यसै हप्ता प्रसारित चर्चित कार्यक्रम साझा सवालमा पूर्वराजदूत डा. भेषबहादुर थापाले भन्नुभयो, ‘म भारतमा राजदूत हुँदा हाम्रा एक नेताले त्यहाँका सुरक्षा सल्लाहकारसँग समय लिएर गोप्य भेट गरे, पछि मसँगको कुराकानीमा ती सल्लाहकारले भने, के–के न कुरा रहेछ भनेको त छोरा–छोरीलाई छात्रवृत्ति दिनुपर्यो भन्नलाई पो भेटेका रहेछन् ।’ देशको राजदूतका रूपमा उहाँलाई त्यतिबेला कति असहज महसुस भयो होला भन्ने कुरा सहज अनुमान गर्न सकिन्छ । माधव नेपालको प्रधानमन्त्रीत्वकालमा भएको भारतको औपचारिक भ्रमणका बेला तत्कालीन परराष्ट्रमन्त्री सुजाता कोइरालाले एक्कासि आफू भ्रमणमा नजाने निर्णय गर्नुभो । उहाँको सो निर्णय भारत जानुअघि नै आफूलाई उपप्रधानमन्त्रीसहितको परराष्ट्रमन्त्रीमा नियुक्तिका लागि ‘बार्गेनिङ’ थियो भन्ने कुरा मिडियामा आइरहेको थियो । मुलुकको इज्जतका लागि प्रधानमन्त्रीको भ्रमणमा परराष्ट्रमन्त्रीको सहभागिता राम्रो हुन्थ्यो । तर, उहाँ जानुभएन । भ्रमण सकिएपछि सोही प्रसङ्गमा मिडियाले गरेको प्रश्नमा उहाँको जवाफ रह्यो, ‘पदसँग सम्बन्धित त्यस्तो कुरा केही होइन । म त भारत भ्रमणमा जानका लागि ठिक्क परिसकेकी थिएँ । ब्युटिपार्लरमा गएर कपाल बनाइसकेकी थिएँ, नयाँ सारीहरूमा फल्स पनि लगाइसकेकी थिएँ, तर पछि एक्कासि बिरामी भएँ त्यसैले भ्रमण ‘क्यान्सिल’ गर्नुपर्यो ।’ मुलुकको परराष्ट्रमन्त्रीका रूपमा यसप्रकारको ‘स्टेटमेन्ट’ दुर्भाग्य नै थियो । उहाँले त भ्रमणका लागि आफ्नो तयारीका सन्दर्भमा मुलुकलाई केन्द्रमा राखेर यस्तो–यस्तो तयारी भएको थियो भन्नुपथ्र्यो । जस्तो त्यतिबेला नेपाल–भारत सन्धिको कुरामा माओवादीले अनेक प्रश्नहरू उठाइरहेका थिए, सीमा–सुरक्षाका कुरा थिए, सहयोग विस्तार र द्विपक्षीय सम्झौताका कुराहरू हुनसक्थे । अपराध नियन्त्रण, लगानीलगायतका कुरा थिए । उहाँले त जे–जे विषय थिए तिनका विषयमा फायल उठाइसकेकी थिएँ, त्यहाँका समकक्षीसँग कुराकानीका लागि समय मिलाइसकिएको थियो जस्ता कुरा गर्नुपथ्र्यो न कि ब्युटिपार्लर र सारीको फल्स । यो त सानो उदाहरण मात्र हो, पराराष्ट्र मामिलामा वर्षौंदेखि कुनै न कुनै रूपमा हामी चुकिरहेका छौँ, हामीसँग विज्ञ या ज्ञाता नभएर होइन हेलचेक्र्याइँ र राजनीतिका नाममा आफ्नै स्वार्थ मात्र हेर्ने नेतृत्वका कारण यो सब भएको हो ।
मुलुक कता जाँदै छ, हामी के गरेर बसिरहेका छौँ ? यो मुलुकमा वर्षौंदेखि अनेक खेलहरू भइरहेका छन् र जनता केवल दर्शकका रूपमा रहँदै आएका छन् । राजनीतिक सहभागिता र आफ्नो पार्टीको सरकारका नाममा वर्षौं भयो यताबाट उता, उताबाट यता सरकार बन्ने–बनाउने र ढल्ने–ढलाउने खेलहरू भइरहेका छन् । संविधानसभा र संविधान निर्माणका नाममा यो मुलुकलाई बाह्य सहयोग निकै आयो, सरकारी र गैरसरकारी दुवै तहबाट आएको उक्त सहयोग अन्तत: बालुवामा पानी हालेझैँ भयो । कुनै पनि कुरामा सहयोग गरेपछि सम्बन्धित पक्षले स्वाभाविक रूपमा त्यसमा राम्रो परिणाम चाहन्छ । तर, यहाँ कुनै परिणाम नदेखिएको र अवस्था झन्झन् बिगिँ्रदै गएकाले यस्तो मुलुकमा सहयोग गर्नु बेकार छ भन्दै धेरै मुलुकले सहयोगबाट हात झिकिसके । विभिन्न नाममा अहिलेसम्म जुनप्रकारको सहयोग पाएको छ मुलुकले त्यो पनि यस्तै अवस्था रहेमा लामो समयसम्म टिक्ने देखिँदैन । वास्तवमा हाम्रो मुलुकमा धेरै कुरा छ । हाम्रो देशको जस्तो लोभलाग्दो प्रकृति विश्वमा कमै मुलुकमा छ । सांस्कृतिक रूपले पनि हामी धेरै माथि छौँ । कुनै व्यक्ति खराब हुन सक्छ तर संस्कृति नै खराब भनेर भन्न सक्ने अवस्था कतै छैन । कतिपय मुलुकमा हिउँदभरि घामको मुख नै देखिँदैन । कहीँ कतै आकाश उघ्रिएर घाम लागिहाल्यो भने ‘वाउ…ह्वाट् अ सनी डे…’ भनेर खुसीले उफ्रिन्छन् मानिसहरू । हामीकहाँ त्यस्तो घाम बिहान उज्यालो भएदेखि अस्ताउञ्जेल लाग्छ । खोला, नाला, भीर, पहरा, फाँट, जङ्गल जे पनि छ हामीसँग । ससाना कुरामा खुसी हुने मानिस छन् । कसैकसैको प्रवृत्ति नकारात्कम हुन सक्छ तर अधिकांश मानिस सकारात्मक छन् । सबै मिलेर यसो गरौँ है भन्दा गर्न सकिने ठाउँ अझैसम्म बाँकी छ । नकारात्मक प्रवृत्ति हावी भएको ठाउँमा पनि रजनीतिक दल र राजनीतिकर्मीहरूको ठूलो भूमिका छ ।
विश्वका ठूला दुई शक्तिराष्ट्रहरूबीचको देश भएका कारण पनि नेपालप्रति विश्वको ध्यान आकर्षित छ । अन्तर्राष्ट्रिय जगत्का लागि बर्मामा केही हुनु या नहुनु या भुटानमा केही हुनु या नहुनु र नेपालमा केही हुनु–नहुनुबीच धेरै ठूलो अन्तर छ । नेपालमा केही हुनु–नहुनुले धेरै ठुलो महत्र्व राख्छ । दुई छिमेकी मुलुकको चासो पनि नेपालका लागि होइन उनीहरू एक–अर्काका लागि हो । तर, अहिले पछिल्लो चरणमा मुलुकमा जे–जे भइरहेको छ त्यो नेपाल र नेपालीका लागि दुर्भाग्य नै हो भने पनि हुन्छ । विश्व समुदायमा नेपाल चिन्ने आधारहरू धेरै थिए, जस्तो, प्राकृतिक सुन्दरताले भरिपूर्ण देश, सगरमाथाको देश, गौतम बुद्धको देश… आदि । अझ पहिले त शान्तिपूर्ण मुलुक भनेर पनि चिनिन्थ्यो, १० वर्षे माओवादी द्वन्द्व र त्यसपछिका सानातिना तर डरलाग्दा केही घटनाले अब त्यो पहिचान बाँकी रहेन । द्वन्द्वपछि पनि यहाँ गर्न सकिने धेरै कुरा थिए, मुलुक विकासतर्फ अघि बढ्ने आधारहरू प्रसस्त थिए र छन् । तर, मुलुकलाई सही दिशातर्फ लानुपर्ने नेतृत्वको सत्ता लुछाचुँडीले देशलाई त केही गर्न सकेन नै अन्तर्राष्ट्रिय जगत्मा मुलुकको छवि ससाना कुरामा अल्झिएर मुलुक बर्बाद पार्ने नेताहरू भएको देशका रूपमा परिचित हुन थालेको छ । आज पढ्यो त्यही समाचार, भोलि पढ्यो त्यही, सहमतिको सुगारटाइ सुन्दासुन्दा मानिस वाक्कदिक्क भइसके । केही समयअघि एक युरोपियन मित्रले भनेको कुराले अहिलेसम्म छोइरहेको छ, उनले भनेकी थिइन्, ‘लामो समयदेखि नेताहरू कसले प्रधानमन्त्री पद लिने भनेर एउटै कुरामा अल्झिरहेका छन् । यसअघिका प्रधानमन्त्रीले पद छोड्ने बेलामा पनि यस्तैयस्तै भएको थियो । लामो विवाद सधैँ एउटै कुरा तिमीहरूका नेताहरूलाई कस्तो दिक्क पनि नलागेको ? अनि मलाई अचम्म लागेको कुराचाहिँ के हो भने त्यस्तो के कुरा छ यहाँ जसका कारण हरेक पार्टीका नेता सत्तामै जान चाहन्छन् ? कामै गर्नका लागि त बाहिर बसेर पनि गर्न सकिने धेरै ठाउँ छन् ।’ हुन पनि आफ्नो देश बनाउन नभएर दिनदिनै बर्बादीतिर धकेल्ने नेताहरूको देश भनेर हाम्रो परिचय बनिरहेको छ । जनता, आफू र मुलुकको छविका लागि पनि अब नेतृत्वले सत्ताको लुछाचुँडीबाट अलग रही मुलुकलाई सही निकास दिन सक्नुपर्छ ।
प्रतिक्रिया