कांग्रेस नेतृ सानुमायाद्धारा बालगृहलाई ४० लाख दान

कांग्रेस नेतृ सानुमायाद्धारा बालगृहलाई ४० लाख दान


लमजुङको एक बालगृहमा रु ४० लाखभन्दा बढी रकम सहयोग जुटेको छ । बेसीशहरस्थित आदर्श महिला तथा बालविकास केन्द्रद्वारा सञ्चालित बालगृहमा अक्षयकोष स्थापनार्थ सो सहयोग प्राप्त भएको हो ।

संस्थाकी अध्यक्षसमेत रहेकी कांग्रेस नेतृ सानुमाया गुरुङले रु ४० लाख ११ हजार १११ दान गरेकी छिन् । संस्थापक अध्यक्ष स्व लेखनाथ अधिकारीको पाँचाँै स्मृति दिवसको अवसरमा उनले सो रकम प्रदान गरेकी हुन् ।

गुरुङले आफूले पाएको पुख्र्यौली पेवा बिक्री गरी बालगृहमा दान गरेको बताइन् । ‘अभिभावक नभएका कुनै पनि बालबालिका बाल अधिकारबाट वञ्चित नहोऊन्’, गुरुङले भनिन्, ‘उनीहरुको पालनपोषण र शिक्षादीक्षामा बालगृहले सहयोग गर्नुपर्छ ।’ गुरुङसँगै स्थायी घर गिलुङ भई हाल पोखरा बस्ने राधादेवी घलेले रु १० हजार एकसय, बेसीशहर–८ निवासी पार्वती श्रेष्ठले स्वर्गीय श्रीमान् नन्दमान श्रेष्ठको सम्झनामा रु १० हजार १११ र हाल पोखरा बस्ने उस्ताकी वर्तामाया घलेले रु १० हजार १०० सहयोग प्रदान गरेका थिए ।

२०६० सालबाट सञ्चालन गरिएको उक्त बालगृह हाल मुट्ठीदानबाट सञ्चालनमा रहेको छ ।