प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाममा ‘केन्द्रिय जनअदालत (रोल्पा)द्वारा पन्ध्रदिने ‘वारेन्ट’ जारी गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमातहतको कथित ‘केन्द्रिय जनअदालत’ रोल्पालाई मुकाम बनाई अस्तित्वमा रहेको र सार्वजनिक स्थानमा सूचना टाँस भएको १५ दिनभित्र सोही अदालतमा उपस्थित भई स्पष्टिकरण दिन सूचना जारी गरिएको ‘केजरो’सम्बद्ध प्रकाशद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री ओलीमाथि गत फागुन ६ गते विराटनगरमा हुन लागेको राष्ट्रिय युवा जनस्वयमसेवकको सार्वजनिक कार्यक्रममा सहभागी हुन विराटनगर जाँदै गर्दा नेकपाका नेताहरू हेमन्तप्रकाश ओली ‘सुदर्शन’ एवम् पदम राईलगायतका थुप्रै युवाहरूलाई गिरफ्तार गरी झुट्टा मुद्दा लगाएको र यही चैत ५ गते नेकपा कोशी ब्युरो इन्चार्ज किरण राईलगायत नेताहरूलाई गिरफ्तार गरी धनकुटामा थुनामा राखेको अभियोग लगाइएको छ । सोही विषयमा स्पष्टिकरण दिन केपी ओलीको नाममा पत्र काटिएको नेकपा सुत्रले जनाएको छ ।
प्रधानमन्त्री ओलीलाई लेखिएको पत्रमा ‘मोहनप्रसाद ओलीको छोरा झापा स्थायी ठेगाना भई हाल भक्तपुर सूर्यबिनायक–२ बालकोट बस्ने तपाईं खड्गप्रसाद ओलीका विरुद्धमा केन्द्रिय जनअदालत रोल्पामा मुद्दाहरू परेको हुँदा सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको र तपाईंसँग केही बुझ्नुपर्ने भएकोले सूचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको १५ दिनभित्र जनअदालत रोल्पामा उपस्थित हुन सूचित गरिन्छ…’ भन्ने ब्यहोरा उल्लेख गरिएको छ ।
यसैगरी, प्रचण्डलाई पनि सोही शैलीको ब्यहोरासहितको पत्र काटिएको छ । प्रचण्डमाथिचाहिँ ‘महान जनयुद्धको शान्तिप्रक्रियामा आएपछि क्रान्तिप्रति विश्वासघात गरेको, दुस्मनलाई हतियार बुझाएको र जनमुक्ति सेनालाई विघटन गरेको, माथिल्लो कर्णाली, अरुण तेस्रोलगायत विभिन्न सम्झौता भारतीय कम्पनीहरूसँग गराउने काममा संलग्न रही राष्ट्रहितविरुद्ध काम गरेको, स्थानीय निकायको कथित चुनावमा कालीकोटको माल्कोटमा स्थानीय धनरुप बटाला र कैलालीका चन्द्रबहादुर सिंहसमेतको हत्यामा ‘गोली चलाउन आदेश दिनु’ भन्ने निर्देशन दिएको र नेकपाका कोशी ब्युरो इन्चार्ज किरण राईलगायत नेता–कार्यकर्तालाई बिनाकारण गिरफ्तार गराई थुनामा राखेको अभियोग लगाइएको छ ।
ध्यान पुग्नुपर्ने कुरा चाहिँ के छ भने यसरी वारेन्ट काटिएका पात्रहरू यतिबेला मुलुकका सर्वाधिक शक्तिशाली ओहदा वा स्थानमा रहेका छन्, जसले यस आदेशको पालना नगर्दा उनीहरुमाथि कसरी–कस्तो कारवाही गरिनेछ भन्ने कथित केन्द्रिय जनअदालत’ले स्पष्ट खुलाएको छैन । तथापि, ‘तोकिएको समयमा उपस्थित नभएका केन्द्रिय जनपरिषद नेपालको नीति–नियमअनुसार हुने’ भन्ने ब्यहोरा पत्रमा लेखिएको छ ।
हेर्नुहोस ‘वारेन्ट’ पत्र-

प्रतिक्रिया