भक्तपुर सल्लाघारीमा मेला आयोजना हुँदै

भक्तपुर सल्लाघारीमा मेला आयोजना हुँदै


औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले नयाँ वर्षका अवसरमा ‘चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४ ७५’ आयोजना गर्ने भएको छ । यही चैत २३ देखि आगामी वैशाख ३ गतेसम्म आयोजना हुने मेला उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले गर्न लागिएको संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिएका छन् ।

मेलाका संयोजक दीपक थापाले मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुट दिइने र उपभोगकर्ताका लागि डा. इवामुरा मेमोरियल अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने बताए भने मध्यपुर ब्याइज ब्याण्डका प्रमुख सुनिल बज्राचार्यले मेलामा हरेक दिन विभिन्न ब्याण्ड, नृत्य तथा बि–बोइङ प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने जानकारी दिए ।

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको ९९ रोपनी जग्गामा मेला आयोजना गरिने छ । मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा र पर्यटन प्रवद्र्धनका सामग्री, रोटे पिङ, मारुती जादू, कोलम्बस जादु, चिडिया घर, बालबालिकाका खेल सामग्रीको प्रदर्शनका साथै राष्ट्रियस्तरका कलाकारका हास्य व्यङ्ग्यसहितका मनोरञ्जनात्मक प्रस्तुति रहने छ ।