चन्द्रागिरि सुरक्षित पर्यटकीय गन्तव्य : पर्यटनमन्त्री अधिकारी

चन्द्रागिरि सुरक्षित पर्यटकीय गन्तव्य : पर्यटनमन्त्री अधिकारी


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बुधबार विहान चन्द्रागिरि केवलकारको अनौपचारिक भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक समितिका सदस्यहरु एवम महाप्रवन्धकले मन्त्रीको स्वागत गदै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

भ्रमणका क्रममा उपस्थित संचारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै माननीय मन्त्री अधिकारीले सडक संजाल र विमानस्थल जस्ता मुख्य मुख्य पर्यटकीय पूर्वाधार निर्माण गर्ने दायित्व राज्यको भएको बताए । त्यसपछिका पर्यटकीय पूर्वाधार र पर्यटकीय उत्पादन तयार गर्ने काममा नेपालको निजि क्षेत्रलाई पर्याप्त प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिँदै उनले चन्द्रागिरि र चन्द्रागिरि जस्तै सुन्दर सयौँ पर्यटकीय गन्तव्यको लाभ नेपालको अर्थतन्त्रले हासिल गर्न सक्ने बताए ।

अब तोकिएका काम तोकिएकै समयमा निर्माण सम्पन्न भैसक्नुपर्ने गरि कार्यतालिका निर्माण गरेर काम गर्न लागिएको जानकारी दिँदै उनले काम गरेर देखाउने बाहेक अन्य सुविधा आफुलाई नरहेको प्रष्ट पार्नुभयो । पर्यटन मन्त्रालयमा आफ्नो जिम्मेवारी समस्त पर्यटन व्यवसायीहरुको लागि असल अविभावक भएको भन्दै नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढाउन सबैलाई सहजीकरण गर्ने विश्वास उनले दिलाए ।

सरकार आसन्न भ्रमण वर्ष २०२० मा वार्षिक १५ लाख पर्यटक भित्रयाउने योजनाका साथ अगाडी बढीरहेको जानकारी दिँदै पर्यटकीय पूर्वाधारहरुको निमार्णमा सहजिकरण तथा सुरक्षाको पूर्ण दायित्व राज्यले लिने बताए । उनले चन्द्रागिरि लगायत नेपालका सम्पूर्ण पर्यटकीय गन्तब्यहरु विश्वका पर्यटकहरुका लागि सुरक्षित रहेको उनले जिकीर गरे ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यभार सम्हालेकै एक हप्ताभित्रमा मन्त्रीले चन्द्रागिरि परियोजनाको भ्रमण गरि आफु र आफ्नो समुहलाई हौसला प्रदान गरेको भन्दै धन्यवाद व्यक्त गरे ।