जनआक्रोश कि षड्यन्त्र ?

जनआक्रोश कि षड्यन्त्र ?


नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई सार्वजनिक स्थानमा हात हालेर बाग्लुङका पदम कुँवर यतिबेला निकै चर्चामा छन् । यसअघि कहिल्यै नाम नसुनिएका यी युवा अहिले सार्वजनिक रूपमा भीभीआईपीलाई हात उठाएका कारण थुनामा छन् र अनुसन्धान जारी छ । आफ्ना नेतामाथि हातपात गरेको आक्रोशमा माओवादीका कार्यकर्ताले घाइते बनाएका पदमको उपचार र अनुसन्धान एकैपल्ट भइरहेको छ । माओवादीले गरेको चियापानमा सहभागी हुन गएका उनले एक्कासि नेता प्रचण्डको गालामा झापड हाल्नुलाई लिएर अहिले विभिन्न क्रिया–प्रतिक्रियाहरू आइरहेका छन् । पत्रपत्रिका, रेडियो, टेलिभिजन, फेसबुकलगायतका सामाजिक सञ्जाल जताततै अहिले यही कुराको चर्चा छ, जसमा धेरैले पदम कुँवरको ‘बहादुरी’को प्रशंसा गरेका छन् । कसैलाई नराम्रो हुँदा, कोही आपत्मा पर्दा या भनौँ अरू दुखी हुँदा ‘ठिक्क पर्‍यो’ भनेर खुसी हुने नेपाली समाजका लागि यो कुनै अनौठो कुरा त होइन, तर यसपटकको प्रतिक्रिया भने यो मुलुकमा लामो समयदेखि चलिरहेको जनता झुक्याउने खेलसँग सम्बन्धित भएकाले यसलाई फरक रूपमा लिइएको छ । आफैँले आयोजना गरेको कार्यक्रममा आफ्नै कार्यकर्ताले अकस्मात् त्यस्तो व्यवहार गर्दा कुनै पनि व्यक्तिलाई ह्युमिलेसन हुनु स्वाभाविक हो । त्यसमा पनि अरूले मानिरहेका, अरूले प्राय: ज्यू–ज्यू गर्ने गरेका मानिसहरूलाई सार्वजनिक रूपमा कसैले अपशब्द बोल्यो भने या ठूलोठूलो स्वरले बोल्यो भने पनि असहज लाग्छ । प्रचण्ड हुन् या झलनाथ या सुशील कोइराला या कुनै पनि नेता पछाडि जसले जति गाली गरे पनि अगाडि नै उभिएर त्यसरी हान्ने हिम्मत यसअघि कसैले पनि गरेको थिएन । यसअघि भन्नाले यो घटना नभएर मुलुकमा यसप्रकारको बेथितिको सिर्जना हुनुअघि भन्न खोजिएको हो । यस्तै परिस्थिति त माथि उल्लिखित सबै नेताहरूले अहिले भोगिसकेका छन् । एमाले नेता झलनाथ खनालबाट सुरु भएको यो शृङ्खला सुशील कोइराला हुँदै प्रचण्डसम्म आइपुगेको छ, नजाने भोलि को–कोसम्म पुग्ने हो ।
यसबीचमा जसजसले जसलाई झापड हानेका भए पनि यसलाई व्यक्तिगतभन्दा पनि नेतृत्वलाई हानिएको प्रहारका रूपमा लिनुपर्ने हुन्छ । किनभने झलनाथलाई जाइलाग्ने देवीप्रसाद, सुशील कोइरालामाथि प्रहार गर्ने बस्नेत र प्रचण्डको गाला ताक्ने पदम कुँवर कसैले पनि यी नेताहरूको व्यक्तिगत कारणले हानेको भनेका छैनन् । उनीहरूमाथि व्यक्तिगत लाञ्छना र दुर्वचन गरेका छैनन्, त्यसैले यो व्यक्तिगत नभएर नेतृत्वमाथि गरिएको प्रहार हो । मुलुकको अहिलेको परिस्थिति र कार्यकर्तालाई केवल गोटी ठान्ने नेताहरूको चालाबाट वाक्कदिक्क भएर पोखिएको आक्रोश हो । यी तीनवटै घटनामा बाहिरका नभएर आफ्नै कार्यकर्ता संलग्न छन्, यसले आमजनता मात्र नभई आफ्नै कार्यकर्तासमेत नेतृत्वको भूमिकाप्रति असन्तुष्ट छन् भन्ने स्पष्ट हुन्छ । यी तीनवटै घटनाका प्रहारकर्तालाई के पनि थाहा थियो भने आफूले नेतालाई हात छोडेपछि आफू असुरक्षित भइनेछ, आफ्नै सहकर्मीले आफूमाथि हात छोड्नेछन् र त्यति ठूला नेतामाथि अभद्र व्यवहार गरेका कारण कारबाही हुनेछ । नेतालाई हात छोडेपछि पनि आफूलाई राम्रै गर्लान् या आफू ‘हिरो’ भइएला भनेर यिनीहरूले अवश्य नै यस्तो काम गरेका होइनन् । आफूसामु तमाम जोखिमका सम्भावना देख्दादेख्दै पनि आक्रोश सहन नसकेर यस्तो काम भएको देखिन्छ । यदि यस्ता घटना आक्रोश नभएर षड्यन्त्र या अरू केही हुन्थे भने खाली हातको सट्टा त्यहाँ हतियार या गोली पनि चल्न सक्थ्यो । साथै यी घटनाका प्रकृति हेर्दा योजनाबद्ध तवरले गरिएकाजस्ता पनि लाग्दैनन् । कहिलेकाहीँ घरपरिवारमा झगडा हुँदा कसैकसैले अति भएपछि थुकिदिने, धकेल्ने या झापड हान्ने गरेझैं यसपटकको भृकुटीमण्डप काण्ड पनि आक्रोशको परिणाम मात्रै हो भन्न सकिन्छ ।
कसैमाथि हात उठाउनु, कुटपिट गर्नु या कुनै पनि प्रकारका शारीरिक र मानसिक हिंसामा उत्रनु निश्चय नै राम्रो होइन । यसप्रकारका क्रियाकलापलाई प्रश्रय दिन पनि मिल्दैन । तर, विगतमा हाम्रो मुलुकमा जे–जे भयो त्यसले हिंसालाई नराम्रो भनेन या खराब मानिएन । फलत: आज मुलुकमा जसले जसलाई जतिबेला जे गरे पनि हुने स्थितिको सिर्जना हुन पुगेको छ । हिजोका दिनमा हात मात्र होइन लाठीदेखि बन्दुकसम्म उठाउनका लागि जनताका छोराछोरीलाई प्रेरित गरियो । र, सकेसम्म ठूलाबडालाई नै ताक्न पनि सिकाइयो । जसले राम्रो लाएको छ, मीठो खाएको छ, दुई–चार पैसा कमाएको छ, गाडी चढेको छ र राम्रो घरमा बसेको छ तिनलाई सामन्तीको संज्ञा दिँदै ‘जनकारबाही’ गर्न सिकाइयो । समयक्रममा नेताहरू पहिला उनीहरू आफँैले परिभाषित गरेको सामन्तीको जीवन जिउन थाले । तर, कार्यकर्ताको जीवनस्तर झन्झन् खस्कँदै गयो । विशेषगरी माओवादी लडाकु जसको जवानी बित्यो, पढाइ छुट्यो, आफू आन्दोलनमै या शिविरमै हुँदा कतिका बाबुआमाले छोरा/छोरीको मुख देख्न नपाई यो संसार छोडेर गए । नहुनुपर्ने धेरै कुरा उनीहरूको जीवनमा भयो तर उनीहरूलाई प्रयोग गरेर युद्ध लड्ने नेताहरू भने कहाँ पुगे भनेर हेर्नसमेत नसक्ने अवस्थाको सिर्जना भयो । द्वन्द्वपीडित, बेपत्ता नागरिक, सहिद परिवार नाम जे–जे दिए पनि सबैको अवस्था करिब उस्तैउस्तै छ । जता हेर्‍यो उतै खाली, यो पनि छैन त्यो पनि छैन, छ त उनीहरूसँग केवल निराशा छ । विगतमा जे भएको भए पनि र वर्तमानमा नेता र कार्यकर्ताबीचको खाडल जतिसुकै गहिरिए पनि मुलुकका हितमा केही काम भएका भए चित्त बुझाउने ठाउँ हुने थियो, तर यहाँ त त्यो पनि भएन । संविधानसभाका नाममा मुलुकको ढिकुटी रित्तियो तर संविधान बनेन, जनताका नाममा युद्ध गरेकाहरू सरकारमा गएपछि जनताका लागि राहतका काम होलान् भनेको महँगीले अकाश छोयो, भ्रष्टाचार रोकिएला र मुलुकले गति लेला भनेको झनै भ्रष्टाचार बढ्दै गएर संस्थागत रूप नै लिन थाल्यो । सत्ताका लागि सधैँको लुछाचँुडी… वास्तवमा विभिन्न दलका कार्यकर्ता या पूर्वलडाकुहरू मात्र नभएर सर्वसाधारण सबै नै दिक्क भइसकेका छन् । नेताहरूप्रतिको वितृष्णा बढ्दो छ । सधैँ नेताको भाषण सुनाएको र मुख देखाएको भनेर मिडियालाई सर्वसाधारणले गाली गर्न थालेका छन् । यस्तो अवस्थाको सिर्जना हुनु भनेको सामान्य कुरा होइन । यस्तो असामान्य परिस्थितिमा भएको झापडकाण्डलाई धेरै महत्व दिएर सम्बन्धित व्यक्तिलाई कारबाही प्रक्रियातिर लाग्नुभन्दा पनि यसलाई नेतृत्वका प्रति जनआक्रोशको अमर्यादित शैलीका रूपमा लिँदै आगामी दिनमा सचेत हुनुपर्ने देखिन्छ ।