खानेपानी आयोजना समुदायलाई हस्तान्तरण

खानेपानी आयोजना समुदायलाई हस्तान्तरण


सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–१० मा भूकम्पपछि निर्माण गरिएको खानेपानी आयोजना स्थानीयलाई हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकद्वारा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्तम अन्तर्गत निर्माण गरिएको आयोजना स्थानीयलाई हस्तान्तरणका साथै जिम्मेवारीमा दिइएको हो ।

कुल ३० लाख ८७ हजारको लागतमा निर्मित सो खानेपानी आयोजना निर्माण भएको रेडक्रसले जनाएको छ । खानेपानी अभाव समस्या झेलिरहेका गाउँवासी आयोजना सम्पन्न भएपछि हर्षित छन् । यो आयोजनाबाट एक सय १० घरधुरीका चार सय ७५ लाभान्वित हुनेछन् । रातमाटे खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र कार्कीले अब समस्याको समाधान भएको बताए । ‘निकै दुःख गरेर गाउँमा खानेपानी आयोजना सम्पन्न गरेका छौं,’ उनले भने ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान ताल्चाभँडेलले समुदायले थालनी गरेको काममा रेडक्रसले सहयोगीको भुमिका निर्वाह गरेको बताए । रेडक्रसले मेलम्ची नगरपालिकाको वडा नम्बर १० मा मात्रै ४ वटा खानेपानी आयोजना सम्पन्न गरिसकेको छ भने अन्य ३ आयोजना निर्माणाधिन छ ।

‘गाउँमा निकै समस्या थियो, बेलैमा रेडक्रस आएर सहयोग गरेको छ,’ वडाअध्यक्ष भक्तबहादुर खड्काले भने, ‘आफ्नो ठाउँमा आएर स्थानीय तहले गर्नुपर्ने काम रेडक्रसले गरेको छ ।’ वडाध्यक्ष खड्काले भूकम्पपछि रेडक्रसले आवास, खानेपानी तथा सरसफाई, स्वास्थ्य, जीविकोपार्जन तथा संस्थागत क्षमता विकासमा गरेको योगदानको प्रशंसा गरे ।