भीमबहादुर तामाङको अन्तिम शिक्षा

भीमबहादुर तामाङको अन्तिम शिक्षा


—शिवजी श्रेष्ठ
कसै–कसैको मृत्यु, अनि मृत्युपछाडि उनको बारेमा गरिने टीका–टिप्पणीले उनको विगत दर्शाउँछ । कुनै–कुनै ‘आहा’ भन्ने लोभलाग्दो हुन्छ भने कसै–कसैको घीनलाग्दो । केही महिनाअगाडि जब नेपालका केही नेता बिरामी भएर अस्पतालमा भर्ना हुँदै गरेका समाचार अनलाइनमा आउँदै थिए, ती समाचारका मुनि प्रकाशित पाठक प्रतिक्रिया घीनलाग्दो, अझ भनौँ डरलाग्दा थिए । ‘कामना’ थिए तर ‘शुभ’ थिएन ।
गत शनिबार नेपाली काङ्गे्रसका नेता भीमबहादुर तामाङको आकस्मिक निधनपछिका प्रतिक्रियाहरू साँच्चै ‘आहा’ भन्ने खालका थिए । भनौँ, नेताहरूका लागि त अझ लोभलाग्दा र प्रेरणादायी थिए । जस्तै एकजना मित्रको फेसबुक स्टाटसमा आँखा पर्‍यो, उनले बडो दु:खी भएर लेखेका थिए, ‘समकालीन राजनीतिक आस्थाका धरोहरको आकस्मिक निधनमा स्तब्ध’ अर्थात् भीमबहादुर तामाङको निधनमा उनको भावविह्वलता पढ्न सकिन्थ्यो । ती मित्र भीमबहादुर तामाङभन्दा फरक पार्टीमा आस्था राख्ने अझ भनौँ कुनै कार्यकारी पदमै कार्यरत थिए र छन् । ती पङ्क्ति पढ्दै गर्दा मैले दुईवटा कुरा महसुस गरेँ, एक– ती मित्रको पूर्वाग्रहविहीन महानता, जो विपरीत पार्टीका नेताको महानतामा खुलेर प्रशंसा व्यक्त गर्ने महानता प्रकट गर्दै थिए भने अर्को भीमबहादुर तामाङले विपरीत आस्थावानहरूबाट पनि जित्न सकेको आस्था । आफ्नै पार्टीका आस्थावानहरूबाट झापट खाइरहेको ताजा परिस्थितिमा यसरी फरक विचारधाराहरूबाट यत्रो सम्मान अनि सद्भाव ।
यता सत्तारुढ पार्टी एनेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले दिएको प्रतिक्रिया पनि मननीय छ । स्वर्गीय तामाङलाई नेपाली राजनीतिमा वैचारिक, निष्ठा र सरलताको प्रतीक भन्दै उनको सरल गुणबाट शिक्षा लिने प्रण गर्दै थिए । स्व. तामाङ आबद्ध पार्टीमा आस्था राख्नेहरूको प्रतिक्रिया त स्वभावत: सकारात्मक हुने नै भए । यसबीचमा उनले आजभन्दा ६ दशकअगाडि आफैँले चित्राले बारेर स्कुल सञ्चालन गरेर पढाएका विद्यार्थीका प्रतिक्रिया, जिरीका जिरेलहरूका अनुभूति, छोराछोरीका गुनासो, सहयात्रीहरूको संस्मरणहरू आइरहेछन् ।
मलाई यतिखेर आजभन्दा २५/२६ वर्षअगाडिको एउटा सन्दर्भ याद आइरहेछ । ०४३ तिर जब ओखलढुङ्गाका पूर्वमाननीयको निधन भएको थियो । आर्यघाटबाट दाहसंस्कारपछि हिँड्दै फर्कंदै गर्दा बाटोमा अर्का पूर्वमाननीयसँग त्यस दिनको कुरा हुँदै थियो, किनकि तत्कालीन प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीलगायतका नेताहरू पनि मलामीका रूपमा रहेका देख्दा सायद तिनका परिवारले गौरव महसुस गरे होलान् भनेर । प्रसङ्गबीच मैले सोच्दै नसोची प्वाक्क बोलिदिएछु– ‘उहाँ जे भए पनि सामन्ती हुनुहुन्थ्यो रे होइन ?’ बोलिसकेपछि म झस्केँ, ‘ला के बोलेछु ?’ तब ती पूर्वमाननीयले भनेका थिए, ‘ऊ क्या त, मर्दा लैजाने यत्ति हो, तिमीले जे देख्यौ त्यही भन्यौ ।’ आज पनि ती प्रसङ्ग बेलाबेलामा सम्झन्छु ।
स्व. भीमबहादुर तामाङको छोराछोरीलाई अहिले वास्तवमा पछुतो होला, अनि गौरव पनि । पछुतो यस माने कि ‘हाम्रा बाबाको अन्त्य कसैले
(राधेश्याम अधिकारी)ले शरण दिएको कोठामा उनकै काखमा भयो, हामी भने बुबाले केही नकमाइदिएको, केही नगरिदिएकोमा उहाँसँग टाढियौँ । अनि
गौरव यस माने कि बुबा कति सम्मानित र महान् रहेछन् ? सबैले कति सम्मान गरे ।
भनिन्छ, राष्ट्रपतिको चुनावताका उनै भीमबहादुर तामाङलाई प्रस्ताव गरिएको थियो, तर उनले ‘अब स्वतन्त्र मर्न चाहन्छु’ भनेर नकारे । हुन त परिस्थिति अलग थियो । राष्ट्र केही समयअगाडि जाति–जनजातिको सङ्क्रमणमा पर्दा उनले निर्भीकता, निष्पक्षता देखाएर समन्वयका पक्षमा उभिए । ‘पहिचान मेटिने, द्वन्द्व मेटिने’ सूत्रका सूत्रधार उनै थिए । जसले क्षणिकता हेरेनन् र अडान पनि फेरेनन् । मास्टर भीमबहादुरका रूपमा स्वयम्सेवक भएर सामाजिक जीवन सुरु गरेका उनले बीपीका सेवकका रूपमा आफ्नो राजनीतिलाई अगाडि बढाइरहे, सायद त्यसैबेला उनले जाने होलान् राजनीतिमा लाग्नेले आफ्ना छोराछोरीका लागिभन्दा पहिला अरूका लागि सोच्नुपर्छ । एक प्रसङ्गमा डा. शशांक कोइराला बीपीसँग रिसाएका छन्, जब भारतमा मेडिकल पढ्ने कोटा आउँदा शशांक कोइराला आफैँ त्यो कोटामा पढ्न जान्छु भन्दा बीपीले ‘तैँले त पछि पनि मौका पाइहाल्छस्, अहिले कार्यकर्ताको छोरालाई मौका दिनुपर्छ’ भन्दै चन्द्रमोहन यादव (डा. रामवरण यादवका छोरा) लाई मेडिकल पढ्न पठाएका थिए । त्यसैले नै बीपी बीपी हुन सके, उनका समकालीन नेताहरू कहाँ पुगे ? भीमबहादुर तामाङले पनि आफूमा सायद त्यही नियम लागू गरे । त्यसैले उनको निधनपछि पनि उनकी छोरीले एक टीभी अन्तर्वार्तामा गुनासो गरिन्, ‘मेरा बाबाले तँ पढेर खाँदैनस् भन्दै अरूलाई जागिर दिए ।’
प्रचण्डले स्वर्गीय तामाङबाट ‘सिक्छु’ भनेझैँ अन्य सम्माननीय नेताहरूले पनि सिक्नैपर्ने कुरा, सरलता । सरलता बढो एक्लो हुन्छ तर गुणात्मक रूपमा मूल्यवान, जसलाई पछ्याएपछि महँगो मूल्य तिर्नुपर्दैन । अनि वैचारिक निष्ठामा दृढता । ‘जता मल्खु उतै ढल्कु’ले कालान्तरमा शून्यता मात्रै दिन्छ । क्षणिक केही दिन्छ तर दीर्घकालीन रूपमा भने धेरै कुरा लिन्छ । अर्को, आस्थाको हकमा पार्टी विचारबाट निर्देशित रहे पनि राष्ट्रिय आवश्यकताको हकमा पार्टीका विचार अनि सबै कुराबाट माथि उठ्नुपर्छ । सायद त्यसैले होला भीमबहादुर तामाङलाई दोलखामा चुनाव हराउने एमालेका पशुपति चौलागार्इंले ‘चुनावमा प्रतिद्वन्द्वी भएर लडेको अवस्थामा पनि सम्मान गर्ने भनेका । अचम्म लाग्छ नि अहिलेको गाँड कोराकोरमा यी कुरा । ‘अरू नाचेका, हाम्रा नानीका बाउ हल्लेका’ भनेर अन्ध राजनीतिक हुने हाम्रो देशमा यी पक्ष मननीय छन् ।
सबैभन्दा हाम्रा समकालीन नेताहरूले भीमबहादुर तामाङबाट सिक्नैपर्ने कुरा, पारिवारिक मोहबाट टाढा । राजनीतिमा लाग्नेहरूका लागि राष्ट्र नै परिवार हो, होइन भने सामान्य जीवन जिउनुपर्छ । राजनीतिमा विकृति ल्याउने नै परिवारमोह हो, त्यसैले गर्दा समकालीन विश्वका धेरै नेताले विगतमा गरेका त्याग, बलिदान परिवार र सन्तानकै मोहका कारण धुमिलिएका छन् । सायद त्यसैले सुकरातले शासक वर्गलाई विवाह गर्नमा रोक लगाउनुपर्छ भनेका । यस्तोमा हो, सन्तान खुसी नहुन सक्छन्, जसरी स्वर्गीय तामाङका छोराछोरी खुसी भएनन् र सम्पर्कमा बसेनन् । तर, हजारौँहजारले उनीप्रति आस्था प्रकट गरे, सम्मान व्यक्त गरे ।
आफ्ना सन्तानका लागि भनेर हिजोका त्याग, तपस्या बिर्सिएका नेताहरू राजनीतिमा उठ्नै नसक्नेगरी पतित भएका दृष्टान्त नेपाली समकालीन राजनीतिमा धेरै छन् । सन्तानका लागि भनेर कमाउँदा, जोरजाम गर्दा या मर्यादा नाघ्दा हुनसक्छ केही जमाउन सकिएला, थुप्रिएला । तर, कालान्तरमा ती सन्तानबाट नै बेचिएर (विभिन्न रूपमा) सकिन्छ । तर, त्यसभन्दा माथि उठेर कमाइएका राजनीतिक उचाइ, स्थान यस्ता हुन्छन्, जसलाई सन्तान–दरसन्तानले बेचेर पनि सक्दैनन्, बरु ब्याजको रूपमा पुस्ता–पुस्तासम्म खाइरहन सक्छन् । जसरी, भारतमा नेहरूका सन्तानले ब्याज खाइरहेछन् अनि अमेरिकामा केडेनीका, पास्कितानमा भुट्टोका सन्तानहरूले बेलाबखतमा त्यसरी नै राजनीतिक ब्याज खाइरहेका छन् । नेपालमा पनि परिवारको साथ र समझदारीमा बीपी कोइरालाले त्यो उचाइ बनाएका छन्, जसको ब्याज चिरकालसम्म खान सक्नेछन् ।
भीमबहादुर तामाङबाट समकालीन नेताहरूले पनि सिक्न सके, अहिले जसरी सन्तान र परिवारका नाममा विवादित हुन, प्रताडित हुन पर्ने थिएन । बरु अहिले ती सन्तानका लागि सम्पूर्ण मर्यादा नाघ्नबाट आफूलाई रोक्न सके तिनै सन्तानले बेचेर पनि नसकिने ब्याज चिरकालपर्यन्त खान पाइरहने थिए, अनि भीमबहादुर तामाङले जसरी मृत्युपर्यन्त पनि पक्ष–विपक्षमा सबैतिरबाट सम्मानजनक सद्भाव पाइरहने थिए । सायद, स्वर्गीय मास्टर भीमबहादुर तामाङबाट लिने अन्तिम शिक्षा पनि यही होला ।