एपेक्स बैङ्कको डेढ अर्ब ठगी प्रकरणले आर्थिक क्षेत्र तरंगित

एपेक्स बैङ्कको डेढ अर्ब ठगी प्रकरणले आर्थिक क्षेत्र तरंगित


छविलाल बगाले

नियामक निकाय नेपाल राष्ट्रबैंककै मिलेमतोमा भएको एपेक्स डेभलपमेन्ट बैंकको घोटाला काण्डले समग्र आर्थिक क्षेत्रमा चिन्ता थपेको छ । एपेक्स घोटाला नेपालको वित्तीय क्षेत्रको सबभन्दा ठूलो बदमासी मानिएको अवस्थामा अब सबैको ध्यान प्रहरी केन्द्रीय अनुसन्धान व्युरो सीआइबी तानिएको छ ।

एनसीसी बैंकमा गाभिएको एपेक्स डेभलपमेन्ट बैंकभित्र भएको डेढ अर्ब रुपैंयाको घोटालामा राष्ट्र बैंककै अधिकारीहरु मुछिएका छन् । तर उनीहरुले आफू जोगिने तरिकाले छानविन फाइल तयार पारी प्रहरीलाई बुझाएको खुलेको छ ।

एपेक्सका सन्चालक र व्यवस्थापनले चलाखीपूर्ण योजना बनाएर डेढ अर्ब रुपैयाँ घोटाला गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले पनि देखाएको छ । एपेक्सका तत्कालीन अध्यक्ष समेत रहेका विष्णु धितालको योजनामा भएको बैंक घोटालाले अन्ततः धितालसहित १८ जनालाई प्रहरीको फन्दामा पु¥याएको छ ।

ऋण प्रवाहमा मनलाग्दी
एपेक्स बैंकका तत्कालिन अध्यक्ष धिताल र अन्य पदाधिकारीहरुले कृत्रिम ऋणी खडा गरि ऋण प्रवाह गरेको, भिरालो पाखोबारी र कमशल जमिन धितो राखेर ऋण प्रवाह गरेको र ऋणीको नक्कली आयस्रोत बनाएर पनि ऋण प्रवाह गरेको अनुसन्धानबाट खुलेको राष्ट्र बैंकले जनाएको छ । उनिहरुले बैंकलाई डुबाउने खेल खेलेर यो स्थितीमा ल्याएको राष्ट्र बैंकका सह–प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । उनले राष्ट्र बैंकले फाइल लुकाएर बैंक घोटालाको प्रकरणलाई ओझेलमा पार्न खोजेको भन्ने आरोप निराधार भएको बताएका छन् ।

धितालसहित १८ जना सिआइबीको नियन्त्रणमा
राष्ट्र बैंकको प्रत्यक्ष नियन्त्रणमा रहेर कारोबार गर्दै आइरहेको एनसीसी बैंकमा खराब कर्जा बोकेको एपेक्सलाई लगेर मर्जर गराउन राष्ट्र बैंक भित्रैका कर्मचारीहरुको हात रहेको देखिन्छ । उता, घोटाला गर्ने बैङ्कका तत्कालीन अध्यक्ष धितालसहित १८ जनालाई प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले छानविन गरिरहेको छ । सिआइबीका प्रमुख पुष्कर कार्कीले अनुसन्धान तिब्र रुपमा भइरहेको जानकारी दिए । ‘नेपालको बैंकिङ इतिहासमा अहिलेसम्मकै ठूलो बदमासी हो ।’ प्रमुख कार्कीले भने, ‘ठगी काण्ड ठूलो भएको सुष्म तरिकारले अनुसन्धानको काम भइरहेको छ । छानविनको क्रममा नै भएकोले शंकास्पद भएको थाहा पाए अन्यलाई पनि पक्राउ गर्न सक्छौं ।’

राष्ट्र बैंकका कर्मचारी यतिबेला चुपचाप
खराब कर्जा बोकेको बैङ्कलाई जानाजानी नियतबस राम्रो संस्थामा गाभेर व्यक्तिगत फाईदा लिने राष्ट्र बैंकका कर्मचारीहरु यतिबेला चुपचाप छन् । मर्जरका क्रममा बैंकको समग्र सम्पत्ति तथा दायित्व मूल्यांकन (डिडिए) प्रतिवेदनमा एपेक्सको सम्पत्ति वास्तविक मूल्यभन्दा धेरै देखाउन झन ठुलो बदमासी भएको छ ।