लुटेरा उत्पादन गर्ने कारखाना—वीरेन्द्रमणि पौडेल

लुटेरा उत्पादन गर्ने कारखाना—वीरेन्द्रमणि पौडेल


‘बाबु तिमी ठूलो भएपछि के बन्छौ ?’ – ‘डाक्टर ।’ ‘नानी तिमी ठूलो भएपछि के बन्छौ ?’ – ‘नर्स ।’ ‘तिमी के बन्छौ ?’ – ‘इन्जिनियर, खेलाडी, समाजसेवी, कलाकार, पाइलट, वैज्ञानिक’ अनि यस्तै–यस्तै अन्य ।
यी प्रश्न र जवाफ नेपालमा हिजो थियो, आज छ र शायद भोलि पनि दोहोरिनेछन् । स–साना बाबु–नानीहरूलाई यी प्रश्नहरू लगातार सोधिएका छन् र तिनीहरूले यस्तै जवाफहरू दिइरहेका छन् । तर, परिणाम आएको छ नकारात्मक अर्थात् प्राय: सबै बाबुनानीहरू माथि उल्लेख गरिएका पेसामा आबद्ध हुन चाहन्थे भने हिजोआज दिनदहाडै महिलाको घाँटीबाट सुनको सिक्री तानेर बेपत्ता हुने युवाहरू कहाँबाट आए ? ‘आमा म तपाईंको छोरीजस्तै हुँ नि’ भन्दै वृद्ध महिलालाई नसालु पदार्थ सेवन गराएर बेहोस पारी सुन र पैसा लुट्ने युवती कहाँबाट आए ? मान्छे अपहरण गर्ने अपहरणकारी कहाँबाट आए ? चोरी, डकैती र ठगी गर्ने युवा कहाँबाट आए ? होटल र लजहरूमा गई ‘शरीर’ भाडामा दिने स्त्रीहरू कहाँबाट आए ? के आजका यी युवायुवती हिजो डाक्टर, इन्जिनियर, पाइलट, समाजसेवी, कलाकार, नर्स, खेलाडी बन्छु भन्नेहरू नै होइनन् ? उसो भए अब प्रश्न छ– यी नेपाली सन्तानलाई रूप बदल्न बाध्य कसले तुल्यायो ? ठीक जवाफ यो हुन सक्छ– समाजले । हाम्रै नेपाली समाजले । समाजका विभिन्न हाँगाले । अब बुँदागत रूपमा समाजका कुनकुन हाँगाहरूले हिजो डाक्टर, इन्जिनियर र पाइलटजस्ता जनशक्तिको रूपमा विकसित हुन चाहनेहरूलाई आज लुटेरा बनाए, चोर, डाँका, लुटेरा र वेश्या बनाए चर्चा गरौँ ता कि भोलिको समाज शुद्ध र सफा हुन मद्दत मिलोस् ।
१. राजनीतिक दलहरू : राज्य सञ्चालनका प्रक्रियालाई सकारात्मक रूप दिनका लागि समाजले राजनीतिक दलको जन्म दियो । तर, दलको नेता हुन, पदाधिकारी हुन, सदस्यता प्राप्त गर्नका लागि कुनै मापदण्ड तोकिएन । बच्चाबच्चीदेखि वृद्धवृद्धासम्मले दलमा आबद्ध हुन पाए । खुवी भएकाले पनि पाए नभएकाले पनि पाए । इमानदार कहलिएकाले पनि पाए, अनुशासनहीनहरूले पनि पाए । मन्दिरको पुजारी दलको सदस्य भए, जेलबाट भर्खरै छुटेकाहरू पनि त्यही दलको सदस्य भए । पढाइको हकमा पीएचडी गरेकाहरू दलका सदस्य भए भने ‘कपुरी क’ नजान्नेहरूले पनि सदस्यता पाए । समाजले उत्पादन गरेको राजनीतिक दल गन्हाएको ‘खिचडी’जस्तो भयो । यसको परिणाम राष्ट्र हाँक्ने इन्जिनको रूपमा रहेको दलमा अयोग्य र अदूरदर्शी, लोभीपापी र अवसरवादी हावी भए । दलका तिनै लोभीपापी र अवसरवादीहरू सरकारमा गए । नियम–कानुन तोडेर धन जम्मा गरे । आफू र आफन्तको भविश्य हेरे । युवाशक्तिलाई सिर्फ चुनावमा पर्चा–पम्प्लेट टाँस्ने काममा र बुथ कब्जा गर्न प्रयोग गरे । पाँच वर्षमा एकपटक हुने निर्वाचनमा प्रयोग गरे र पाँचै वर्षका लागि बेरोजगार राखे जसका कारण ऊर्जाशील युवाशक्ति निकम्मा बन्दै गयो । एक राजनीतिक दलले अर्को प्रतिस्पर्धी राजनीतिक दललाई पछार्न युवाशक्तिको हातमा खुर्पा, खुँडा, बन्चरो र बन्दुक थमायो । अर्को राजनीतिक दलले पनि यस्तै गर्‍यो । प्राय: धेरै राजनीतिक दलले यस्तै गरे र राष्ट्रनिर्माणको अनिवार्य शक्ति युवाशक्तिलाई गलत तरिकाले प्रयोग गरे । एक दलको युवाशक्तिले अर्को दलको युवाशक्तिमाथि साङ्घातिक हमला गरे । यो वा त्यो दलका नाममा नेपाली युवाशक्तिको क्षति भयो । बाँकी रहेका युवाशक्तिलाई रोजगारी दिँदा शायद चुनावमा प्रयोग गर्न नसकिने ठानेरै होला सरकारमा जानेहरूले युवाशक्तिको दु:ख, कष्ट र विभिन्नखाले सामाजिक अप्ठ्याराबारे ध्यान दिएनन् । बाँच्नकै लागि आज ती होनहार युवाशक्ति कसैको घाँटीबाट सिक्री तानिरहेको छ त कोही ‘शरीर’ भाडामा दिइरहेका छन् ।
२. कालाव्यापारीहरूको कुकर्म : इच्छैले चोर, डाँका वा वेश्या बन्ने मानव संसारमा छैनन्, भए पनि अति कम हुन सक्छन् । नेपालका कालाव्यापारीहरूले राजस्व मारे । राजव मार्दा आर्थिक रूपले सरकार सक्षम हुन सकेन । सरकार सक्षम हुन नसक्दा चाहना राख्ने खालको सरकारले समेत युवा जगत्लाई आर्थिक रूपले सक्षम बनाउने कार्यक्रम ल्याउन सकेन । कालाव्यापारीले जनतालाई समेत ठगे । ठगाइमा परेका जनताका छोराछोरी आर्थिक रूपले मजबुत हुने सवालै उठेन र स्वाभाविक रूपमा गतल काममा लागे ।
३. निर्माण व्यवसायीहरूको गलत चिन्तन : ठेक्कापट्टा हासिल गर्न नेपालका अपवादलाई छाडेर प्राय: सबै निर्माण व्यवसायीहरूले अर्को प्रतिस्पर्धी निर्माण व्यवसायीलाई तर्साएर ठेक्कापट्टा हासिल गर्न चाहे र त्यसका लागि बेरोजगार युवालाई प्रयोग गरे । रोजगारीको विकल्प नभएका युवा केही रुपैयाँ प्राप्तिका लागि प्रारम्भमा निर्माण व्यवसायीद्वारा प्रयोग भए तर पछिल्ला दिनमा यसको नकारात्मक असर के देखियो भने निर्माण व्यवसायीलाई नै बेरोजगार युवाहरूले तर्साएर ठेक्का पार वा नपार तर ‘हामीलाई चाहिँ पैसा देऊ’ भन्न थाले । पहिले बेरोजगार युवालाई प्रयोग गर्ने निर्माण व्यवसायी पछिल्ला दिनमा आफैँ प्रयोग हुनुपर्ने अवस्थामा आइपुगे । यसबाट निर्माण व्यवसायमा स्वच्छ प्रतिस्पर्धा हुन छाड्यो भने सजिलैसँग पैसा आउन थालेपछि बेरोजगार युवाशक्तिसमेत समूह–समूहमा बाँडिएर निर्माण व्यवसायीलाई हैरानी दिन थाले । युवा समूह आपसमा झगडा र मारामार गर्न थाले । यसरी युवाशक्ति गलत काममा निरन्तर अलमलिइरह्यो । अशान्तिले निरन्तरता पाइरह्यो ।
४. बैंक तथा वित्तीय संस्थाहरूद्वारा लुट : नेपाल राष्ट्र बैंकले विश्व बैंकसँग एक प्रतिशत ब्याजदरमा रकम लिएर नेपालका अन्य बैंकहरूलाई तीन प्रतिशत ब्याजदरमा रकम दियो । तर, बैंकहरूले मनलाग्दी २१ प्रतिशतसम्मको चर्को ब्याजदरमा नेपालका किसान र सर्वसाधारण नागरिकलाई लगानी गरे । सोझा जनता बैंक तथा वित्तीय संस्थाले बिछ्याएको जालमा परे । जतिसुकै हाडछाला घोटे पनि एकपटक बैंकबाट ऋण लिएपछि जिन्दगीभरिका लागि ऋणी भइरहन पर्ने, हजुरबाले लिएको ऋण बालेसमेत तिर्न नसकेर नातिले तिर्नुपर्ने अवस्था देखियो । यसरी बैंक तथा वित्तीय संस्थाहरूको शोषणमा परेका जनताका बेरोजगार सन्तती विकल्पको अभावमा चोरी र डकैती कार्यमा समेत संलग्न भए ।
५. रक्सीसेवन र बिक्रीमा छाडापन : नेपालमा जताततै रक्सी किन्न पाइन्छ । बिहानदेखि बेलुकासम्म पेटभरि रक्सी खान पाइन्छ । कहीँ कतै रोकतोक छैन । उसै त बेरोजगार त्यसमाथि जसरी–तसरी जम्मा गरेको रकम युवाशक्तिले रक्सीमा उडाएको उडाएकै छन् । सरकारी वा संस्थानका जागिरे जसको महिनावारी तलब आउँछ रक्सी खाने बानी परेको छ भने त्यस्ता कर्मचारीको त आर्थिक रूपले हावा खुस्किएर परिवारको बिचल्ली भएको छ भने आम्दानीको नियमित स्रोत नभएका युवाशक्ति जो रक्सीको कुलतमा लागेको छ तिनको हालत के होला ? चोर्ने र डकैती गर्नेबाहेक तिनको अन्य विकल्प के हुन सक्छ ?
६. गरिखाने शिक्षाको अभाव : आधिकारिक रूपले नेपालमा पढ्ने–पढाउने काम सुरु गरिएको जम्मा ७९ वर्ष भयो । यो अवधिसम्ममा नेपालमा धेरैले धेरै पढे, लेखे, धेरथोर जाने पनि भनियो । तर, नेपालमा पढेकाहरूले के जाने भन्ने प्रश्न गर्दा आखिरमा जानेको केही छैन । सिंहदरबार चन्द्रशमशेरले बनाए भन्ने कुरा जानेर भात खान पाइँदैन । वीर अस्पताल नेपालको सबैभन्दा पुरानो अस्पताल हो भन्ने कुरा पढेर थाहा पाएर मात्रै कसैले जागिर दिँदैन । जान्न त काम जान्न पर्छ, कुरा जानेर काम लाग्दैन । हाम्रो शिक्षा पद्धतिले हाम्रा युवायुवतीलाई साइकलको ट्युव पन्चर टाल्न सिकाएन । रेडियो, घडी, टेलिभिजन मर्मत गर्न सिकाएन । कपडा सिलाउन सिकाएन । आविष्कार गर्न सिकाएन । लौ भैगो, अरूले आविष्कार गरेका चिजबिजको मर्मत मात्र गर्न सिकाएको भए पनि युवाशक्ति पूरा श्वास फेरेर बाँच्न पाउँथे । ७९ वर्षअघिदेखि आजसम्म नेपाली शिक्षा पद्धतिले गरिखान सिकाएन । सिर्फ कुरा गर्न सिकायो । त्यसको परिणाम आज विदेश पलायन भएर बाँकी रहेका युवाशक्ति आज एकप्रकारका गन्तव्यहीन लुटेराको रूपमा स्थापित हुँदै छन् । जानेर वा नजानेर हाम्रो समाज लुटेरा, गुण्डा, तस्कर र वेश्या उत्पादन गर्ने कारखानाको रूपमा विकसित हुँदै छ । यदि राजनीतिक दलमा शुद्धता ल्याएर मुलुकभित्रका सबै पक्ष र अङ्गलाई शुद्ध बनाउने अभियानमा आजैदेखि लागियो भने अझै दुनियाँका सामु नेपाली भनेर शिर ठाडो पार्न पाइएला होइन भने नेपाल के–के उत्पादन गर्ने कारखाना हो भनी दुनियाँ हाँस्नेछन् बताइरहन नपर्ला । नेपाली राजनीतिकर्मीहरूलाई चेतना भया !