शिक्षकमा खुला प्रतिस्पर्धाको माग राख्दै अनशन

शिक्षकमा खुला प्रतिस्पर्धाको माग राख्दै अनशन


शिक्षक सेवा आयोगले यही चैत २३ गते लिन थालेको शिक्षकको आन्तरिक परीक्षा स्थगित गनुपर्नेलगायत विभिन्न आठबुँदे माग राख्दै विद्यार्थी संघर्ष समिति नेपालले आमरण अनशन शुरु गरेको छ । माइतीघर मण्डलामा शुरु गरिउको विरोध कार्यक्रबीच समितिका संयोजक पुष्कर शर्माले शिक्षा ऐन २०२८ नवौँ संशोधनबमोजिम आन्तरिकतर्फ मात्र परीक्षा लिन थालेकाले त्यसमा दक्ष जनशक्तिले प्रतिस्पर्धा गर्न नपाउने परिस्थिति बनेको भन्दै परीक्षा स्थगित गर्न माग गरिएको बताए । परीक्षा स्थगित गरी खुला प्रतिस्पर्धाबाट दक्ष जनशक्ति राख्नुपर्नेमा उनले जोड दिए ।

विसं २०७२ असोज पछाडि रिक्त रहेका पदसमेत समावेश गरी पदपूर्तिका लागि खुला विज्ञापन गरिनुपर्ने, प्रत्येक वर्ष शिक्षक सेवा आयोगले खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि विज्ञापन खुलाउनुपर्ने, अध्ययन अनुमतिपत्र रहेका वर्ष खुलाउनुपर्ने माग सो समितिको छ ।

यस्तै शिक्षा ऐन २०२८ नवौँ संशोधन राष्ट्रको हितमा नरहेकाले तत्काल खारेज गर्नुपर्ने, सम्पूर्ण सरकारी कर्मचारी तथा शिक्षकको आफ्ना छोराछोरी अनिवार्यरुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने, शिक्षामा राजनीतिक हस्तक्षेत बन्द गर्नुपर्ने लगायतका माग समितिले राखेका छन् ।

हेमराज थापा, राजन लम्साल, रामचन्द्र शाही, मिलन बास्तोला र शशांक बोहरालगायत अनशनमा बसेका छन् ।