ने माथिको श्लोकले स्पष्ट पार्दछ । भनिएकै छ– धन र विद्याले सम्पन्न भए पनि जसले ज्योतिज्र्ञानको रहस्य जान्दैन, ऊ स्वयम्भित्र अन्धविश्वास छ, उसको जीवन निरर्थक छ । संस्कृतमा ‘गु’ शब्द अन्धकार र ‘रु’ शब्द नाश गर्ने भन्ने अर्थ लाग्दछ । यसर्थ पनि ज्योतिषका ज्ञाता, शिक्षक र अध्यापन गराउनेलाई गुरु शब्दले आदर गरिँदै आएको हो । प्राचीनकालका कविहरू महर्षि वाल्मीकि, शुक्राचार्य, वेदव्यासदेखि कालिदाससम्मले ज्योतिष शास्त्रको विशद अध्ययन गरेका थिए । ज्योतिषको ज्ञानबिना कवि वा राजाको समेत मान थिएन । यसरी मानिसको विकास क्रमसँगै ज्योतिष शास्त्रको पनि विकास भइआएको देखिन्छ । ज्योतिष शास्त्रको सम्पूर्ण आधार भनेकै प्रयोगात्मक गणित हो । गणितले ग्रहको गति, ग्रहको स्थिति वा अवस्थिति सजिलै पत्ता लगाउन सक्छ । अहिले पनि युरोपको माया सभ्यताको गणनाबारे चर्चा भइरहेको छ । ‘लङ्कोदय विघटित गज: भान गोन्को’ भन्ने सूत्र देशीय मानका लागि प्रचलित छ । लङ्काका तत्कालीन राजा रावणले निकालेको सूत्र हो यो । ग्रह लाघवं लेख्छ: ‘अल्पावशिष्टे तु कृते मयो नाम महासुर: । रहस्यं परमं पुण्यं जिज्ञासु ज्ञानमुत्तमं ।’ सत्ययुग सकिन १२१ वर्ष बाँकी रहँदा मय नामका ग्रिकका आचार्यले ज्योतिष विद्याको प्रारम्भ गरेका थिए । पछि यसलाई रावण, कुम्भकर्णजस्ता वैज्ञानिकहरूले चरमविकास गरेका थिए । यसर्थ पनि आधुनिक ज्योतिष विज्ञानको उद्गम ग्रिकमा भएको र त्यस आसपासको लङ्का देश मानाङ्क रहेको प्रमाणित हुन्छ । वेदकालीन सभ्यता पनि मेसोपोटामियाको सभ्यताबाटै विकसित थियो भन्न सकिन्छ । आजका धेरैजसो दर्शनहरूको जननी देश पनि ग्रिक नै हो । ग्रिकका यवनाचार्यलाई विश्वखगोलविद् बराहमिहिराचार्यले ‘म्लेच्छा हि: यवनास्तेषु: सम्यक् शास्त्रमिदं स्मृतं । ऋषि वत्तेऽपि पूज्यन्ते किं पुनर्दैवविद्द्विज:’ भनेर ऋषिको स्थानमा राखेका छन् । यसरी पनि ज्योतिषको उद्गम र विकास भएको देश ग्रिक नै हो भन्ने कुराको पुनर्पुष्टि हुन्छ ।
आधुनिक ज्योतिर्विज्ञानको विकास भएको लगभग दश हजार वर्ष, फारसमा आठ हजार वर्ष र भारतमा ६ हजार वर्ष भएको मानिन्छ । नेपालमा त करिब दुई सय वर्षको मात्र इतिहास होला । चौथो शताब्दीतिर बिहार पटनामा आर्य भट्ट, पाँचौँ शताब्दीतिर उज्जैनका बराहमिहिर र १२औँ शताब्दीका भाष्कराचार्य प्रकाण्ड खगोलवेत्ताका रूपमा भारत वर्षमा देखापरे । तैपनि बराहमिहिराचार्य नै सर्वप्रथम आधुनिक पञ्चाङ्गका निर्माताका रूपमा देखा पर्छन् । उनले पञ्चसिद्धान्तिका नामक ग्रन्थमा पौलिस, रोमक, वशिष्ठ, पैतामह र सूर्य सिद्धान्तसम्बन्धी व्याख्या गरेका छन् । भनिन्छ सूर्य सिद्धान्त मय नामका आचार्यले बनाएका हुन् । यसलाई नै बराहाचार्यले बढी प्रामाणिक मानेका छन् । त्यही सूर्य सिद्धान्तले मेषार्क अर्थात् वैशाख १ गतेबाट वार्षिक गणना गर्छ । सूर्य सिद्धान्तले स्पष्टाधिकारको १४औँ श्लोकमा ‘तत्तद्गतिवशान्नित्यं यथादृक्तुल्यतां ग्रहा: । प्रयान्ति तत् प्रवक्ष्यामि स्फुटिकरणमादरात्’ अर्थात् ग्रहगणना दृक्तुल्य हुनुपर्छ भनेको छ । दृक्तुल्य भन्नुको अर्थ हो जुन बिन्दुमा ग्रह गणनामा आउँछ, त्यही ठाउँमा प्रत्यक्ष देखिनुपर्छ । अहिलेको विश्वमा अनेकानेक प्रविधिहरूको विकासले ग्रहको गणनालाई सरल बनाइदिएको छ । तैपनि हाम्रो यस धरातलमा दुई प्रकारले पात्राहरूको गणना भइरहेको छ । आर्षपद्धतीय जसलाई सूर्य सिद्धान्त पनि भनिन्छ– मा परम्परागत गणितको प्रयोग भइआएको छ । जो शुद्धिको अभावले अशुद्धप्राय: बनिसकेको छ । अर्को वेधसिद्ध पात्राहरूलाई दृक्तुल्य मानिन्छ । अहिलेको भारतीय पञ्चाङ्गहरूमा दुवै पद्धति अपनाइएको पाइन्छ । ज्योतिष शिरोमणि श्री भाष्कराचार्यले पनि ‘दृग्गणितैक्य’ भनेबाट, साथै अन्य आचार्यहरूले स्पष्टाधिकारको सुरु र मध्यमाधिकारको अन्त्यमा ‘इतिमेयान्ति दक्तुल्यं । सिद्धैस्तैरिह धर्मकर्म नयसत्कार्यादिकं त्वादिशेत्’ भन्ने वाक्यले दृग्गणितलाई मात्र स्थान दिएको देखिन्छ । यो दृक्तुल्य भन्नु नै सूक्ष्म गणित हो । १९औँ शताब्दीका पं. सुधाकर द्विवेदी र केतकरले दृग्गणितलाई मात्र मान्यता दिएका छन् । बराहाचार्यले पनि ‘पूवाचार्यमतेभ्यो यद्यच्छ्र«ेष्ठं लघुस्फुटं बीजं’ तथा महाभाष्यकार सुधाकर द्विवेदीले तिथिहरू अदृश्य भएकाले सूर्य सिद्धान्त र ग्रहहरू दृश्य भएकाले आधुनिक अर्थात् वेधसिद्ध बनाइनुपर्छ भनेका छन् । वेधोपलब्धबाहेक सबै गणना अशुद्ध भएको आचार्यहरूको मतैक्यता छ । अहिले भारतमा वैङ्कटेश शताब्दी पञ्चाङ्गले यसलाई पहिलोपल्ट प्रयोगमा ल्याइदिएको छ । यसर्थ पनि दृग्गणितको महत्व सर्वाधिक रहेको प्रमाणित हुन्छ ।
नेपालमा पनि वि.सं. १९४१ देखि पञ्चाङ्ग प्रकाशित भएको पाइन्छ । श्री ३ चन्द्रशमशेरले १९६१ देखि विक्रम सम्वत् चलाएका हुन् । सूर्यका सहस्र नाममध्ये विक्रम पनि एक हो । कतिपयमा विक्रमादित्य राजाले चलाएको सम्वत् भन्ने भ्रम पनि छ । यो सम्वत् विक्रमादित्यभन्दा ४ सय २१ वर्ष पहिलेदेखि चलिआएको हो । पछि राणा सरकारले पञ्चाङ्गलाई व्यवस्थित गर्न एक समितिसमेत बनाए । त्यसमा मूल पुरोहितको अध्यक्षतामा केही गणितज्ञ राखी पञ्चाङ्ग प्रकाशित गरिएको र आज पनि त्यो परम्परा कायम छ । पञ्चाङ्ग भन्नाले बार, तिथि, नक्षत्र, योग र करणको समूह भन्ने बुझिन्छ । १९६६ मा जन्मिएका साहित्यकार टीकाराम धनञ्जयले भास्वती गणना प्रारम्भ पनि गराएका थिए । केही समय गाउँघरमा मुडे पात्रोको चलन पनि थियो । एकताका नेपालका स्वनामधन्य ज्योतिष शिरोमणि नयराज पन्तले समितिमा रहेर पात्रोलाई आधुनिक बनाउन कोसिस गर्नुभएको पनि हो तर उहाँलाई नै समितिबाट हटाइएको थियो । यसरी समितिमा गणित पढेकाहरू नभएबाट वा भूमिकाविहीन बनाइएका कारण आज नेपालमा शुद्ध पात्रोको अभाव हुन गएको छ । अहिले बजारमा देखापरेका पात्राहरू विश्वका कुनै पात्रासित मिल्दैनन् । यसपल्ट जेठ २४ गते सूर्य र शुक्र सम्मिलन भए । यस्तो सम्मिलन दुवैको डिग्री र कला बराबर भएपछि मात्र सम्भव हुन्छ । तर, समितिको पात्रोमा भने जेठ १९ को राति मात्र सूर्य र शुक्र बराबर डिग्रीमा देखिन्छ । २४ गते त झन्डै ७ डिग्री फरक पर्न आएको छ । साथै जेठ ८ गते बिहान ४:३९ मा औंसी सकिएको छ तर बिहान ५:१४ बजे सूर्यग्रहण लागेको छ । त्यस्तै, २०६६ को माघ १ गते बिहान १०:४९ मा औंसी सकिएर प्रतिपदा लाग्यो, तर सूर्यग्रहण १२:२४ बजे मात्र सुरु भयो, अर्थात् प्रतिपदामा ग्रहण लाग्न गयो । सामान्यतया ग्रहण औंसी या पूर्णिमाभित्रै लाग्नुपर्छ । यसर्थ वर्तमान पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत पात्राहरूमा गणितीय त्रुटि भएको छ । भारतमै २०६८ को भदौ १ गते बुधबार छ, नेपालमा बिहीबार बनाइएको छ, सूर्य सङ्क्रमणको सङ्क्रान्तिमा भारतभन्दा नेपाल १५ घन्टा ५० मिनेट ढिलो पारिएको छ । २०६९ मा भारतीय पात्राहरूमा जेठ ३१ को महिना छ, नेपाली पात्रामा ३२ गरिएको छ । जब कि नेपाल र भारतको समयको दूरी १५ मिनेट मात्र हो । मुहूर्त चिन्तामणि ग्रन्थले पनि सङ्क्रान्ति प्रकरणको ५ र ६ श्लोकमा १० महिनालाई आधा रातपछि भोलिपल्ट र आधा रातयता सूर्य अर्को राशिमा सङ्क्रमण भए अघिल्लो दिन १ गते हुन्छ भनेको छ । तर साउने र माघेसङ्क्रान्तिका हकमा कर्कट रेखामा सूर्य जतिखेर पुग्छ त्यो साउनेसङ्क्रान्ति र मकररेखामा घाम अस्ताएपछि सूर्य सङ्क्रमण भएमा भोलिपल्ट तथा घाम अस्ताउनुअघि सङ्क्रमण भएमा अघिल्लै दिन सङ्क्रान्ति हुन्छ भनेको छ । कर्कटरेखामा सूर्योदयअघि सूर्य सङ्क्रमण भएमा अघिल्लो दिन १ गते गर्नुपर्दा साउन ३२ र मकररेखामा घाम अस्ताएपछि भोलिपल्ट १ गते गर्नुपरेकाले २९ दिनको महिना भएको हो । यी तथ्यबाहेक अरू ३२ र २९ का महिनाहरू हुने आधार देखिँदैन । दुई सङ्क्रान्तिको अधिकतम मापन ६३ दिन ८ घन्टा मात्र मानिन्छ । तर, समितिले २०६८ को असार र साउन लगातार ३२ का महिना बनायो । तिनको मानाङ्क ६४ दिन ४ घन्टा पुर्‍याएर हाम्रा प्राचीन महर्षि र आधुनिक गणितवेत्ताहरूको समेत उपहास गरेको छ ।
पात्रोका त्रुटिविरुद्ध मैले २०६७ चैत ४ गते संस्कृति मन्त्रालय र १६ गते प्रधानमन्त्री झलनाथ खनालकहाँ निवेदन पनि गरेको थिएँ । तर, पञ्चाङ्ग सुधारतर्पm खासै चासो पनि दिइएन । नमुनाका रूपमा म स्वयम्ले आधुनिक दृक्पञ्चाङ्ग २०६८ पनि प्रकाशित गरेको थिएँ । यसका बाबजुद यस्तो अशुद्ध पात्रो चलाउनु परिरहेको छ । वास्तवमा माधव भट्टराई संस्कृत साहित्यका विद्वान् मात्र हुन्, गणितज्ञ होइनन् । यसअघिका मंगलराज जोशीले पनि भूगोलमा पीएचडी गरेका हुन् । यी सबै तथ्य थाहा हुँदाहुँदै पनि चाकडीका आधारमा उहाँहरू त्यो पदमा आसीन भइरहेको देखिन्छ । यसरी विश्वमै नभएको गणित लाद्नु र त्यस्तो हचुवा पात्रा वा समितिमा राज्यले लगानी गर्नु राज्यकोषको दुरुपयोग गर्नु मात्र हो । समितिले आजतक ग्रह वेध गरेको सुनिएको छैन । महर्षिहरू बरोबर ग्रहवेध गरिरहन्थे । अहिलेको वैज्ञानिक युगमा पनि ढाँटढुँट कम्पनी चलिरहनु राम्रो होइन । त्यसमा पनि आपूmलाई विज्ञानको पक्षधर ठान्ने कम्युनिस्टहरू सरकारमा रहँदा पात्रोसमेत शुद्ध नहुनु आश्चर्यको विषय भएको छ । आशा गरौँ, यसतर्पm सबैको ध्यान जानेछ ।