लालबन्दीमा आख्यान र काव्यको संगम

लालबन्दीमा आख्यान र काव्यको संगम


प्रदेश नम्बर २, सर्लाहीको लालबन्दीमा नेपाल प्रज्ञा–प्रतिष्ठानको आख्यान विभाग र स्थानीय संस्था बाँके–बागमती सेवा समाजद्वारा संयुक्त रुपमा ‘समकालीन नेपाली आख्यानमा तराई/मधेशको योगदान’ विषयक विचार गोष्ठीको आयोजना गरिएको छ । यही चैत्र १० गते शनिबार सम्पन्न सो विचार गोष्ठी समकालीन नेपाली आख्यान साहित्यमा तराई÷मधेशको अवस्था र योगदानका बारेमा विमर्श गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।

गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका आख्यान विभाग प्रमुख प्राज्ञ मातृका पोखरेलले समकालीन नेपाली आख्यान साहित्यमा तराई÷मधेशको योगदान निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपाल आख्यान साहित्यलाई समृद्ध बनाउनमा तराई/मधेशको योगदानको चर्चा जति गरे पनि अधुरै रहने उल्लेख गर्दै आख्यान विभागले ‘नेपाली कथा कोश’ र ‘नेपाली उपन्यास कोश’को तयारी गरिरहेको सुनाउनुभयो । प्राज्ञ पोखरेलले प्रत्येक स्थानीय तहले भाषा, साहित्य, कला र संस्कृतिका लागि योजना बनाएरै काम गनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग सदस्य प्राज्ञ शशी लुमुम्बूले राष्ट्रको समृद्धिमा साहित्यको ठूलो भूमिका रहने उल्लेख गर्नुभयो । उहाँले भाषा, साहित्य, कला र संस्कृतिको विकासले मात्रै राष्ट्रको समग्र विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो । गाउँ–गाउँमा साहित्यिक कार्यक्रम आयोजना गरिनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा लालबन्दी नगरपालिकाकी उपमेयर शान्ति लामाले साहित्यले मानिसको आत्मा शुद्धि गराउनुका साथै सोचमा सकारात्मक परिवर्तन ल्याउने धारणा व्यक्त गर्नुभयो । लालबन्दीमा यस्तो कार्यक्रम हुनु गर्वको विषय भएको उल्लेख गर्दै उपमेयर लामाले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवद्र्धन एवं समृद्धिका लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउनुभयो ।

कार्यक्रममा साहित्यकार विवश पौडेलले ‘समकालीन नेपाली आख्यानमा तराई/मधेशको योगदान’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो । गोष्ठीपत्रमा उहाँले समकालीन नेपाली आख्यानमा तराई/मधेशको योगदान उल्लेखनीय रहेको चर्चा गर्नुभएको थियो ।

पौडलको गोष्ठीपत्रमाथि साहित्यकार गोपाल अश्क र कृष्ण दाहालले समीक्षा गर्दै गोष्ठीपत्रमा धेरै कुरा छुटेको बताउनुभयो । अश्कले गोष्ठीपत्रले योगदानभन्दा पनि सर्भेक्षण गरेको भन्दै आवश्यक सुधार गर्न सुझाब दिनुभएको थियो ।

बाँके–बागमती सेवा समाजका सचिव नवराज सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका सदस्य परशुराम घिमिरे ‘निदान’, कवि सुवेदी र सुमन घिमिरेले सर्लाहीको साहित्यिक अवस्था र आयोजित गोष्ठीका बारेमा प्रकाश पार्नुभएको थियो ।

उक्त अवसरमा अतिथि कवि टीका चाम्लिङ, भाष्कर काजी, जीवन आचार्य, डिल्लीरमण भट्टराई, ध्रवराज गिरी ‘रोदन’, कुमार कुसुम, सुमित्रा आचार्य, रामनरेश महतो र टीका श्रेष्ठले कविता, गीत तथा गजल सुनाउनुभएको थियो ।