‘म चोखै छु’—अर्चना डेल्लाला

‘म चोखै छु’—अर्चना डेल्लाला


यिनी हुन् अर्चना डेल्लाला । विगत सात वर्षदेखि अस्टेलियामा बस्दै आएकी अर्चनालाई अब केही समयभित्र नेपाली चलचित्र ‘ढुवानी’मा कलाकारको रूपमा देख्न पाइने भएको छ । कविता फिल्मस्को दोस्रो प्रस्तुति रहेको ढुवानीका निर्माता मन्दिल श्रेष्ठ र प्रस्तुतकर्ता कविता श्रेष्ठ हुन् । यतिबेला अर्चना चलचित्रको छायाङ्कन सकाएर अस्टेलिया फर्किसकेकी छिन् । काठमाडौंमा रहँदा उनीसँग केही कुराकानी गरिएको थियो ।
० यो डेल्लाला भनेकोचाहिँ के हो नि ?
– यो अस्टे«लियन शब्द हो । मैले मेरो नामपछाडि उतैको शब्द जोडेकी हुँ ।
० के गरिन्छ उता ?
– काम गरिन्छ र पढाइसँगै अस्टेलियामा हुने विभिन्न कार्यक्रमहरूतिर सहभागी पनि भइन्छ ।
० डान्स त खुबै राम्रो गरिँदो रहेछ नि ?
– राम्रो भनिदिनुभएकोमा धन्यवाद । मैले त कोसिस मात्र गरेकी छु । हेरौँ पछि कति राम्रो हुन्छ ।
० कसरी अवसर पाइयो त ढुवानीमा ?
– यो एउटा चेलिबेटी बेचबिखनको विषयमाथि बनेको चलचित्र हो । देशकै समस्यामाथि बनेको चलचित्र हो । यसैक्रममा निर्माता मन्दिल श्रेष्ठसँग कुराकानी भएपछि म उडेर अस्टे«लियाबाट काठमाडौं आएँ ।
० ढुवानी नै पहिलो र अन्तिम चलचित्र त होइन नि ?
– होइन, होइन । अरू फिल्महरू पनि खेल्छु । तर, सस्तो फर्मुलायुक्त फिल्महरू भने खेल्दिनँ म । मुलुकको समस्या अनि कथा र विषय बोकेका फिल्महरू मात्र खेल्न तयार छु । यस्तो कथामा फिल्महरू बन्ने भएमा र मलाई अफर आएमा समय मिलाएर म आउँछु ।
० विदेशबाट आएका युवती भन्नासाथ पुरुषहरूको नजर गडिहाल्छ । अर्चनालाई आँखा गाड्नेहरू पनि भेटिए कि नेपालमा ?
– त्यस्तो आँखा नै लगाउने त भेटिएन ।
० अर्चनाको रूपको तारिफ गर्नेहरू त धेरै रहेछन् नि ?
– रूपको तारिफ गर्ने सबैले आँखा नै लगाउँछन् भन्ने छैन नि ।
० कस्तो छ त अस्टे«लियाको जीवन ?
– विन्दास । राम्रो छ । नेपाल मिस गरिरहेका छौँ ।
० यतै आए भैगो नि त ?
– पढाइ र काम उतै छ । पछि के हुन्छ ।
० अस्टेलिया पुग्नासाथ नेपाली केटीहरू केटा खोज्न थालिहाल्छन् रे हो ?
– खै अरूको कुरा थाहा भएन । यो मामिलामा म चोखै छु ।

पैसाका लागि पुजना तयार
तपाईं पैसाका लागि कति हदसम्म गिर्न सक्नुहुन्छ ? के तपाईंको जीवनमा पैसा नै सबैथोक हो ? वा पैसा पाइयो भन्दैमा तपार्इं जे पनि गर्न सक्नुहुन्छ वा तयार हुनुहुन्छ ?
अवश्य पनि बुझेकाहरूले पैसालाई महत्व दिँदैनन् । उनीहरू नाम, इज्जत, मान अनि सम्मानलाई पैसासँग दाँज्न सक्दैनन् । तर, समाजमा सकारात्मक सन्देश बाँड्ने अनि सिनेमाका पर्दाहरूमा ‘पोजेटिभ’ कुरा गरेर तालीको आशा गर्ने एकजना जिम्मेवार अभिनेत्रीले पैसाकै लागि जे पनि गर्न तयार भएको उदाहरण प्रस्तुत गरिन् यसै हप्ता । गुरुङ थरकी ती अभिनेत्री हुन पुजना स्त्री गुरुङ । दार्जिलिङकी पुजनाको खास नाम पूजा हो । सिनेमा क्षेत्रमा आउनासाथ नाम नै फेर्ने पूजाले पैसाका लागि त्यतिसम्म प्रस्तुत हुनु भनेको नौलो कुरा पनि होइन । कहिले पूजा गुरुङ त कहिले पुजना स्त्री, आफ्नो नाममा नै ‘कन्फ्युज’ हुने पुजनालाई सिनेमा क्षेत्रमा चलचित्र ‘हिरो’मार्फत निर्देशक नरेश पौडेलले भित्याएका हुन् । त्यसै चलचित्रबाट भित्रिएकी रेखा थापाको आज सिनेमा क्षेत्रमा ‘वाहवाही’ छ तर पुजनाको भने नामोनिशाना छैन । समयमा नै बुद्धि पुर्‍याउन नसक्दा छायामा परेकी पुजनालाई उनले केवल पैसाकै लागि दिएको चलचित्र ‘रक्षा’को यो भल्गर दृश्यले पनि माथि होइन तल्तिरै लैजाने स्पष्ट छ ।
हाल छायाङ्कन भइरहेको चलचित्र ‘रक्षा’को यो ‘भल्गर’ अनि ‘बेडसिन’मा अभिनय गर्नका लागि निर्देशक राजु गिरीले धेरै युवती खोजेका थिए । तर, दृश्यबारे सम्झाएपछि कसैले पनि मानेनन् र पारिश्रमिक रामै्र दिँदा पनि इन्कार गरे । तर, थुपै्र सिनेमामा रामै्र भूमिकामा देखापरेकी पुजनाले के गर्लिन् भनेर उनले प्रस्ताव मात्र के राखेका थिए, पारिश्रमिक सुनेपछि उनले नाइँनास्ती नै गरिनन् । जम्माजम्मी पौने दुई लाख पारिश्रमिकमा नयाँ कलाकार अशोक फुयाँलसँग करिब पाँच मिनेट लामो बेडसिन दिन तयार भएर सुटिङसमेत भइसकेको दृश्यहरू बजारमा आएपछि हाल चलचित्र रक्षा, नयाँ कलाकार अशोक फुयाँल र पुजनाको आलोचना हुन थालेको छ । भल्गर सिनेमा एटीएमलाई सरकारले नै प्रतिबन्ध लगाइरहेको अवस्थामा त्यस्तै छनक आउने चलचित्र रक्षाको यो दृश्यलाई पनि सेन्सरबोर्डले कसरी हेर्ला ? प्रतीक्षाको विषय बनेको छ । भल्गर दृश्यहरू समावेश गरेर सस्तोमा चलचित्र बनाउने अनि नेपाली चलचित्र क्षेत्रकै बद्नाम गराउनेजस्ता सोच बोकेका चलचित्रकर्मी अनि चलचित्रप्रति सेन्सरबोर्ड कडा रूपमा प्रस्तुत हुनुपर्ने अवस्था आइसकेको छ ।

नेपाली चेलीको यथार्थ
यतिबेला नेपाली साङ्गीतिक क्षेत्र निकै फस्टाएको छ । यसमा लागेका सङ्गीतकर्मीहरूको बजार पनि क्रमश: विस्तार हुने क्रममा छ भने दैनिकजसो नयाँ–नयाँ गीति एल्बमहरू बजारमा आउने क्रम पनि बढ्दो छ । यसै साता मात्र नयाँ गीति एल्बम यथार्थ बजारमा आउने भएको छ । शनिबारदेखि बजारमा आउन लागेको यथार्थमा जम्मा पाँचवटा गीत सङ्ग्रहित छन् । जसमा मधु बोगटीको दुईवटा, उर्गेन बम साङ्देलको दुईवटा र दीपक गुरुङको एउटा गीत समाविष्ट छ ।
पे्रममय गीतहरू समावेश गरिएको एल्बम यथार्थ नामजस्तै यथार्थमा नै आधारित एल्बम हो । दैनिकजसो विदेशमा बेचिन पुगेका नेपाली चेलीहरूको कथा–व्यथालाई यो एल्बममा समेटिएको छ । त्यस्तै शब्द, सङ्गीत अनि स्वरले यथार्थलाई श्रोतामाझ परिचित गराउने देखिन्छन् ।

नेपाली चलचित्रमा मौलिकपन खोज्न कार्यशाला
नेपाली चलचित्र क्षेत्रमा जहिले पनि लाग्दै आएको एउटा आरोप हो, ‘विदेशीको नक्कल ।’ हुन पनि पछिल्लो समयमा लाग्दै आएको यो आरोप सही भएको स्वयम् सिनेकर्मीहरू तथा फिल्म क्षेत्रका व्यक्तिहरूले स्वीकार्दै आएका छन् । तर, अबका दिनमा नेपाली चलचित्रले साँच्चिकै नेपालीपन पाउने भएका छन् ।
सार्क राष्ट्रकै नमुना मानिएको लमजुङको पर्यटकीय गाउँ घलेगाउँमा निर्देशक समाजले गरेको तेस्रो कार्यशाला गोष्ठीले नेपालमा अब बन्ने नेपाली फिल्मको धार परिवर्तन गर्ने सङ्केत देखाएको छ । गत साता आयोजित ६ दिवसीय कार्यशाला गोष्ठीले सधैं विदेशी फिल्मको नक्कल गरेर नेपाली फिल्म बन्छ भन्ने फिल्मी क्षेत्रको परम्परा नै तोडेर नयाँ अनि नेपाली मौलिकपनमा फिल्म बन्ने उत्प्रेरणा जगाएको सिनेकर्मीहरूले बताएका छन् । नेपाली समाजको सार्थक चित्र, निर्देशकको अभिव्यक्ति चलचित्र भन्ने नाराका साथ पाँच दिनसम्म घलेगाउँमा गरिएको कार्याशाला गोष्ठीमा चलचित्रमा मौलिकता, सांस्कृतिक विविधता र पर्यटनजस्ता विषय समेटिएका थिए ।
नेपाली चलचित्रका निर्देशक समाजका अध्यक्ष विमल पौडेलले कार्यशालाले नेपालका धेरै ग्रामीण गाउँहरूको कथामा फिल्म बनाउन उत्प्रेरणा जगाएको बताए । सहरको कोलाहलभन्दा ग्रामीण क्षेत्रहरूमा नेपालीपनको फिल्म बन्ने धेरै कथा रहेको कार्यशालाले देखाएको अध्यक्ष पौडेलले बताए । विगतमा दुईवटा कार्यशाला सम्पन्न गरिसकेको समाजले तेस्रो कार्यशाला अहिलेसम्मकै फरक फलदायी भएको कार्यशालाका प्रशिक्षका राजेश गंगज्योले बताएका छन् ।
चलचित्र निर्देशक, लेखक, कलाकार, छायाकार, निर्माता, समीक्षक तथा पत्रकारहरू सम्मिलित कार्यशालामा विदेशी फिल्म र नेपाली फिल्मबारे समीक्षा गरिएको थियो । पर्यटकीय गाउँ घलेगाउँमा पाँच दिनसम्म सञ्चालन भएको उक्त कार्यशालामा नेपाली चलचित्रको अवस्था, निर्माण शैली, निर्देशनको खाका, भविष्यमा गरिने योजनासहित प्रविधि र बजारका विषयमा पनि छलफल भएको निर्देशक समाजका अध्यक्ष विमल पौडेलले बताए । सो अवसरमा सानो लगानीमा नेपालमा बनेका चलचित्रलाई ठूलो लगानी र उच्च प्रविधिमा निर्माण भएका हलिउड र बलिउडका चलचित्रसँग प्रतिस्पर्धा गराउन सक्ने गुणस्तरीय चलचित्र कसरी बनाउन सकिन्छ भन्ने विषयमा कार्यशाला केन्द्रित रहेको निर्देशक समाजले जनाएको छ ।
नेपाली चलचित्रमा मौलिकता ल्याउनका लागि काठमाडौंको एउटा कोठामा घोरिएर कथावस्तु नबन्ने भन्दै वरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्माले सहरमा बसेर उडन्ते कथावस्तु लेख्नुभन्दा गाउँगाउँमा पुगेर कथा खोज्न कार्यशालाले पाठ सिकाएको बताएका छन् ।
मौलिक सिनेमाको निर्माण, संस्कृति तथा समाजको विकास र सिनेमामार्फत पर्यटनको दिगो विकास गर्ने उद्देश्यका साथ कार्यशाला गोष्ठीको आयोजना गरिएको हो । कार्यशालाकै अवसरमा चलचित्रकर्मीले ग्रामीण जनजीविका, संस्कृति, भेषभूषा र परिवेशलाई आधार बनाएर विभिन्न कोणबाट सातवटा लघु चलचित्र निर्माण गर्न भ्याएका थिए । तेस्रो कार्यशाला गोष्ठीकै अवसरमा निर्देशक समाजका अध्यक्ष पौडेलले छिट्टै दाङमा अर्को अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरिने बताएका थिए ।
प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीको प्रमुख आतिथ्यतामा गरिएको समापन कार्यक्रममा कार्यशालाका अवसरमा निर्माण गरिएका आठवटा छोटा चलचित्र प्रदर्शन गरिएको थियो । आठवटा चलचित्रमध्ये नायक रावल केसी सम्मिलित पशुपति समूहले तयार पारेको चलचित्र मनसरीलाई छनोट समितिले उत्कृष्ट ठहर गरेको छ । छनोट समितिमा कार्याशालका स्रोतव्यक्ति राजेश गोंगजु, वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा र पत्रकार महासङ्घ लमजुङका सचिव नवीनराज कुइँकेल रहेका छन् ।
एउटै गाउँमा भएर पनि अपाङ्गताका कारण आठ वर्षदेखि देखभेट हुन नसकेका वृद्ध उमेरका दिदीभाइको कथावस्तुलाई चलचित्र मनसरीमा समावेश गरिएको छ । उत्कृष्ट चलचित्र निर्माण गर्ने समूहलाई काठमाडौंमा पुरस्कृत गरिने र कार्याशालाका सहभागीलाई प्रमाणपत्र प्रदान गरिने निर्देशक समाजले बताएको छ ।
कार्यशालाले नेपाली चलचित्रको मौलिकताका विषयमा ठूलै बहस उठाएको थियो । सहभागीहरूले सांस्कृतिक, पर्यटकीय, भाषिक विविधतामार्फत नेपाली चलचित्रलाई माथि उठाउन कार्यशालाले भूमिका निर्वाह गर्ने बताएका छन् ।
– छविलाल बगाले