प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा कुन्दन अर्याल

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा कुन्दन अर्याल


राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत १५ गते विहिबार दिउँसो ४ बजे संघीय संसदमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । निर्वाचनपछि दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको यो पहिलोपटक हो ।

बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद बैठकपछि सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दिनुभएको जानकारीअनुसार बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा डा. कुन्दन अर्याल र जनसम्पर्क सल्लाहकारमा अच्युत मैनालीलाई नियुक्त गरेको छ ।

यस्तै, घर बहालमा दोहोरो कर नलगाउने, रानीजमरा सिँचाइ आयोजनाको जग्गाको क्षतिपूर्ति व्यवस्थापन गर्ने, निर्वाचनका समयमा बम विष्फोटन र महिला हिंसाका घटनामा परी घाइते भएकाहरुको अस्पतालमा लागेको खर्च ब्यहोर्ने निर्णय पनि भएको छ ।

यसैगरी बैठकले संघीय संरचनाअनुसार प्रदेश सरकार, प्रदेशसभा र जिल्ला समन्वय समितिका संयोजकसम्मलाई कूटनीतिक राहदानी प्रयोगको व्यवस्था गर्ने, नेपाली सेनाका १३ जना महासेनानीको सेवा अवधि दुई वर्ष थप गर्नेलगायत निर्णय गरेको छ ।