जहाँ पशुपतिनाथ नै अनाथ तुल्याइएका छन्

जहाँ पशुपतिनाथ नै अनाथ तुल्याइएका छन्


—शोभा त्रिपाठी
सर्वोच्च अदालत न्यायाधीशविहीनता, निर्वाचन आयुक्तहरूको रिक्तता तथा अन्य संवैधानिक निकायहरूमा समेत आवश्यक पदाधिकारीहरूको अभावका कारण उत्पन्न हुनसक्ने अप्ठ्यारामाथि विचार पुर्‍याउँदै कानुनी जटिलता फुकाएर समस्या समाधान गर्ने प्रस्ताव लिएर राष्ट्रपतिसमक्ष गएका प्रधानमन्त्री शीतलनिवासबाट रित्तै फर्कनुपर्‍यो । ‘पटक–पटक खुद्रा–मसिना कुरा लिएर आफूकहाँ नआउनु, सामथ्र्य छ भने सबै समस्या एकैपटक हल हुने एकमुस्ट फर्मुला बोकेर मात्र आउनू’ भन्ने उर्दी राष्ट्रपति महोदयबाट जारी भएपछि संसद्को बहुमतबाट चुनिएर प्रधानमन्त्रीको ओहोदा पाएका डा. बाबुराम भट्टराई सम्भवत: मज्जैसँग रन्थनिए होलान् । प्रधानमन्त्री भट्टराईले पक्कै पनि सोचेका थिएनन् होला सपहीमा भैँसी चराएको पृष्ठभूमिबाट काङ्ग्रेसको राजनीतिमा फाल हानेका र कोइरालाहरूको विशेष छत्रछहारीमा राजनीतिक तरक्की गर्दै राष्ट्रपतिको कुर्सीसम्म चढ्न पुगेका मधेसका यादवले यस्तो निष्ठुर र मुलुकपीडक व्यवहार प्रदर्शन गर्लान् भनेर । तर, बाहिरबाट रुखा र खराझैँ लाग्ने गोर्खेली भट्टराईको सोझोपनको नाजायज लाभ उठाइहाले सपहीका यादवले । काङ्ग्रेसी राजनीति त्यसमाथि पनि गिरिजाप्रसाद कोइरालाको सेपमा ठिङ्ग्रिएर चाम्रिएका रामवरण यादवले सत्ताको कखरा भर्खर सिक्दै गरेका भट्टराईलाई नजाने अझ कति सताउने हुन्, हेर्न पाइएला नै । तथापि, संसद्विहीनताका कारण लेखा समिति बन्द, आयुक्तहरूको अभावमा अख्तियार र निर्वाचन आयोग ठप्प, अन्य कैयन संवैधानिक निकायमा पदाधिकारीको रिक्तताले राज्य संयन्त्रहरूमा खिया लाग्ने खतरा नाकैमुनि देखापर्दा पनि मुलुकको अभिभावकीय भूमिकामा रहेका व्यक्तिलाई तातो नलाग्नु आश्चर्यकै कुरा हो । के काङ्ग्रेस र एमालेहरूको बहकाउमा परेर राष्ट्रलाई भड्खालोमै हाल्न तयार हुँदै छन् राष्ट्रपति यादव ?
मुलुकमा आइपरेको समस्याजति सबै सरकारको थाप्लोमा थोपरेर दोषी देखाउन उद्यत् विपक्षीहरूको नियत पनि वास्तवमा देश डुबाउने नै पो हो कि भन्ने भान उनीहरूको एकलकाँटे ढिपीबाट परिरहेको छ । नेपाल डुब्दा बाबुरामहरू मात्रै डुब्छन् आफूहरूचाहिँ सकुशल रहनेछु भनी ठान्ने कालीदास–मनोवृत्तिले एमाले र काङ्ग्रेसका टाउकेहरूलाई कहाँ पुर्‍याउला ?
जति जे–जे बिघ्न परे पनि पशुपतिनाथले रक्षा गर्छन् भन्दै मनपरी गर्न खोज्दा अढाइ सय वर्षको हालिमुहाली नै गुमाउन पुगेकाहरूको हरिविजोग आँखैअघिल्तिर देख्दा पनि त्यसबाट पाठ सिकेर व्यवहार गर्न नखोजेबाट राष्ट्रपति यादवलाई राजपाटभन्दा भैँसी गोठालोको अवस्था नै आनन्दकारी महसुस हुनेरहेछ कि भन्ने जिज्ञासा पैदा हुन्छ । त्यसो त मुलुककै आराध्यदेवका रूपमा पुजिएका पशुपतिनाथको रखवारी गर्ने कार्यका लागि कुनै हिन्दू नै नभएझैँ जैनलाई ‘ठेक्का’ दिने गिरिजाप्रसादको गल्ती सच्याउनेतिर अहिलेसम्म ध्यान नपुर्‍याउनेहरूबाट सही र सकारात्मक कार्यको आशा गर्नु पनि निरर्थक छ । स्वधर्म नै अलग रहेका रहेका व्यक्तिको हातमा श्रीपशुपतिनाथको वागडोर सुम्पिएपछि पशुपतिनाथले पनि के रक्षा गरून् ? पशुपतिनाथमा पूजा गर्न जानेले अहिले फूल किन्न नपाउने, फूल बेचेर गुजारा चलाउनेले धन्दा गर्न नपाउने अवस्था सिर्जना गरिएको छ यतिबेला । फूल–माला, अबिर–अक्षता, जौ–तिल र लावादिले धपधपाउँदो देखिने पशुपतिनाथ फुस्रो–धुस्रो बन्न पुग्नुमा दोष कसको छ भनी धर्मनिरपेक्षताको निर्णयमा अनावश्यक टाउको दुखाउनेहरू किन खोजीनिती गर्दैनन् ? केवल सत्ताको तिगडमबाजीमा मस्त रहनेहरू हो, एकपटक गम्भीर भएर हेर– देश त भड्खालोको डिलैमा छ है ।