बुद्धजन्म नगरीमा ‘पने यातायात’को दादागिरी

बुद्धजन्म नगरीमा ‘पने यातायात’को दादागिरी


पुनहरि बेल्बासे

पर्यटकीय नगरी लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरमा अवस्थित रही मुलुकका विभिन्न ठाउँमा यातायात सञ्चालन गर्दै आएको छ सिद्धार्थ यातायातले । नेपालको दोस्रो ठूलो ब्यापारिक मार्ग सिद्धार्थ राजमार्ग भैरहवा बुटवल खण्ड र पर्यटकीय स्थल लुम्बिनीमा यात्रुहरु आवतजावतमा सेवा गर्दै आएको सिद्धार्थयातायातले यातायातको व्यवस्था सहज ढंगले गर्दै आएको छ ।

यस क्षेत्रमै अर्को यातायात छ, पश्चिम नेपाल बस ब्यवसायी समिति, जसको सञ्जाल नेपालभर फैलिएको छ । पश्चिम नेपालको केन्द्रिय कार्यालय बुटवलमा छ, यसका कर्ताधर्ता सबै बुटवल क्षेत्रकै छन् । केही बर्षपहिले एकाधिकार रहेको बस ब्यवसायमा सुविधासम्पन्न गाडी लिएर अरु बस ब्यवसाय समितिहरु प्रतिस्पर्धामा आएपछि पश्चिम नेपालको टाउको दुख्न शुरु गरेको छ । जसको कारण विभिन्न समयमा बखेडा झिकेर रुपन्देही लगायतका जिल्लामा स्वच्छ तरिकाले बस सञ्चालन गरेका यातायातमाथि जाइलाग्ने र आफुले पनि गाडी नचलाउने र अरुलाई पनि चलाउन नदिने कार्य पश्चिम नेपालले गरेको छ ।

सिद्धार्थ यातायातले महेशपुर, तौलिहवा, कृष्णनगर, बुटवलबाट भैरहवा यात्रु आवतजावत गर्नको लागी मध्य नेपाल, कपिलबस्तु, कृष्णनगर र बुटवल यातायात सँग सहकार्य शुरु गर्यो । जसअनुसार तौलिहवादेखि भैरहवा कपिलबस्तु यातायातले बस सञ्चालनमा ल्यायो । केही दिन पहिले लुम्बिनीमा पश्चिम नेपाल यातायात र कपिलबस्तु यातायातबीच बिवाद उत्पन्न भयो र पश्चिम नेपालकोले भैरहवामा कपिलबस्तु यातायातको बस स्टाफमाथि हातपात गर्यो । दुबै यातायातका कर्मचारीलाई वडा प्रहरी कार्यालयमा मेलमिलाप गराइयो तर त्यसपछि त्यसको रिसइबी लिएर सिद्धार्थ यातायात, कपिलबस्तु यातायात र तौलिहवा यातायातलाई महजिदिया र सेमरामा अबरोध गरी भाडा खोस्ने तथा यात्रु झारेर पैदल हिँड्न बाध्य गराउने लगायतको कार्य पश्चिम नेपालले गरेको बताउँछन् सिद्धार्थ यातायातका अध्यक्ष संजिव रोक्का ।

आफुले पनि गाडी नचलाउने र हाम्रो पनि अवरोध गर्ने कार्य पश्चिम नेपाल गरेको जानकारी रोक्काले दिए । पश्चिम नेपालको दादागिरीले गर्दा लुम्बिनी क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटक धेरैलाई ग्राहो भएको र उनिहरु लुम्बिनी पुग्न भन्दा करिब २ किमी यता अलपत्र झारिएको रोक्काले बताए ।

स्वच्छ र स्वस्थ प्रतिस्पर्धा सहित एकाधिकार नभएर सबैले ब्यवसाय गर्न पाउनुपर्छ भन्ने मान्यता राख्दै भैरहवालाई जिरो पोइन्ट मानेर आफुहरुले साना तथा मझौला यातायात नाम दिएर मध्य नेपाल, कपिलबस्तु, कृष्णनगर र बुटवल यातायात सँग सहकार्य गरेर स्तरिय सेवा आफुहरुले दिन खोजेको जानकारी संजिव रोक्काले दिए । यसरी आफुहरुले स्तरीय सेवा आमसमुदायमा दिन खोज्दा पश्चिम नेपाललाई असह्य भएपछि आफुहरुलाई असहयोग गरेको जानकारी रोक्काले दिए । नेपाल प्रहरीसमक्ष विगतमा भएको सहमती कसैले कसैको गाडि नरोक्ने बिपरित गाडि रोकिएको र त्यस बारे प्रहरीलाई जानकारी गराउँदा समेत कुनै कार्वाही नभएकोमा रोक्काले आपत्ति जनाए ।