यसरी अटेर गर्छन् कर्मचारी

यसरी अटेर गर्छन् कर्मचारी


राजनीतिक पहुँच हुनेहरूले सरकारको आदेशलाई समेत कसरी उपेक्षा गर्न सक्छन् भन्ने उदाहरण सहसचिव राजनराज पाण्डे बनेका छन् । सरकारले प्रदेश र स्थानीय तहमा कर्मचारी खटाएको महिनौँ बितिसक्दा पनि कैयन कर्मचारी सरकारको आदेशलाई अटेर गरी बसिरहेका छन् । यस्तै अटेरी गर्नेमध्ये एक सहसचिव राजनराज पाण्डे हुन् ।

पूर्वराजदूतसमेत रहेका एमाले नेता उदयराज पाण्डेका भाइ राजनलाई प्रदेश नम्बर सातको सचिवका रूपमा खटाउने निर्णय गरी पत्राचारसमेत भएपछि उनी लामो बिदा लिएर बसेका छन् । यसरी सरकारद्वारा खटाइएका व्यक्ति अचानक बिदा लिएर सम्पर्कहीन भएपछि खानेपानी तथा शहरी विकास मन्त्रालयले गत फागुन १६ गते गोरखापत्रमा सार्वजनिक सूचना जारी गरी सात दिनभित्र तोकिएको ठाउँमा हाजिर भई काम गर्न नगए कनुनबमोजिम कारबाही गरिने बताएको थियो ।

तर, बलियो राजनीतिक पहुँच भएका मानिने पाण्डेले मन्त्रालयको सूचनालाई टेरपुच्छर लगाएनन् । सार्वजनिक सूचनाको समेत बेवास्ता गरेपछि पाण्डेलाई कारबाही गर्नुको सट्टा मन्त्रालयले पाण्डेको ठाउँमा अर्का सहसचिव रमाकान्त दुवाडीलाई पठाउने निर्णय गरी सामान्य प्रशासन मन्त्रालयमा पत्राचार ग¥यो ।

मन्त्रालयले फागुन २३ गते नै दुवाडीलाई सात नम्बर प्रदेशको सचिव बनाएर पठाउने निर्णय गरेको भए पनि दुवाडी अहिलेसम्म तोकिएको कार्यक्षेत्रमा जान खोजेका छैनन् । बरु सामान्य प्रशासन मन्त्री तथा अन्य नेताहरूको घर–घर धाएर उनले आफ्नो सरुवा रोक्न न्वारानदेखिको बल निकालेर सङ्घर्ष गरिरहेका छन् । दुवाडीले एमाले र माओवादीका नेताहरूबाट सरुवा रोकिने आश्वासन पाएको बताइन्छ । यस सम्बन्धमा जानकारी लिन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई ९८४१५६४५३९ नम्बरमा सम्पर्क गर्दा उहाँको फोन उठेन ।