नेपाल तेक्वान्दो सङ्घको निर्णय बदल्न दबाब

नेपाल तेक्वान्दो सङ्घको निर्णय बदल्न दबाब


राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले दशरथ रंगशाला परिसरमा अवस्थित हल राष्ट्रिय तेक्वान्दोे सङ्घ नेपाललाई उपलब्ध गराएपछि खेलकुदमा विवाद उत्पन्न भएको छ । सदस्यसचिव विष्टले दशरथ रंगशाला निर्माणको क्रममा रहेको र त्यहाँ अवस्थित सम्पूर्ण राष्ट्रिय सङ्घहरूलाई हल खाली गर्न केही साता पहिले निर्देशन दिएका थिए । राखेपको निर्देशनलाई पालना गर्दै गत साता नेपाल तेक्वान्दो सङ्घले पनि आफ्नो हल खाली गर्दै सातदोबाटोस्थित आफ्नै हलमा सरेको थियो ।

यतिबेला राष्ट्रिय खेलकुद परिषदमा नेपाल तेक्वान्दो सङ्घ र राष्ट्रिय तेक्वान्दो सङ्घ गरी दुईवटा तेक्वान्दो सङ्घ दर्ता भएका छन् । नाम र व्यक्ति फरक भए पनि दुवै सङ्घले तेक्वान्दो खेलको विकास र विस्तारमा समान भूमिका निभाइरहेका छन् । तर, विडम्बना ! नेपाल तेक्वान्दो सङ्घ राजकीय ठाँटबाँटका साथ खेलकुदमा आफ्नो हैकम देखाइरहेको कसैबाट छिपेको छैन । यसै कुरालाई आत्मसात् गर्दै गतसाता सदस्यसचिव विष्टले दशरथ रंगशालामा रहेको खाली हल राष्ट्रिय तेक्वान्दो सङ्घलाई प्रदान गरेका थिए । जुन हलमा पहिले नेपाल तेक्वान्दो सङ्घका खेलाडीहरूले प्रशिक्षण गर्दै आएका थिए ।

यतिबेला राष्ट्रिय तेक्वान्दोका खेलाडीलाई पनि राखेपले बन्द प्रशिक्षणमा राखेको छ । हलको अभावले गर्दा उनीहरूलाई उचित किसिमले प्रशिक्षण गर्न पाएका थिएनन् । त्यसका लागि राष्ट्रिय तेक्वान्दो सङ्घले हल उपलब्ध गराइदिनका लागि केही साता पहिलेदेखि नै पत्राचार गरेको थियो । सङ्घको सो अनुरोधलाई आत्मसात् गर्दै राखेपले हाल उसुका खेलाडीले प्रशिक्षण गरिरहेको ओलम्पिक कभर्ड हलमा राष्ट्रिय तेक्वान्दो खेलका खेलाडीको प्रशिक्षणको व्यवस्था मिलाएको थियो । बिहान र बेलुकीको दुई सिफ्ट गरेर दुई खेलका लागि राखेपले ओलम्पिकमा व्यवस्था मिलाए पनि दुवै खेलका खेलाडीका लागि कष्टकर बन्दै गएको थियो । यस्तो अवस्था सदस्यसचिव विष्टले बन्द प्रशिक्षणमा रहेका तेक्वान्दो खेलाडीलाई निरन्तर प्रशिक्षणका लागि दशरथ रंगशालाको हल प्रदान गरेका थिए ।

खेलकुदको अभिभावकको नाताले सदस्यसचिव विष्टले जुन निर्णय गरे त्यो आफैंमा प्रशंसनीय थियो । साथै त्यो विष्टको अधिकारक्षेत्रको कुरो पनि थियो । तर, त्यसैलाई मुद्दा बनाएर सदस्यसचिवलाई जुन धम्की र त्रास दिइयो त्यो खेलकुदको हितमा कदापि थिएन । प्राप्त जानकारीअनुसार राखेपका सदस्य र नेपाल तेक्वान्दो सङ्घका पदाधिकारी तथा खेलाडीले विष्टको कार्यकक्षमा उक्त निर्णय फिर्ता लिनुपर्ने दबाबसहित अभद्र व्यवहार गरेपछि खेलकुदको वातावरण सन्त्रासमय बनेको थियो । सो अवसरमा अनुशासनको नाममा ख्याति पाएको तेक्वान्दो सङ्घका खेलाडी र पदाधिकारीले सदस्यसचिव विष्टलाई अपशब्दसमेत बोलेको स्रोतले जनाएको छ । यो घटनाबाट तेक्वान्दो सङ्घको मै खाउँ मै लाउँ भन्ने घीनलाग्दो सोचको पनि पर्दाफास भएको छ ।

राज्यको सम्पत्तिमा दुवै सङ्घको उत्तिकै अधिकार छ । कसैलाई काखा र कसैलाई पाखा गर्न सकिँदैन । यस्तो अवस्थामा विष्टको कदम आमखेलाडीका लागि प्रेरणा बनेको छ । तर, कसैको उक्साहटमा व्यक्तिगत रिसइबी साँध्न सदस्यसचिव विष्टलाई बलिको बोका बनाइन्छ भने त्यो सह्य नहुने राष्ट्रिय तेक्वान्दो सङ्घका पदाधिकारीले बताएका छन् । यसका लागि आफूले जस्तोसुकै कदम चाल्न सक्ने चुनौतीसमेत दिएका छन् ।