बच्चा जन्माउन उक्साउने नगरपालिकाको महिलाद्वारा विरोध

बच्चा जन्माउन उक्साउने नगरपालिकाको महिलाद्वारा विरोध


बढी बच्चा जन्माउन उक्साएको भन्दै महिलाले इलाम नगरपालिकाको विरोध शुरु गरेका छन् । नेपाल महिला संघलगायतका महिला अधिकारवादीले विरोध शुरु गरेका हुन् ।

उक्त नगरपालिकाले इलाम नगरभित्र जनसंख्या वृद्धि गर्न र स्तरोन्नति गरी उपमहानगरपालिका बनाउने भन्दै बढी बच्चा जन्माउने महिलालाई बढी रकम उपलब्ध गराउने निर्णय गरेको थियो । यो निर्णय महिलाका लागि स्वीकार्य नहुने महिला संघले जानकारी गराएको हो ।

महिला संघ, इलामका अध्यक्ष निर्मला सञ्जेलले महिलालाई बच्चा जन्माउने मेसिन मात्र नसम्झन नगरपालिकासँग आग्रह गरेकी छिन् । यस निर्णयले गरीबलाई अझ गरीब बनाउने, अशिक्षितको संख्या वृद्धि हुने महिला संघको भनाइ छ । नगरपालिकाका प्रमुख पुरुष भएकाले यस्तो निर्णय भएको भन्दै महिलालाई होच्याउने कार्य भएको महिला संघको ठहर छ ।

नगरमा भौतिक पूर्वाधार, सडक, स्वच्छ र पर्याप्त पिउने पानीको अभाव, स्वास्थ्य शिक्षा, व्यवस्थित बसोबासलगायतका कुरामा इलाम नगरपालिका कमजोर भएका अवस्थामा यस्तो निर्णय गरिनु लज्जास्पद भएको विरोधकर्ताहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा महिला संघ इलामका अध्यक्ष निर्मला सञ्जेल र सचिव बबिता लिङ्दमले हस्ताक्षर गरेका छन् ।

विज्ञप्ति उद्धृत गर्दै राससले जनाएअनुसार उक्त निर्णय सात दिनभित्र नसच्याए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनीसमेत दिइएको छ ।