स्वास्थ्यचौकीको प्रीफ्याव भवन स्थानीय सरकारलाई हस्तान्तरण

स्वास्थ्यचौकीको प्रीफ्याव भवन स्थानीय सरकारलाई हस्तान्तरण


नेपाल रेडक्रसले भूकम्पले क्षति पुगेका काभ्रेका दुर्गम भेगका १२ स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण कार्य शुरु गरेको छ । सोसाइटीले निर्माण गरिरहेका रयाले, महेन्द्रज्योति, रविओपी, चन्डिनीमण्डन, ज्याम्दिमण्डन, खरेलथोक, सानोनाङथली, गोठापानी, पोखरीचौरी, वाल्टिङ, बनिखु, फालामेटार स्वास्थ्य चौकीमध्ये रयाले, रविओपी र महेन्द्रज्योति स्वास्थ्य चौकीका प्री फ्याव भवन र उपकरण स्थानीय निकायका प्रतिनिधिलाई हस्तान्तरण सम्पन्न गरेको छ ।

सोसाइटीका अध्यक्ष सञ्जीव थापाले जिल्ला समन्वय समिति काभ्रेका संयोजक उद्धव केसीमार्फत शुक्रबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा नवनिर्मित ती स्वास्थ्य चौकी भवनका साँचो स्थानीय वडाध्यक्षलाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष थापाले भूकम्प अति प्रभावित १४ जिल्लामा सोसाइटीले अन्तर्राष्ट्रिय सहयोग जुटाएर आवास पुनः निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, आयआर्जन, जीविकोपार्जन, खानेपानी तथा सरसफाइका कार्यक्रम समुदायमा सञ्चालन भइराखेको चर्चा गर्दै आगामी दिनमा मानवीय सेवाका विविध क्षेत्रमा सोसाइटी अनवरत रूपमा जुटिरहने छ भन्नुभयो ।

सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख उमेश ढकालले कार्यक्रमका गतिविधि पारदर्शी रहेको, स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार स्वास्थ्य चौकीका भवन तथा उपकरण जडान भएको जानकारी दिँदै सोसाइटीले निर्माणका लागि जिम्मा लिएका ३० वटा स्वास्थ्य चौकीमध्ये स्थानीय तहलाई हस्तान्तरणको क्रम जारी रहेको जानकारी दिनुभयो ।

हस्तान्तरण समारोहमा पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले भन्नुभयो, ‘स्वास्थ्य सेवा लिन आउनेले स्वास्थ्य चौकीमा ताल्चा लागेको देख्न नपरोस्, स्वास्थ्यकर्मी सयममा आएर सेवा दिनुहोस्, औषधि सकिएपछि मात्र हामीलाई जानकारी दिने होइन, नसकिँदै जानकारी दिनुहोस् । जनताले स्वास्थ्य सेवा पाएनाँै भन्ने गुनासा अब सुन्न सकिन्न ।’

बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठले अब स्वास्थ्य चौकीबाट दिने सेवामा जनताका गुनासा आउन दिन नहुने चर्चा गर्दै स्वास्थ्यकर्मीमा सेवा प्रवाहमा ध्यान दिन आग्रह गर्नुभयो ।

धुलिखेल नगरपालिकाका उपप्रमुख विमलाकुुमारी चौलागार्इंले आधारभूत स्वास्थ्य सेवा पाउने जनताको अधिकारलाई पूरा गर्न नरपालिकाले ध्यान दिएको चर्चा गर्दै स्थानीय स्वास्थ्य चौकीको सेवा प्रवाहमा चुस्त आउनुपर्छ भन्नुभयो भने जिल्ला समन्वय समिति काभ्रेका संयोजक केसीले भूकम्प पुनःनिर्माण कार्यमा समन्वय समितिले अनुगमन तथा समन्वय गरिराखेको चर्चा गर्दै आफूले पुनःनिर्माणमा जिम्मा लिएका कार्यलाई समयमा पूरा गर्न आग्रह गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक रमेश अधिकारी र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सुरेन्द्र चौरासियाले स्वास्थ्य सस्था सञ्चालन स्थानीय निकायमा हस्तान्तरण भइसकेको हुँदा अब मन्त्रालयले समन्वयकारी र जनशक्ति व्यवस्थापनमा ध्यान दिने बताउनुभयो ।

रेडक्रस तथा रेडक्रिसेन्टको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रतिनिधि जुजा किम तथा कोरियन रेडक्रसका नेपाल प्रतिनिधि सनी किमले नेपाल रेडक्रसमार्फत मानवीय सेवाका लागि सहयोग जारी रहने जानकारी दिनुभयो । राससका अनुसार सोसाइटीका काभ्रे अध्यक्ष रघुवर चौप्रधान, मन्त्री उद्धव पौडेल, भूकम्प प्रतिकार्य कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक हरिप्रसाद सुवेदीले बाँकी रहेका स्वास्थ्य चौकीका हस्तान्तरण कार्य छिट्टै हुुने र सोसाइटीले भूकम्प प्रभावितलाई गरिरहेको सेवाका बारेमा जानकारी दिनुभएको थियो ।

सोसाइटीले भूकम्पले विभिन्न जिल्लामा क्षति पुऱ्याएका ३० वटा स्वास्थ्य चौकी मध्येमा २७ वटा प्री फ्याव र उपत्यका भित्रका तीन आरसिसी माध्यमबाट निर्माण सम्पन्न गर्ने जनाएको छ । स्वास्थ्य मन्त्रालयले आगामी एक वर्षभित्रमा भूकम्पबाट क्षति भएका सबै स्वास्थ्य संस्थाको पुनः निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखेको छ ।

तस्बिर रासस