धेरै वर्ष पहिले एकजना नेपाली साहित्यकार अरूको भावनासित खेलवाड गरेर, सीधै भन्नुपर्दा अवसरवादी बनेर अमेरिका पुगेको कुरा मैले सुनेको थिएँ । को, के भन्दै बुझ्दा त साहित्यकार विवेक पो रहेछन् । ‘ठीकै भयो नि, जसरी गए पनि गए आफ्नो जीवन त सुधारे ।’ त्यतिबेलाको मेरो टिप्पणी त्यही थियो । मलाई एकजना साहित्यकारको उद्धारै भएछ भन्ने लागेको थियो । अर्कालाई आएको सिटमा अनेक तिकडम मिलाएर आफ्ना लागि बनाएर टिकट पनि अरूलाई नै प्रयोग गरेर ठगठागमै बिदेसिएका साहित्यकारबारे स्वदेशमा त चर्चा भएकै थियो । नेपालमा भएका यी सब कुरा थाहा पाएर अमेरिकामा पनि कार्यक्रममा कोही पनि नबोलेकोले उनले लगाएको जुत्ता पनि १८ घन्टा खोल्न पाएनन् रे भन्ने सुनेकी थिएँ । जे भए पनि नेपालको साहित्यकार त थिए, किन हेपेका होलान् त ? ठूलाबडालाई नदिएर ती साहित्यकारलाई त्यस्तो निमन्त्रणा किन आउँथ्यो र यदि उनले चाल नचलेको भए ? ठीकै त भयो । उसलाई चिन्नेजान्ने प्रत्येकको मुखमा उसैको चर्चा चलेको थियो त्यस समय ।
समयले काँचुली फेर्दै गयो । उनलाई बिस्तारै नेपालका मानिसले बिर्संदै गए, त्यसमा म पनि थिएँ । दिन बित्दै गए म पनि पुगँे अमेरिका र मलाई त्यहाँ रूपशीले आफ्नो डेरामा लिएर गएकी थिइन् । उनी पनि साहित्यकारहरूको सम्मेलनमै भाग लिन त्यहाँ पुगेकी रहिछन् । मलाई थाहा थिएन, मैले नदेखेको तर चर्चा सुनेको विवेक उनको मित्र रहेछन् र विवेकको पहलबाटै उनी पनि अमेरिका पुगेकी रहिछिन् । म त्यहाँ पुगेको बेलामा विवेक नेपालतिर आएका थिए, त्यसैले मैले भेट्न पाइनँ ।
एक रात म कामबाट फर्किंदा एउटा नौलो अनुहार घरमा देखेँ । रूपशीले चिनाउँदै भनिन्, उहाँ विवेक । सामान्य कुराकानीपछि विवेक लागे आफ्नो डेरातिर । अब विवेकसित भेट भइरहन्थ्यो मेरो पनि ।
‘ओहो नेपालमा त निकै धनी भनेर सुनेको मान्छे । व्यापारमा निकै घाटा लागेर सडकमा नै आइपुगेको रहेछ कि के हो ? तीनपल्ट म आउँदा एउटै लुगामा देख्छु नि । फेरेर लगाउने लुगा पनि छैन कि क्या हो ? सडकछाप पो रहिछन् बिचरी ।’ म बाथरुम पसेको बेलामा मौका छोपेर विवेकले रूपशीलाई यो कुरा सुनाएको थियो होला, तर मेरो कानमा परिहाल्यो । ओहो म त सातदिनको भिसा लिएर अमेरिका पसेको मानिस । अरूको अनुकम्पाबाट सात दिन घुमेर फर्किने भिसा पाएको मैले गल्फबाट निस्कँदा पसिना चुहाउँदै स्वेटर बोक्ने कुरा थिएन । अमेरिका पस्नासाथ डलर टिप्न पाइने पनि होइनरहेछ, काम थिएन अनि जाडोको लुगा किन्न नसक्ने मेरो आर्थिक अवस्थामा म जाडो छल्न एउटा भएको ट्रयाक सुटबाहेक के लगाउँथेँ त ? तर, विवेकलाई मेरोबारे केही थाहा थिएन अनि सायद सडकछापको मिनिङ पनि थाहा थिएन होला । थाहै नपाएर सायद उनले मलाई सडकछाप भनेका होलान् । मलाई त्यो दिन नरमाइलो लाग्यो । कस्तो सानो सोचाइको मानिस रहेछ । जे होस् मेरो स्थिति त त्यस्तै पनि थियो अनि म के नै भन्न पनि सक्थेँ र ?
बिस्तारै दिनहरू बित्दै गए । मैले पनि काम पाएँ । रूपशीको अभिन्न मित्र नेपालबाट एउटा खैरेसित लिखितमा सक्कली र व्यवहारमा नक्कली विवाह गरेर अमेरिका आइन् । उनी आएपछि त मलाई आफ्नो दिदीभन्दा पनि बढी माया गर्ने रूपशीको व्यवहार पनि मप्रति बेग्लै हुन थालेको मैले महसुस गरेँ । रूपशीले मेरो सामुन्ने त मलाई बिज्ने केही कुरा गर्दिनथिइन् तर व्यवहारमा विवेक र उनकी मित्र जुनुको भावनाअनुरूप उनी पनि चल्न थालेकी थिइन् । म घरमा बसेर निरश दिन काट्नुभन्दा काममै समय बिताए पैसा पनि आउने दिक्दार पनि हुनु नपर्ने भनेर धेरै समय म काममै बिताउन थालेकी थिएँ । मैले अमेरिका पस्नासाथ रूपशीको बिस्तरामा रात बिताउने मौका पाएकी थिएँ भने उनको मित्रको आगमनपछि मैले जिन्दगीमा नभोगेको ओच्छ्याएको डस्नाको खोल ओडेर सुत्नुपरेको थियो । म विश्वको सबभन्दा धनी देशमा गएर जिन्दगीको सबभन्दा गरिब भएको अवस्थाको अनुभव गर्दै दिन काटिरहेकी थिएँ ।
नेपालबाट वासिङ्गटन डीसीमा केही महिला नेतृहरू आएका रहेछन् । विवेक रूपशी र जुनुले धेरै पहिलेदेखि कहीँ जाने योजना बनाइरहेको त सुनेको थिएँ तर कहाँ जाने योजना बनाएको मैले पत्ता पाइनँ र सोध्ने चासो पनि दिइनँ । पछि जुनुले कार्यक्रमबाट फर्केर आएपछि भनिन् कि नेपालबाट आएको टोलीमा दुईजनाले मेरोबारे सोधेका रहेछन् । तर, दिदी तिमीसित बाहिर हामीसित हिँड्दा लगाउने लुगा नभएकोले हामीले तिमीलाई नलगेको हो । कामबाट आएको पैसाले सबभन्दा पहिले मैले ओड्ने–ओच्छ्याउने किनँे र बिस्तारै लगाउने कपडा, जुत्ता आदि सामान किन्दै गएँ । म सामान्य घरको काम पनि नोकरबाट गराउने बानी परेकी महिला अमेरिकामा गएर दिनको १६ घन्टा गोराहरूको चर्पी सफा गर्नेदेखि लिएर दिनभर उभिएर सेन्डविच बेच्ने काम गरिरहेको थिएँ । बेलुका थाकेर कति बेला बिस्तरामा पुग्नुपर्नेजस्तो भएको हुन्थ्यो भने धेरै वर्ष दालभात खाएको मुखले भात पाए पनि हुन्थ्योजस्तो लाग्नु स्वाभाविक पनि थियो । हामी सबै रातमा सँगै बसेर खाना खान्थ्यौँ । तर, जुनुले एक दिन मलाई भनिन्– दिदी विवेकले भनेको हजुरलाई खाना खान पनि आउँदैन रे त्यसैले ऊ आएको बेलामा हजुर खाना अगाडि या हामीभन्दा पछाडि खानु ल । ओहो नेपालमा त धेरै ठूलाबडा र मन्त्रीहरूसित पनि एउटा टेबुलमा बसेर खाएकी मैले अमेरिकामा मान्छेको अगाडि पनि खान नजान्ने भएँ छु । जुनुले सँगै खाना नखानेभन्दा रूपशी पनि मेरो अगाडि बसेर मुसुमुसु हाँसिरहिन् । केही दिन पछाडि विवेकलाई र अमेरिका आएर नेपालको श्रीमान्को दर्जामा पुराइसकेको जुनुको प्रेमीलाई सेल खान मन लाग्यो रे । दुई प्रेमीको फर्माइसमा सेल पाकेछ । उनीहरूको भागमा भाँडोभरि सेल थियो भने मलाई भनेर दुईवटा सेल छुट्टै राखिएको थियो जुन रूपशीले त्यो हामीलाई हो यो हजुरलाई भन्दै दिँदा म छक्क परेकी थिएँ । हामी मेसमा खान्थ्यौँ, सबै बराबर भाँडा र खानाको पैसा तिर्दथ्यौँ । म सातै दिन काम गर्ने हुनाले अरूभन्दा घरमा कम बस्ने र खाने म नै थिएँ तर मलाई खान, बस्न, हिँड्न, लगाउन नजान्ने भनेर आरोप आइरहेको थियो ।
जुनु पेपरम्यारिज गरेर हरियो पत्ता लिएर अमेरिका पसेकी, निकै घमण्ड थियो, सानोतिनो काम नगर्ने । काम नगरेर कति दिन हुन्छ र मेसमा दिने पैसा सकिँदै गएर हो या प्रेमीसित बस्न मन लागेर हो उनी लागिन् प्रेमीसितै बस्नेगरी अर्को स्टेटतिर । म काम गरिरहेकी थिएँ । विवेक र रूपशी आफ्नै दुनियाँमा मस्त थिए । विवेकले रूपशीलाई अमेरिकामा विवाह गर्ने भनेर ल्याएको रहेछ तर रूपशीको पैसाले घर, गाडी सबै किनेर नेपालमा भएकी श्रीमती र एक छोरालाई लिएर आएछन् । विवेककी श्रीमती आएको रूपशीले दुई महिनापछि थाहा पाइन् । उनी पागलजस्तै भएकी थिइन् । त्यसबेला उनलाई सम्झाउनु मेरो कर्तव्य थियो । रूपशी र विवेकको साह्रै नराम्ररी झगडा भएको थियो त्यसबेला । झगडा त रूपशीले गरेकी थिइन् विवेक स्थितिलाई सम्हाल्न खोज्दथे तर उनी सफल भएनन् । सफल हुन सक्ने कुरा पनि थिएन, किनकि उनले रूपशीलाई त ठूलो धोका दिएका थिए नि । म रूपशीलाई मात्र सम्झाउँदै ती दुईको रिसको चर्तिकला नजिकबाट नियालिरहेकी पनि थिएँ । रूपशीले नेपाल फर्किने नै विचार गरिन् । उनलाई पुर्याउन म पनि उनैको साथमा एयरपोर्टसम्म पुगेकी थिएँ । उनी बोर्डिङ पास लिएर भित्र पसिसकेपछि विवेक पनि आइपुगे । मैले फोन गरेर रूपशीलाई विवेक आएको जानकारी दिएँ, उनी भित्र गइसकेकी पनि कुन–कुन चोरबाटोबाट बाहिर निस्किइन् । उनी विवेकसित त्यो समयमा रोएको देख्दा मेरो मन पनि थामिएन । रूपशीको विश्वासमा चट्याङ परेको थियो भने विवेकले पनि उनको तर्फबाट त आफ्नो श्रीमतीलाई ल्याउनु गल्ती त गरेको थिएन । रूपशीलाई बिदा गरेर विवेककै गाडीमा म पनि फर्किएँ । हामी दुवै मौन थियौँ, बोल्न दुवैलाई मन नभएकोजस्तो, तर मेरो मनमा भने अनेक कुरा खेलिरहेका थिए– परिणाम यस्तो हुन्छ भन्दाभन्दै वैवाहिक जीवन बिताइरहेका मानिस आफ्नो घर–परिवार बिर्सिएर अरू नै मानिससित भावनात्मक सम्बन्ध गाँस्न किन पुग्छन् ?
प्रतिक्रिया