– रामप्रसाद खनाल
हल्लै–हल्लाको देशमा !
सल्लै–सल्लाहको देशमा
फुटैफुटको देशमा
लुटैलुटको देशमा
पालैपालो
कहिले उसलाई कहिले यसलाई
कहिले एक्लै कहिले मिलिजुली
खान दिएकै हो !
जे–जे भन्छन् उनीहरू
हामीले ताली पिटेकै हो !
चौबाटोको बीचमा बसेर
लोकतन्त्र गणतन्त्र सङ्घीयता भन्दै
उनीहरूकै नाराको
जोक्करसहित तास फिटेकै हो !
कहिले १६बुँदे भने कहिले १२बुँदे
तीनबुँदे चारबुँदे सातबुँदे नौबुँदे
बुँदैबुँदा भन्दाभन्दै
म बुँदा बिर्सिने भैसकेँ !
लिखित सहमति भद्र सहमति
नौ महिनाका खेल
यताका खेल उताका खेल
वामपन्थी दामपन्थी खामपन्थी काङपन्थी !
कतै फुटेजस्तो कतै जुटेजस्तो !
खेलैखेल खेल्दा
दिन बिते महिना बिते वर्ष बिते !
हजुरबा बिते बा बिते
अब मेरै पालो आउन थाल्यो !
सम्झना छैन मलाई सबै
कति भए बुँदैबुँदाका सहमतिहरू
गर्लान् नि केही भन्दै
थाँती राखो मेरा असहमतिहरू !
३० वर्षदेखि तिर्खाएको घाँटी
मेलम्चीको पानीले भिजाउँला भन्दाभन्दै
भाखा फेरिरहेको मेलम्ची पनि
आज आउँछु भोलि आउँछु भन्दै
मलाई काकाकुल बनाइरहेछ !
अस्ति भर्खर भन्देखिलाई
एउटा ठूला, तर बोली नफुटेका नेतालाई बिदा गरेँ !
अर्का राष्ट्रवादी नेताको स्वागतमा
रातो कार्पेट बिच्छाएँ !
अर्का धूर्तलाई पनि पालो कुराएकै छु क्यारे !
एउटा महान् नेता निस्के
राजनेता निस्के
चमत्कार गर्छु भन्ने चटकेलाई पनि
बिर्साउने नेता निस्के घिर्साउने नेता निस्के
उनका भाषण सुने उखान–टुक्का सुने
हावाबाट निस्किने बिजुली
चुलो–चुलोमा ग्यास पुऱ्याइदिने
आश्वासन सुने
छुकछुके रेल चढेर पानीजहाजमा
नेपालको झन्डा हल्लाउन
समुद्र हानिने विचार गरेँ
मैले सोचिनँ त्यसबेला
समुद्र कहाँ छ र जहाज चलाउने ??
यत्तिकैमा
फेरि नेताले भाषण छोडे
दुई वर्षभित्र रेल चलाउँछु
पानीजहाजमा यात्रु
यताउति गराउँछु
छक्कै पार्छु सबलाई देखाउँछु !
तै फेरि चुलाचुला ग्यास पनि भन्लान् कि भनेको
भुलेछन् क्यारे भाषणमा !
हुन त दिनकै उनका यस्ता भाषण
कति सुनिन्छ कति
छुट भए फेरि थप्ने होलान् !
यत्तिकैमा अर्को समाचार सुनेँ
देख्दा कालाकाला
धेरै राम्रा भनिने नेता मन्त्रीज्यूले
विदेशमा रगत र पसिना बेचेर कमाउने
रेमिट्यान्स जति देश चलाउन
उहाँहरूलाई नै थमाउने
बाध्य, विवश नेपालीहरूलाई
भूपू नेपाली भनेको !
आफू महान् बनेको !
आफूहरू मात्र वर्तमान नेपाली भनेको !
धुलो, धुवाँ, अन्याय, अत्याचार
घुसखोरी, भ्रष्टाचार सबै–सबै
हरक्षेत्रमा अराजकता
अन्यत्र त कुरै छोडौँ
अदालतभित्रै पसिसक्दा पनि !
तर, उखानटुक्का भाषणको बहार छ !
म दास बनेर ताली पिटिरहेकै छु ।
नेता जोगाड गरेको किड्नीमा मस्त छन्
तर, आफ्नै किड्नी भएर के नापियो मेरो !
म बिरामी छु देशजस्तै !
थाहा छैन कुन बेला आर्यघाटले बोलाउँछ !
किनकि
म विषादीयुक्त खाना खान्छु
मिनिरल वाटर भन्दै जहर पिउँछु !
एकदिन होइन
एक महिना होइन वर्र्षैभरि !
ए काल आइज
लैजा मलाई
बँचा नेताजीलाई !
किनकि, राष्ट्रवादी नेता बाँच्नुपर्छ
राजनेता बाँच्नुपर्छ !
म जिउँदै मरेको मान्छे
अब साँच्चै मर्न चाहन्छु
आइज काल मलाई लैजा
अरूले नलैजा भन्छन्
म लैजा भन्छु !
काल तिनछक परिस् होला होइन ??
आइज एक दिन जनतो भएर त बाँच
अनि बल्ल थाहा पाउलास् !
मैले किन बोलाएको रहेछु भनेर !!
प्रतिक्रिया