अनुपाको शरीरमा भएको गोली बी एण्ड सी अस्पतालले निःशुल्क निकाली दिने

अनुपाको शरीरमा भएको गोली बी एण्ड सी अस्पतालले निःशुल्क निकाली दिने


सशस्त्र युद्धका क्रममा शरीरमा लागेको गोली अहिलेसम्म बोकेर हिँडेकी पूर्व छापामारले उपचारका लागि सहयोगको माग गरेको समाचार राससबाट प्रकाशन भएपछि उहाँको निःशुल्क उपचार हुने भएको छ ।

झापाको विर्तामोडमा रहेको बी एण्ड सी अस्पतालले ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका–१, कुइभीरमा जन्मिएकी अनुपा राईको शरीरमा १५ वर्ष अघि लागेको गोलीको निःशुल्क उपचार हुनेभएको हो ।

उनको शरीरमा लागेको गोली निकाल्न जति खर्च लागे पनि अस्पतालले निःशुल्क उपचार गरिदिने अस्पतालका जनसम्पर्क अधिकारी प्रोमिश गिरीले बताए ।

युद्धकालमै पाँचथर हिलिहाङ गाउँपालिका–७, सुभाङका तत्कालीन छापामार मनकुमार राईसँग पार्टीभित्रै विवाह गरेकी अनुपा अहिले पाँचथर सुभाङमै बस्छिन् । उनका श्रीमान् चार वर्ष यता मलेसियामा वेल्डिङको काम गर्दै आएका छन् ।

अनुपालाई २४ वैशाख २०५९ मा संखुवासभाको चैनपुर युद्धमा गोली लागेको थियो । उनको टाउको र देब्रे छातीमा छर्रा छ जसले अहिले धेरै पीडा दिन थालेको छ । ‘यसैको कारणले होला खुट्टा निदाउँछ, चलाउँनै गाह्रो हुन्छ’ फिदिममा पत्रकारसँग कुराकानी गर्दै अनुपाले भनिन् ।

विसं २०५७ मा ओखलढुंगाको कुइभीर माविमा नौ कक्षामा पढ्दापढ्दै युद्धमा होमिनु भएको थियो अनुपा, जतिबेला उनि १५ वर्षकी थिइन् । ‘स्कुलमा भएको एक कार्यक्रममा गरीब, दुःखीको मुक्ति हुन्छ भन्ने नेताहरुको भाषणबाट प्रभावित भएर एकैपल्ट १५ जना युद्धमा लागेका थियौँ’ उनले भनिन्, ‘२०६३ सालमा छोरा जन्मेपछि पार्टीको सैन्य फाँट छोडँे, र आफ्नो छापामार जीवनकालमा पाँचवटा युद्ध लडेँ ।’

विसं २०५८ मंसिर १० मा सोलुखुम्बु, २२ माघ २०५८ मा काभ्रेको भकुण्डेबेँसी आक्रमणमा अनुपाले वीरतापूर्वक लडिन् । २४ वैशाख २०५९ मा संखुवासभाको चैनपुर आक्रमणमा गम्भीर घाइते भइन् । तर पनि युद्धबाट फर्किने मन बनाइनन् अनुपाले, घाइते भएपछि पनि २२ भदौ २०५९ मा सिन्धुलीको भिमान र १० कात्तिक २०५९ मा ओखलढुंगाको रुम्जाटार आक्रमण उनले लडेको अन्तिम युद्ध हो ।

‘रणसंग्रामबाट नयाँ जीवन पाएर फर्केकी थिएँ’ आफू घाइते भएको चैनपुर आक्रमणलाई स्मरण गर्दै अनुपाले भनिन्, ‘साथीहरुले म मरेको रिपोर्ट कमान्डरकहाँ पु¥याएछन् त्यसपछि पार्टीले मलाई शहीद घोषणा गरेछ ।’ गोली लागेर बेहोस भएकी उनि छ दिन जंगलमै बसेर पार्टीको सम्पर्कमा पुगेका थिए ।

उनि शहीद भएको खबर घरसम्म पनि पुग्यो । तर काजकिरिया चाँही गरिएनछ घरमा । माओवादी शान्ति प्रक्रियामा आएपछि अनुपा उपचारका लागि काठमाडौँको लाइफ केयर अस्पतालसम्म पगिन् । तर छर्रा निकाल्न सकिएन । द्वन्द्वपीडितलाई पैसा दिन्छन् अरे भन्ने सुनेर फिदिमस्थित पार्टी कार्यालय आएर फारम पनि भरिन् । तर अहिलेसम्म कहीँकतैबाट पनि क्षतिपूर्ति नपाएको उनले बताइन् ।

अहिले टाउको र छातीमा रहेको छर्राका कारण दिनदिनै आफूलाई गाह्रो हुँदै गएको अनुपा बताउँछिन् ।

पार्टीले आफ्नो उपचार गरिदिन्छ भन्नेमा उनि अझै आशावादी छिन् । ‘हाम्रै कारणले मुलुकमा यतिसम्म परिवर्तन भयो, फेरि पनि पार्टी सत्तामा पुगेको छ, म र म जस्ता अन्य युद्धमा पीडित भएकालाई पार्टीले हेर्नुपर्छ’ अनुपाले पत्रकारसँग भनिन्, ‘मेरो कुरा तपाईहरु मार्फत् पार्टीका ठूला नेतासम्म पुग्छ भन्ने विश्वास छ ।’

नेकपा (माओवादी केन्द्र) का हिलिहाङ गाउँपालिका इन्चार्ज रबीन तिम्सिनाले भने शुरुमा पार्टीले द्वन्द्वपीडितको विवरण संकलन गर्ने क्रममा अनुपाको नाम छुटेकाले राज्य पक्षबाट कुनै किसिमको सहयोग जुटाउन नसकिएको बताइन् । तर अनुपाको उपचार जसरी पनि हुनुपर्छ भनेर लागिरहेको उनको भनाई छ । अनुपाका १२ वर्षीय छोरा अहिले फिदिमस्थित नयाँ नमुना माविमा कक्षा–७ मा पढ्दैछन् भने उनि सुभाङमै सासुआमासँग बस्दै आएकी छिन् ।