समग्र फुटबलको विकासका लागि मेरुडण्ड मानिएको लिग फुटबल नेपालमा सञ्चालन हुन लागेको झन्डै ६ दशक पुग्न लागेको अवस्था छ । यो समयमा लिग फुटबलले निकै उतारचढाव भोगेकै कारणले अहिलेसम्म ३८ पटकमात्र आयोजनाको सम्भव भएको छ । यस्तो हुनुमा विभिन्न कारण भए पनि लिग फुटबलको प्रभावशालीतालाई भने सबैले आत्मसात् गरेको पाइन्छ । मुलुकको अस्थिर राजनीति र खेलकुदमा हुने राजनीतिक हस्तक्षेप र दबाबका कारणले लिग फुटबल प्रश्नचिह्नको घेरामा परेको कसैबाट छिपेको छैन । यस्तो विषम परिस्थितिमा पनि नेपालजस्तो मुलुकमा लिग फुटबलले निरन्तरता पाउनुलाई सकारात्मक रूपमा लिनुपर्छ । तर, लिग फुटबलको आयोजना र त्यसकोे उद्देश्यप्रति सम्बन्धित निकाय अखिल नेपाल फुटबल सङ्घ
(एन्फा)को हचुवा प्रवृत्ति भने उदेकलाग्दो छ । एन्फाले लिग फुटबललाई व्यवस्थित र व्यावसायिक बनाउनुभन्दा झारा टार्ने रूपमा आयोजना गर्दै आएको छ । जसले लिग फुटबल फुटबलको मेरुडण्डभन्दा पनि प्रयोगको रूपमा देखिन थालेको छ । जुन फुटबलको विकासका लागि सकारात्मक पाटो मान्न सकिँदैन ।
फुटबल आफैँमा सर्वोकृष्ट खेल हो भन्दा सायदै कसैको दुईमत होला । अझ नेपालमा पनि यो खेलले पाएको माइलेजलाई हेर्दा सर्वोत्कृष्टको सूचीमै देखिएको छ । तर, विडम्बना नेपालको सबैभन्दा लोकप्रिय खेललाई कहिल्यै पनि योजनाबद्ध र दूरदर्शी भएर सम्बन्धित निकायले अगाडि बढाउन नसकेको दृश्य हाम्रोसामु छ । यसको अर्थ प्रयास नगरिएको पक्कै होइन, प्रयास गरिएको छ, तर त्यो समयानुकूल छैन । अन्तर्राष्ट्रिय परिदृश्यमा फुटबलमा देखिने हर्कतहरूलाई आत्मसात् गर्दा अहिले पनि नेपाली फुटबल परम्परावादी नै लाग्छ । जसले गर्दा न अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन हुन सकेका छन् न नेपालले अन्तर्राष्ट्रियस्तरमा तहल्का नै मच्चाउन सकेको छ । यो तीतो सत्यलाई एन्फाले राम्रोसँग बुझे पनि समयको गतिलाई भने पकड्न असफल भएको छ । वैज्ञानिकताभन्दा निकै दूरको आफ्नो लिडेढिँपीलाई मात्र ब्रह्मास्त्रको रूपमा प्रयोग गरिरहेको छ । जुन नेपाली फुटबलको विकास र खेलाडीका लागि ‘भुत्ते खुकुरी’ सावित भएको छ । जसले फुटबललाई अधोगतितर्फ लैजाने पक्का छ । तसर्थ एन्फाले हतार र सनकमा लिग फुटबलको आयोजना गर्नुभन्दा त्यसको वास्तविकतालाई आत्मसात् गर्नु अनिवार्य भइसकेको छ ।
धनको वर्षाले सहिद स्मारक लिग अहिले चर्चित बन्न पुगेको छ । हाल सञ्चालन भइरहेको लिगमा डेढ करोडको पुरस्कार राखिएको छ । जसमा विजेताले ७५ लाख पाउनेछ । १६ क्लबको सहभागिता रहेको यो लिगको उपलब्धिबारे एन्फा मौन छ । पैसाको खोलो बगे पनि नयाँ ‘हिरो’ पाउने कुरामा एन्फा विश्वस्त हुन सकेको छैन । कुरा स्पष्ट छ, यहाँ नेपाली खेलाडीभन्दा विदेशी खेलाडी चम्किने प्राय: निश्चित छ । त्यसैले होला लिगमा प्रतिस्पर्धा गरिरहेका क्लबहरूले नेपाली खेलाडीभन्दा विदेशी खेलाडीलाई बढी महत्व दिएका छन् । एउटा क्लबले पाँचजना विदेशी खेलाडीलाई खेलाउन पाउने एन्फाको नियमअनुसार अहिले क्लबहरू स्वदेशीभन्दा विदेशी खेलाडीतर्फ आकर्षित भएका छन् । लिगमा सर्वोत्कृष्ट प्रदर्शन गर्न क्लबहरूले विदेशी खेलाडीलाई भटाभट भित्याउनुले पनि यो कुरालाई पुष्टि गरेको छ । लिगमा पाँचौँ स्थानसम्म हासिल गर्न सके क्लबहरूलाई घाटा नपर्ने भएकोले यो लिगमा विदेशी खेलाडीको भीडभाड मात्र नभई उनीहरूकै दबदबा रहने कुरामा शङ्का गर्न मिल्दैन । यसरी स्वदेशी लिगमा विदेशी खेलाडीको उपस्थितिले लिगको उत्कृष्टतामा चार चाँद लाग्ने भए पनि नेपाली खेलाडीको हरिविजोग हुनेचाहिँ लगभग पक्का छ ।
प्राय: हरेक वर्ष लिगको संरचनामा परिवर्तन गर्दै आएको एन्फाले यसपटक पनि उक्त कुरालाई दोहोर्याएको छ । गत वर्ष मात्रै सुरु गरेको राष्ट्रिय लिगको अवधारणालाई यसपटक ‘सुपर एट’मा रूपान्तरण गरेको छ । जुन यसभन्दा अगाडिको परम्परावादी शैली हो । एन्फाले आफ्नो बचाउका लागि राष्ट्रिय लिगको अवधारणा सोचेबमोजिम नभएको र जिल्लाका क्लबहरू स्तरीय नभएको कारणले यसो गर्नुपरेको बताएको छ । तर, वास्तविकता त्यसो नभई एन्फाको हचुवा र सनकको भरमा लिगको आयोजना गर्नु प्रमुख कारकतत्वभन्दा अतिसयोक्ति नहोला । जुन देशमा भौतिक पूर्वाधारको नाममा दशरथ रंगशालाबाहेक अर्को विकल्प छैन भने त्यस्तो ठाउँमा राष्ट्रिय लिगको अवधारणामा आफैँमा अव्यावहारिक हुन्छ । जसरी पनि गर्ने, जहाँ पनि गर्ने एन्फाको तानाशाही रवैया र अदूरदर्शिताले गर्दा लिगको संरचना व्यवस्थित हुन नसकेको हो । जसले गर्दा लिगको औचित्यमाथि समेत प्रश्नचिह्न खडा गरिदिएको छ भने फुटबल यथास्थितिको मारमा नराम्रोसँग रेटिन पुगेको छ । जुन नेपाली फुटबलका लागि दुर्भाग्य भएको छ । तसर्थ लिगको आयोजना अघि गरिनुपर्ने सामान्य प्रक्रियासमेत एन्फाले पालना नगरेको प्रष्ट रूपमा देखिएको छ ।
कमजोरीबाट पाठ सिक्नुको साटो ‘मेरो गोरुको बाह्रै टक्का’को रणनीतिमा एन्फा अग्रसर भएको छ । बिना भौतिक पूर्वाधार ‘खाए खा नखाए घिच’ भन्ने एन्फाको मानसिकताले गर्दा अहिले नमच्चिने पिङजस्तै बनेको छ सहिद स्मारक लिग । यसरी व्यावसायिकताको नाममा प्रत्येक वर्ष सहिद स्मारक लिग लङ्गडो बन्दै गएको छ । अब प्रश्न उठ्छ– लङ्गडो घोडालाई कहिलेसम्म दौडाउने ? बिनागन्तव्य घोडा दौडाउँदा भोलि त्यो लक्ष्यहीन भएर बीचैमा थला पर्यो भने त्यसको जिम्मेवारी कसले लिने ? एन्फाले लिगको आयोजनालाई नै सर्वोपरी ठानेको छ, तर त्यससँग प्रत्यक्ष सरोकार राख्ने व्यावसायिक कम्पनी, व्यावसायिक फुटबल क्लब र खेलाडीको भविष्यचाहिँ के हुन्छ त ? यसको विचार–विमर्श गर्नु जरुरी भइसकेको छ । एन्फा फुटबलको सम्बन्धित निकाय भए पनि बिनायोजना कसैलाई जोखिममा पार्ने काम गर्नुहुँदैन । तर, यहाँ योजनाबद्ध र दूरदर्शिताका नाममा तानाशाही प्रवृत्ति हावी हुनुले धान रोपे पनि कोदो फल्ने गरेको छ । जुन गणेश थापाले एन्फा सम्हालेपछिको फुटबलको इतिहास पल्टाउँदा स्पष्ट रूपमा थाहा पाउन सकिन्छ ।
गणेश थापाले फुटबलको विकासमा गरेको योगदानलाई कदापि बिर्सन सकिँदैन । यो सत्य हो । यसो भन्दैमा उनले फुटबलमा जे पनि गर्न मिल्छ त ? प्रश्न गम्भीर छ । विगत दुई दशकको अवधिमा थापाले फुटबलको विकासका लागि आकाश–पाताल एक गरे पनि त्योभन्दा बढी माइलेज उनले फुटबलबाट प्राप्त गरिसकेका छन् । वास्तविक रूपमा भन्नुपर्दा थापाको चुलिएको छविको अगाडि नेपाली फुटबल रंगशालाभन्दा बाहिर निस्कन सकेको छैन । यो अवधिमा फुटबलमै लागेर थापा समुद्र बनिसकेका छन् भने फुटबल नदीमै सीमित छ । आखिर किन यत्रो भिन्नता त ? प्रश्न गम्भीर बने पनि थापाको तानाशाही प्रवृत्तिको अगाडि सबै निस्तेज भएको छ । एन्फाका जिम्मेवार पदाधिकारीहरू थापाको वरिपरि पुच्छर हल्लाउन र विदेश भ्रमणका लागि थापाले फ्याँकेको हड्डीमा र्याल चुहाउनैमा व्यस्त छन् । उनीहरू फुटबलको विकासभन्दा पनि थापाकै विकासमा त्वम् शरणम् भनेर रमाइरहेका छन् । एन्फाका पदाधिकारी लुतेरूपमा प्रस्तुत भएपछि थापाले उनीहरूको वाउन्ड्री पनि तोकिदिएका छन् । जसले गर्दा उनीहरूको काम–कर्तव्य थापाको मुख ताक्ने र आफ्नो जीउ कनाउने मात्रमा सीमित भएको छ । जसको फाइदा थापाले प्रचुर रूपमा उठाउँदै फुटबललाई आफ्नो पकेटको फुटबल बनाउन सफल भएका छन् । फुटबलका सबै विकास र योजना उनको गोजीबाटै बन्ने गरेका छन् । तसर्थ यो लिग पनि थापाकै गोजीबाट निस्किएको अनपेक्षित लिगको रूपमा परिणत भएको छ । जसलाई आवरणमा हाईहाई भन्नेहरू भित्रीरूपमा बाईबाईको संज्ञा दिइरहेका छन् ।
सडकदौडको उपाधि कान्छीमायालाई
महानगरीय प्रहरी आयुक्तको कार्यालयद्वारा ‘सातौँ महानगरीय प्रहरी दिवस – २०६९’को उपलक्ष्यमा आयोजित सडक खुला दौड प्रतियोगिताको पाँच किलोमिटर दौडको उपाधि सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजूले हात पारेकी छिन् । उनले उक्त दूरी १८ मिनेट ३२:५९ सेकेन्डका साथ पूरा गरेकी थिइन् । सो दूरीको स्पर्धामा सशस्त्रकै कृष्णेश्वरी सिन्तकला र गीता खत्री क्रमश: दोस्रो र तेस्रो भए । उक्त दूरी पार गर्न सिन्तकलाले १९ मिनेट ५०:६४ सेकेन्ड र खत्रीले २० मिनेट २४:८० सेकेन्डको समय लगाएका थिए ।
रत्नपार्कस्थित महानगरीय प्रहरी आयुक्त कार्यालयबाट सुरु भएको प्रतियोगिताको पुरुष १० किलोमिटर सडकदौडमा नेपाली सेनाले आफ्नो वर्चस्व राख्यो । सेनाका कल्याण बानियाँले १० किलोमिटरको दूरी ३० मिनेट १९:३२ सेकेन्डको समयका साथ पूरा गर्दै प्रथम भए । सेनाकै लेटरसिंह खत्री ३० मिनेट २१:९६ सेकेन्डको समय निकाल्दै दोस्रो भए भने कृष्ण बस्नेत ३० मिनेट २९:६० सेकेन्डका साथ तेस्रो भए ।
प्रतियोगिताअन्तर्गत भेट्रान्सको पाँच किलोमिटर सडकदौडको उपाधि भने काठमाडौका खेलाडीहरूको हकमा गयो । उक्त स्पर्धामा काठमाडौंका रामकृष्ण महर्जन १८ मिनेट ३०:६४ सेकेन्डका साथ प्रथम, काठमाडांैकै महेन्द्रमान महर्जन १८ मिनेट ४९:२२ सेकेन्डका साथ दोस्रो र काठमाडौंकै बुद्धवीर लामा २० मिनेट ४६:५० सेकेन्डका साथ तेस्रो भए । प्रतियोगिताको प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले उद्घाटन गरेका थिए । प्रतियोगितामा महिलातर्फ ३३, पुरुष तर्फ एक सय ४८ र भेट्रान्सतर्फ २० खेलाडीको सहभागिता रहेको थियो ।
रूपक र विशाखा विजयी
प्रथम मिनी म्याराथनको छात्रमा रूपक भट्ट र छात्रामा विशाखा अवाले पहिलो भएका छन् । पाँच किलोमिटरको प्रतिस्पर्धामा रूपकले २० मिनेट ११ सेकेन्ड तथा विशाखाले २८ मिनेट ३६ सेकेन्ड समय खर्चेका थिए । छात्रतर्फ २० मिनेट २६ सेकेन्डमा सुप्रद्धित्त शाह दोस्रो तथा २० मिनेट ४० सेकेन्डमा ब्रम्मी अधिकारी तेस्रो भए । छात्रामा रितिका भरी दोस्रो तथा प्रमोदिता थपलिया तेस्रो स्थानमा रहे । निर्धारित दूरी रितिकाले २८ मिनेट ४० सेकेन्ड तथा प्रमोदिताले २८ मिनेट ४९ सेकेन्डमा पूरा गरे । भगवतीवाहलस्थित मल्पी सिटी स्कुलद्वारा आयोजित आन्तरिक प्रतियोगितामा ४० छात्र र २८ छात्रा गरी जम्मा ६८ प्रतिस्पर्धी सहभागी थिए । म्याराथनको मल्पीकी प्रिन्सिपल अनिता मल्लले उद्घाटन गरेकी थिइन् । मल्लले आगामी वर्षमा पनि मिनी म्याराथनलाई निरन्तरता दिने बताउँदै मङ्सिर १६ गते मल्पीको वार्षिक खेलकुद दिवस हुने मल्लले जानकारी गराइन् ।
महासचिव बोहरा बैंककतर्फ
एसियन विश्वविद्यालय खेलकुद महासङ्घको सातौँ वार्षिक साधारणसभामा भाग लिन विश्वविद्यालय खेलकुद सङ्घ नेपालका महासचिव पूर्णसिंह बोहरा सोमबार थाइल्याण्ड प्रस्थान गरेका छन् । यही २७ देखि २९ तारिखसम्म एसियन विश्वविद्यालय खेलकुद महासङ्घको साधारणसभा थाइल्याण्डको चाअममा बस्न लागेको छ । एसियाली राष्ट्रका विश्वविद्यालयमा खेलकुदको विकासका लागि कार्य गर्ने र नयाँ सहयोगका लागि राष्ट्रहरूको चयन गर्ने तयारीस्वरूप सो साधारणसभा हुन लागेको हो । जसको सदस्य नेपालको विश्वविद्यालय खेलकुद सङ्घ पनि हो । साधारणसभामा नेपालका तर्फबाट आउँदो चैतमा नेपालमा हुन लागेको विश्वविद्यालय खेलकुद महोत्सवका लागि प्रस्ताव राख्नुका साथै सहयोगका लागि अपिल गर्ने महासचिव बोहराले जनाए । नेपालमा आउँदो चैतमा विश्वविद्यालय खेलकुद महोत्सव गर्ने तयारी भएको छ जसमा तेक्वान्दो, कराते, जुडो, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, फुटबल, भलिबल, बास्केटबल र क्रिकेटको आयोजना हुन लागेको र सो प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सहभागिता जनाउने बोहराले जानकारी दिए । उनले सो प्रतियोगिताका लागि साधारणसभामा विभिन्न राष्ट्रलाई समेत आमन्त्रण गरिने जनाए ।
एथलेटिक्स सङ्घद्वारा खेलाडीलाई रकम प्रदान
गत फागुनमा सम्पन्न भएको छैटौँ राष्ट्रिय खेलकुद तथा ३७औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताका स्वर्ण पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्द्वारा प्रदान गरिएको रकम हालै नेपाल एमेच्योर एथलेटिक्स सङ्घद्वारा प्रदान गरिएको छ । उक्त रकम सङ्घका अघ्यक्ष निलेन्द्रराज श्रेष्ठले २७ जना एथलेटिक्स खेलाडीलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा तिलकराम थारू र प्रमिला रिजालले सबैभन्दा बढी २६ हजार दुई सय ५० रुपैयाँ प्राप्त गरेका थिए ।
त्यस्तै मिसन साग २०१३ अन्तर्गत दोस्रो चरणको एथलेटिक्स ट्रेनिङको निम्ति मङ्सिर २२ र २३ गते खुला एथलेटिक्स छनोट प्रतियोगिता गर्ने एथलेटिक्स सङ्घले निर्णय गरेको छ । उक्त प्रतियोगितामा महिला तथा पुरुषको २८ इभेन्टहरू समावेस गरिएको कुरा महासचिव सुनिल राजवंशीले जनाएका छन् । जसमा पुरुषतर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर ५००० मिटर, १०००० मिटर, ११० मिटर हर्डल्स, ४०० मिटर हर्डल्स, लङजम्प, ट्रिपलजम्प, हाइजम्प, ज्याभलिन थ्रो र डिस्कस थ्रो राखिएको छ भने महिलातर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर ५००० मिटर, १०००० मिटर, १०० मिटर हर्डल्स, ४०० मिटर हर्डल्स, लङजम्प, ट्रिपलजम्प, हाइजम्प, ज्याभलिन थ्रो र डिस्कस थ्रो राखिएको छ ।
टुरिजम करातेमा बालाजु डोजो च्याम्पियन
बालाजु डोजोले दोस्रो ठमेल टुरिजम कप आमन्त्रण अन्तर्राष्ट्रिय कराते तथा किकबक्सिङ प्रतियोगिताको उपाधि जितेको छ । बालाजुले नौ स्वर्ण, तीन रजत र दुई कास्य हात पारेको थियो । नेपाल सितोरियो कराते डो सङ्घ, ठमेल शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा भक्तपुर पाँच स्वर्ण, तीन रजत र चार कास्य जित्दै दोसो भयो । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको कुमुतेतर्फ पुरुषमा ४५ केजीका स्वर्ण विजेता एम्सका सोनाम लामा तथा महिलामा ५५ केजीकी स्वर्णधारी बालाजुकी अनुपमा मगर उत्कृष्ट खेलाडी घोषित भएका थिए । किकबक्सिङको पुरुषमा नेसनल चिल्ड्रेनका सुनील थापामगर उत्कृष्ट घोषित भएका थिए । सुनीलले ६० केजीमा स्वर्ण जिते । विजेतालाई राखेप सदस्यसचिव युवराज लामालगायतले पुरस्कार प्रदान गरेका थिए ।
उक्त अवसरमा आयोजकले दक्षिण एसियाली खेलकुदको दुई फरक संस्करणका स्वर्ण विजेता दीपक श्रेष्ठलाई नगद १० हजारसहित सम्मान गरेको थियो । सोही अवसरमा करातेसम्बद्ध विभिन्न महानुभाव मीनकृष्ण महर्जन, हिरासिंह डङ्गोल, महेशकुमार श्रेष्ठ, गोपाल महर्जन, मनोज न्याछो, रोशन प्रजापति, मनोज हाडा, गणेश महर्जन, तुलसीकुमार महर्जनलगायतलाई सम्मान गरेको थियो । त्यसैगरी सहयोगी सानुकाजी महर्जन, बालमुकुन्द नापित पनि सम्मानित भएका थिए ।
नवलपरासी जिल्लाव्यापी तेक्वान्दो सम्पन्न
रामनगर कप तेस्रो नवलपरासी जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको महिला ४०–४५ केजी तौल समूहको स्पर्धामा राइजिङस्टारकी सविना रेग्मी प्रथम भएकी छन् । सो समूहमा एलटिएमएकी उर्मिला थापा दोस्रो भइन् । महिलाको ३०–३५ केजी तौलमा राइजिङस्टार गिता उमरा मगर प्रथम भइन् भने भुमहि रोशनी श्रिपाली दोस्रो भइन् । पृथ्वी तेक्वान्दो डोजाङकि डिना तामाङ ३५–४० केजी तौल समूहमा प्रथम भइन् भने सलिना राना मगर दोस्रो भइन् । पूरुषतर्फ २० बर्ष मूनिको स्पर्धामा राइजिङ स्टारका समेरु सारु मगर प्रथम भए भने तिलबहादुर दराई लिम्बुनी दोस्रो भएका छन् ।
५४–५८ केजी तौल समूहमा दया सागर कलवारले स्वर्ण जित्दा अरुण खोलाका थामनसिंह मगरले रजत पदक जिते । २०–२५ केजीमा विजय डंगोल प्रथम, सुजन खनाल दोस्रो भए । २५–३० केजी तौल समूहमा तपन कुँवर प्रथम भए । अमित चौधरी दोस्रो स्थानमा आए । ३०–३५ केजी तौलमा अश्मित पौड्याल प्रथम, चितबहादुर थापा दोस्रो भए । ३५–४० केजीमा तौलमा आशिष गामगरले स्वर्ण जिते भने सलिम पाण्डे दोस्रो भए । ४५–५० तौलमा सुमन सारु मगर प्रथम , जितेन्द्र लामा दोस्रो भए । प्रतियोगिताका विजेतालाई बालविकास समाजका महासचिव सुरेन्द्र ढकाल, जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ढोलराज भण्डारी, सशस्त्र प्रहरी बलका डिएसपी गोविन्द्र कुँवर शाह, राष्ट्रिय तेक्वान्दो युनियनका वरिष्ठ उपाध्यक्ष शिव कोइराला, उपाध्यक्ष ईश्वर रिजाल र महासचिव राजकुमार कार्कीले मेडल प्रदान गरेका थिए ।
हिम्स बास्केटबल मङ्सिरको तेस्रो साता
जोरपाटीको नारायणटारस्थित हिमालय इन्टरनेसनल मोडेल हायर सकेन्डरी स्कुल
(हिम्स) को आयोजनामा छैटौँ हिम्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मङ्सिर २२ गतेदेखि हुने भएको छ । प्रतियोगितामा १६ छात्र टिमको सहभागिता रहने हिम्सका प्रिन्सिपल आरसी खनालले जनाएका छन् । प्रतियोगिता लिग कम नकआउटका आधार हुनेछ । आठदिने प्रतियोगिताका खेलहरू आयोजककै कोर्टमा हुनेछन् । हिम्स साविक विजेता हो ।
प्रतिक्रिया