जनआक्रोशप्रति नेतृत्वको उपेक्षा

जनआक्रोशप्रति नेतृत्वको उपेक्षा


नेपाली राजनीतिको अत्यन्त निराशादायक प्रवृत्ति तथा राजनीतिक दलका नेताहरूप्रति जनता कति वितृष्ण र निराश बन्न पुगेका छन् भन्ने यथार्थ चित्रण बेलाबेलामा सार्वजनिक हुन थालेको छ । कहिले झलनाथ खनालजस्ता ‘मृदुभाषी’ नेतामाथि चड्कन वर्षन्छ त कहिले सुशील कोइरालाजस्ता ‘फकिर’ नेतामाथि कुर्सी प्रहार हुन्छ । यहाँसम्म कि आफूलाई शोषित–पीडित नेपाली जनताका ‘मसिहा’का रूपमा चित्रण गराउन रुचाउने प्रचण्डसमेत चोखो रहन सकेनन् । उनमाथि आफ्नै ‘सर्वहारा’ कार्यकर्ताबाट थप्पड प्रहार भएको छ । देशको परिस्थिति एवम् जनभावनालाई बुझ्ने र त्यसअनुरूप आफूलाई ढाल्ने सवालमा प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वहरूमा रहेको कमी–कमजोरी तथा उनीहरूको बढ्दो असफलताबाट निराश भएर नै आमजनता यसरी आक्रोशित र अराजक बन्न पुगेका हुन् । तर, दलका नेताहरूले यो वास्तविकता, यस्ता घटनाको मर्म र यसबाट उत्पन्न हुनसक्ने दुष्परिणतिलाई अझै आत्मसात् गर्न नसकेको अनुभूति हुन्छ ।
अहिलेसम्म त सार्वजनिक समारोहका बीच नेताहरू आफ्नै कार्यकर्ताको सामान्य आक्रमणको सिकार मात्र बनेका छन् । यसलाई नेताहरू कार्यकर्ताविशेषको आवेग वा असन्तुष्टि मानेर आफ्नो राजनीतिक उचाइ या छवि र गन्तव्यमा यसबाट कुनै असर नपर्ने ठान्दा हुन् । प्रचण्डमाथिको थप्पड–प्रहार घटनापछि विभिन्न दलका नेतृत्वपङ्क्तिमा रहेका नेताहरूले उक्त घटना ‘जनआक्रोश’ नभएको प्रतिक्रिया दिएबाट उनीहरूले यस प्रकरणलाई सामान्य रूपमै लिन खोजेको अनुभूति हुन्छ । झट्ट हेर्दा एक व्यक्तिको गालामा कुनै अर्को व्यक्तिले एक–दुई थप्पड मार्नु नेपाली समाजको प्रवृत्तिका हिसाबले कुनै ठूलो विषय होइन भन्न पनि सकिन्छ । तर, सुरक्षा–संवेदनशीलताको दृष्टिमा सर्वाधिक जोखिममा रहेका र अत्यन्त दर्बिलो सुरक्षाघेरामा रहँदै आएका नेता प्रचण्डमाथि भएको थप्पड–प्रहारले विशेष अर्थ राख्दछ । कुनै लहड र रहरले मात्र एक कार्यकर्ताले नेतामाथि हात उठाउने धृष्टता सामान्यतया गर्दैन । उसभित्र असन्तुष्टि, निराशा र आक्रोशको आगो थामिन नसक्नेगरी दन्किएपछि नै ज्वालामुखीका रूपमा त्यो प्रकट हुने हो । र, स्वाभाविक नै छ कि एमाओवादी नेतृत्वले जुन आश्वासन र सपना बाँडेर आमनेपाली जनताका छोराछोरीलाई द्वन्द्वको चपेटामा होमेको थियो, आज ऊ सत्तामा हुँदा उसले बाँडेका सपनाका पुलिन्दा ‘सोम शर्माको सातु’झैँ भण्डाफोर र छताछुल्ल हुन पुगेको छ । एमाओवादी शीर्ष नेतृत्वको अकर्मण्यता र विलाशी जीवनशैली देखेर उसैका इमानदार कार्यकर्तामा विष्मात र अवसादको भाव पैदा भएको छ । वर्गीय समानताको अभियानमा समान पृष्ठभूमिबाट होमिएकामध्ये आज एकथरी नवधनाढ्यका रूपमा उदाउनु र अर्को ठूलो तप्काचाहिँ सडकमै छाडिनुले झन् ठूलो वर्गीय खाडल पैदा गराएको छ । नेतृत्वको अनैतिक आडमा नाजायज लाभ उठाएर मैमत्त बनेकाहरू त नेतृत्वलाई अझै पनि देवत्वकरण गरेर देश र दुनियाँलाई भ्रमित पार्न उद्यत् नै छन्, तर वास्तविक अर्थमा देश र जनताको हित चाहने, नेपालआमालाई समृद्ध र गर्विलो स्वरूपमा देख्न चाहनेहरूका निम्ति त वर्तमान एमाओवादी नेतृत्वको रवैया आक्रोश उमार्ने नै त छ । हिजो लडाइँका क्रममा घाइते भएकाहरूको शरीरमा अझै गोली अड्किइरहेको छ, कैयन अपाहिज भएर मृत्युतुल्य कष्ट भोग्न विवश छन्, कति बेपत्ता भए र कति गल्लीका कुकुरसरह मारिए । युद्धले दिएको चोटले नेपाल राष्ट्र नै थिल्थिलिएको अवस्थामा छ । तथापि, यसका समग्र कारकतत्व मानिएकाहरूमा न कुनै पश्चात्ताप छ न त मुलुकप्रति चिन्ताभाव नै । यो सबै अत्यन्त नजिकबाट नियालिरहेका नेपाली जनता स्वतस्फूर्त रूपमा विस्फोट नभएर अरू के हुन्छ ?
प्रचण्डमाथि बज्रेको थप्पडले सिङ्गो नेपालको आहतावस्था र आक्रोशको उच्चतम् बिन्दुमा पुगेका आमनेपालीको मनोदशा प्रकट गरेको छ । यसलाई सङ्केतका रूपमा ग्रहण गरी समयमै उचित व्यवस्थापन गर्न नसके नेताहरूप्रतिको जनआक्रोशले भयानक विस्फोट निम्त्याउन सक्छ । सहमतिको राग अलाप्दै विमति र अवनतिको मार्ग अवलम्बन गरिरहेका दलीय नेतृत्वलाई समयमै चेत खुलोस्– प्रचण्डहरूमाथिको थप्पड जनआक्रोश विस्फोटनको पूर्वसङ्केत नै हो ।